उपत्यकाबाहिरका सरकारी अस्पतालमा नहुने क्यान्सरको ल्याब परीक्षण अब टेकु प्रयोगशालामा

सम्बन्धित अस्पतालबाटै नमुना झिकाइन्छ, बिरामी धाउनुपर्दैन काठमाडौं

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण
उपत्यकाबाहिरका सरकारी अस्पतालमा नहुने क्यान्सरको ल्याब परीक्षण अब टेकु प्रयोगशालामा

सुर्खेत अस्पतालसँग बिहीबार ल्याब परीक्षण सम्झौता गर्दै जनस्वास्थ्य प्रयोगशालाको टोली

उपत्यकाबाहिरका प्रादेशिक, जिल्लालगायत अस्पतालमा हुन नसक्ने ल्याब परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गर्न थालिएको छ । यसका लागि बिरामी काठमाडौं धाउनुपर्दैन, सम्बन्धित अस्पतालबाटै नमुना झिकाएर परीक्षण गरिन्छ । प्रयोगशालाले देशैभरका अस्पतालसँग सम्झौता गरी क्यान्सर र संक्रामक रोगहरूको ल्याब परीक्षण सेवा दिन थालेको हो ।

प्रयोगशालाले नमुना झिकाएर परीक्षण गरेपछि सम्बन्धित अस्पतालमा भने अनलाइनमार्फत रिपोर्ट पठाइदिन्छ । पाँच महिनायता प्रयोगशालाले अस्पतालहरूसँग यस्तो सम्झौता सुरु गर्दै ल्याब परीक्षण गर्दै आएको छ । अहिलेसम्म १४ अस्पतालसँग सम्झौता भएकामा ती अस्पतालबाट पठाइएका तीन सय नमुना परीक्षण गरेर पठाइसकेको जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।

‘उपत्यकाबाहिरका अस्पतालहरूबाट नमुना झिकाउनका लागि प्रयोगशालाले डेडिकेटेड टिम परिचालन गरेको छ । जतिसक्दो छिटो नमुना संकलन गर्ने र रिपोर्ट निकाल्ने संयन्त्र नै तयार पारिएको छ,’ उनले भने, ‘तत्कालका लागि क्यान्सर र संक्रामक रोगसम्बन्धी विशिष्टीकृत नमुना परीक्षण गर्ने सम्झौता गरिएको छ । नमुना आएको तीन दिनभित्र रिपोर्ट पठाइन्छ ।’

बिहीबार मात्रै सुर्खेत अस्पतालसँग प्रयोगशालाले सम्झौता गरेको छ । सम्झौताअनुसार बिरामीको माग वा आवश्यकताअनुसारको परीक्षण नमुना अस्पतालले पठाउने र त्यसको परीक्षण गरी रिपोर्ट प्रयोगशालाले पठाउनेछ । ‘कतिपय ल्याबहरू काठमाडौंका केही अस्पताल र टेकुको जनस्वास्थ्य प्रयोगशालामा मात्रै छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘जिल्ला अस्पताल र प्रादेशिक स्तरमा भएका अस्पतालहरूसँग समन्वय गरेर सरकारी शुल्कमै बिरामीको ल्याब परीक्षण गरेर रिपोर्ट पठाउने सम्झौताले बिरामीलाई निकै सहज हुनेछ ।’ सरकारी अस्पतालमा सबै प्रकारका ल्याब परीक्षण नहुँदा बिरामी निजी ल्याबमा महँगो शुल्क तिर्न बाध्य छन् । सुवेदीका अनुसार हाल प्रयोगशालाले गर्न लागेका संक्रामक र क्यान्सर रोगसँग सम्बन्धित परीक्षणमा दुई हजारदेखि ५० हजारसम्म रकम लाग्छ । तर, यही परीक्षणमा लागि निजीमा पाँच हजारदेखि एक लाखसम्म पर्छ । 

हालसम्म भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल, सुशील कोइराला क्यान्सर प्रखर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर क्यान्सर अस्पताल, कारागार अस्पताललगायत १४ अस्पतालसम्म सम्झौता भएको छ । उपत्यकाभित्र रहेका कतिपय अस्पतालमै यस्तो ल्याब टेस्ट नभएकाले ती अस्पतालसँग पनि प्रयोगशालाले समन्वय गरेको छ । उपत्यकाभित्रका भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल र निजामती अस्पतालसँग यस्तो सम्झौता भएको छ ।

यी परीक्षणहरूको सरकारी मूल्यमै रिपोर्ट तयार
प्रयोगशालाले उपत्यकाबाहिरका अस्पतालबाट आएका नमुनाको मुख्यत: क्यान्सर स्पेसिफिक टेस्टअन्तर्गत बिआरसिए वान र बिआरसिए टु तथा संक्रामकअन्तर्गत हिस्टोप्याथोलोजिकल र मलिकुर टेस्ट गर्छ । ब्रेस्ट क्यान्सर, पाठेघरको मुखको क्यान्सर परीक्षण ल्याब उपत्यकाबाहिरका अधिकांश अस्पतालमा छैन । जसकारण अधिकांश बिरामी चर्को मूल्य तिरेर निजीमा परीक्षण गराउन बाध्य छन् ।

नमुना आएको तीन दिनभित्र रिपोर्ट पठाउँछौँ : सन्तोष सुवेदी सूचना अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
उपत्यकाबाहिरका अस्पतालहरूबाट नमुना झिकाउनका लागि प्रयोगशालाले डेडिकेटेड टिम परिचालन गरेको छ । जतिसक्दो छिटो नमुना संकलन गर्ने र रिपोर्ट निकाल्ने संयन्त्र नै तयार पारिएको छ । तत्कालका लागि क्यान्सर र संक्रामक रोगसम्बन्धी विशिष्टीकृत नमुना परीक्षण गर्ने सम्झौता गरिएको छ । नमुना आएको तीन दिनभित्र रिपोर्ट पठाइन्छ । कतिपय ल्याबहरू काठमाडौंका केही अस्पताल र टेकुको जनस्वास्थ्य प्रयोगशालामा मात्रै छ । जिल्ला अस्पताल र प्रादेशिक स्तरमा भएका अस्पतालहरूसँग समन्वय गरेर सरकारी शुल्कमै बिरामीको ल्याब परीक्षण गरेर रिपोर्ट पठाउने सम्झौताले बिरामीलाई निकै सहज हुनेछ ।

सुझावित समाचार