भृकुटीमण्डपमा उड तथा फर्निचर प्रदर्शनी सुरु

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

११औँ नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी– २०८२ भृकुटीमण्डपमा सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो।

आयोजकका अनुसार ६ पुससम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल राखिएका छन्। फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, लेमिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले सम्बन्धित क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनेछन्।

प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चापदार्थ तथा उत्पादन राखिएको छ।

नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल प्रदर्शनीका सहयोगी संस्था हुन्।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने बताइएको छ। घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ।

प्रदर्शनी नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउने माध्यम बनाउने बताइएको छ।

सुझावित समाचार