३७ दिनअघि नेपाल सरकार र मेलम्ची खानेपानी प्रभावित स्थानीय विभिन्न समितिबिच भएको सहमति कार्यान्वयन नहुँदा आन्दोलनको भय सिर्जना भएको पाइएको छ। ०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको १०बुँदे सहमति कार्यान्वयन नभएपछि हेलम्बु र मेलम्चीका स्थानीयले गत कात्तिकमा मेलम्ची खानेपानीको अम्बाथाङस्थित मुहान बन्द गरेका थिए ।
राजधानीवासीले दैनिक उपभोग गर्ने मेलम्चीकाे पानी बन्द भएपछि ०८२ कात्तिक २५ गते सरकार र प्रभावितबिच १५ बुँदे सहमति भएको थियो । सहमतिअनुसार माग पूरा गर्न १५ दिन, एक महिना, ४५ दिन र तीन महिनाको समयसीमा निर्धारण गरिएको थियो । १५ मध्ये तीन बुँदा स्थानीय संघर्ष समितिले पूरा गर्नुपर्ने थिए । जुन उतिवेला नै पूरा भइसकेका छन् ।
सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको रोहवरमा तत्कालीन खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य , मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास, विभिन्न मन्त्रालयका उच्च अधिकारी र प्रभावित क्षेत्रका स्थानीय समिति प्रमुखबिच सहमतिमा हस्ताक्षर भएको थियो । जेन–जी आन्दोलनपछि गठित नयाँ सरकार आफ्नो प्रतिबद्धतामा चुकेको छ । हालसम्म कुनै पनि सहमति कार्यान्वयनमा आएको छैन ।
१५ दिनभित्र पूरा गर्ने दुईवटा बुँदा थिए ती कुनै पनि कार्यान्वयन भएन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ र मुहानस्थल निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, रड र काठजस्ता सामग्री आपूर्ति गर्ने ११ वटा भेन्डर्सले पाउनुपर्ने रकम ११ करोड ६६ लाख ५५ हजार हालसम्म भुक्तानी भएको छैन । भेन्डर्स संघर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठ भन्छन्, ‘सरकारसँग सहमति भएपछि पनि प्रधानमन्त्रीको कार्यालय, खानेपानी मन्त्रालय र आयोजनामा पटक–पटक गएँ । तर, बक्यौता भुक्तानी गर्ने छाँट देखिएन । अनि निराश भएर फर्किएँ ।’ जुन रकम निकासा गर्न ०८१ जेठ ३ गते नै नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको थियो । पहिलाको सरकारले जसरी भुलाएको थियो, जेन–जी सरकारले पनि त्यसैगरी झुलाएको उनले प्रस्ट्याए ।
त्यसैगरी, १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमतिअनुसार जग्गा भाडावाला सातजना कसैले पनि रकम पाएनन् । इटालियन कम्पनी सिएमसीले ठेक्का लिएको वेलादेखि प्रयोग हुँदै आएको १३ रोपनी जग्गा र पाँचवटा घरको भाडा भुक्तानी भएन । जग्गावाला रामचन्द्र श्रेष्ठलगायत सातजनाले दुई करोड ४० लाख भाडाबापतको रकम भुक्तानी पाउनुपर्ने सहमति थियो ।
मेलम्ची, थांपालधाप, थांपालकोट, भोतांग, यांग्री सडक र फटे, दाउचेत, केउरिनी बाँसखर्क, बरुवा, बोत्गांग यांग्री सडकमा ठेक्का सम्झौता भएको २५ करोड रकमान्तर गर्ने र एक महिनाभित्र एक अर्ब रकमको स्रोत सुनिश्चित गरी ठेक्का सम्झौता गर्ने सहमति पनि पालना भएन । ‘महिना दिन बित्यो, यस सन्दर्भमा कुनै पत्र वा जवाफ आएको छैन,’ सहमति हुँदा साक्षी रहेका स्थानीय विष्णु खड्काले भने, ‘कुनै पनि बुँदा कार्यान्वयन नहुँदा हामी दुःखी छौँ ।’ अब पुनः आन्दोलनको विकल्प नरहेको उनले चेतावनी दिए ।
स्थानीय निकायले पाउने परिपूरण (लेबी) निर्धारणबारे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी मस्यौदा तयार गर्ने र ४५ दिनभित्र सरकारको मन्त्रिपरिषदमा पेस गर्ने सहमतिउपर हालसम्म कुनै काम अगाडि बढेको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रभावित स्थानीय तह हेलम्बु, मेलम्ची र पाँचपोखरी थांपालका पीडित तीन प्रतिनिधिले ०७८ असार १, साउन १६ र १७ गते आएको मेलम्ची बाढीले प्रभावित र क्षतिग्रस्त सबै विषयको अध्ययन तथा संकलन गरी सोको विवरण गृह मन्त्रालयमा पठाउने र क्षतिपूर्तिको सिफारिस गर्नेबारे पनि काम सुरु भएको छैन ।
मेलम्ची बाढीले पुर्याएको समग्र क्षतिको विवरण प्रशासनमा नरहेको जनाउँदै सोबारे तीनै स्थानीय सरकारसँग कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । ‘मानवीय र घर क्षतिबारे विवरण रहेछ । तर, समग्र क्षतिको डाटा नभएकाले प्रारम्भिक काम सुरुवात गरेका छौँ,’ उनले भने, ‘गृह मन्त्रालयको परिपत्रअनुसारको डाटा संकलन कार्य सुरु भएको छ ।’ तर, हालसम्म बाँस्तोला फिल्डमा गएका छैनन् ।
त्यसैगरी, सहमतिअनुसार स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिका लागि विनियोजित चार करोड र थप निकासा गर्नुपर्ने १९ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा अनुरोध गर्ने बुँदाबारे केही जानकारी आएको छैन । आयोजना प्रभावित र बाढीपीडित स्थानीय मृतक परिवारलाई केयुकेएल र मेलम्ची खानेपानी विकास समितिमा रोजगारीको व्यवस्था गर्ने सहमति कार्यान्वयनमा आएको छैन । विगतदेखि नै सरकारले स्थानीयसँग यसैगरी सहमति गर्ने र कार्यान्वयन नगर्ने गरेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा पुग्छ । सहमति पूरा नगर्ने सरकारको प्रवृत्तिले मेलम्ची क्षेत्रका स्थानीय निराश बनेका छन् ।