एमालेको एघारौँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सकियाे

महाधिवशेनमा दुई हजार २६३ जना प्रतिनिधि मतदाता रहेकोमा २ हजार २२७ मत खस्याे

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । महाधिवेशनमा दुई हजार २६३ जना प्रतिनिधि मतदाता रहेकोमा दुई हजार २२७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदाता अनुपस्थित भए । मतपरिणाम आजै सार्वजनिक हुनेछ ।

बुधबार बिहान ९:१२ बाट सुरु भएको मतदान बिहीबार बिहानसम्म जारी रह्यो । नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिङ प्रयोग गरिए पनि मतदानमा अनपेक्षित रूपमा ढिलाइ भयाे । 

मतदानका लागि ८० मेसिङ प्रयाेगमा थिए । भृकुटीमण्डपमा बुधबार दिनभर र रातभर भएको मतदानमा प्रतिनिधिले सास्ती व्यहोरेका छन् । बुधबार राति १० बजेभित्रै मतदान सकेर परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका थियो । तर, त्याे हुन सकेन ।

अध्यक्षका प्रतिस्पर्धी केपी ओली र ईश्वर पोखरेलले एक घण्टा चार मिनेट लगाएर मतदान गरेका थिए । त्यसपछि बुधबार दिनभर र रातभरको मतदानमा प्रतिनिधिहरू कम्तीमा पाँचदेखि ६ घण्टासम्म लाइनमा बसेर मतदान गरे ।

मतदान ढिलाइमा धेरै उम्मेदवार र सकेसम्म केन्द्रीय सदस्यमा पनि तोकिएकै व्यक्तिलाई मत जाओस् भनेर समय लिनुलाई कारण मानिएको छ । ६ सयभन्दा बढी उम्मेदवारबाट पदाधिकारी, केन्द्रीय सदस्य र दुई आयोगका सदस्यसहित ३५१ जनासम्म निर्वाचित गर्नुपर्ने भएका कारण पनि व्यक्ति छनोटमै समय लाग्ने गरेको लाइनमा रहेका प्रतिनिधिको अनुभव छ ।

अध्यक्षमा केपी ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । ओली टिमबाट शंकर पोखरेल र पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गरिरहेका छन् ।

अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५–२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा निर्वाचन भएको छ । दुई आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव भने सर्वसम्मत निर्वाचित भइसकेका छन् । 

को–को भए निर्विरोध निर्वाचित ?
एमाले ११औँ महाधिवेशनबाट ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्वाचित भएका छन् । मधेशी क्लस्टरको युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भए । समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्दिकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सीता लामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, पिछडिएको क्षेत्र महिलातर्फ बदमीक्वारी बुढा, प्रवास (दक्षिण एसिया)तर्फ हरिप्रसाद घिमिरे, ४० वर्षमुनिको केन्द्रीय सदस्य युवातर्फ नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

सुझावित समाचार