हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी चढेको हो। रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसाकारसहितका निवेदकहरूले दायर गरेको रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा पेसी तोकिएको छ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा हुनेछ ।
नेतृ कंसाकारलगायतका निवेदकहरूले हेटौँडा बजार क्षेत्रको सडकसीमा २५–२५ मिटर (हाल २५–२५ गज) कायम गरी सोभित्रका संरचना हटाउने कार्यले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको भन्दै गत मंसिर १६ गते रिट दर्ता गरेका थिए। यसअघि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नभत्काउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । साथै, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेशसमेत भएको थियो ।
त्यसैगरी, मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश दिँदै आज (पुस २) का लागि पेसी तोकेको थियो। उक्त मुद्दामा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सडकसीमा कायम गर्न १५ दिने सूचना जारी गरेको थियो । त्यसपछि मंसिर २० गते प्रशासनबाट प्रहरी परिचालन गरी करिब सात किलोमिटर क्षेत्रमा पाँच सयभन्दा बढी घर संरचना जेसिबी प्रयोग गरी भत्काइएको थियो ।