महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा क्रियाशील सदस्यताको विषयमा फेरि विवाद भएको छ । क्रमसंख्या नभएका क्रियाशील सदस्यता फाराम वितरण भएपछि विवाद भएको हो । विवादपछि कांग्रेसको क्रियाशील सदस्यताका लागि वितरण भएका क्रमसंख्या नभएका सबै फाराम रद्द भएका छन् । क्रमसंख्या नराखी जिल्ला–जिल्लामा पठाइएका चार लाख फाराम रद्द भएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयले जेन–जी आन्दोलनअघि २५ प्रतिशत नयाँ क्रियाशील फाराम जिल्लामा पठाएको थियो । गत केन्द्रीय समिति बैठकपछि ७५ प्रतिशत फाराम पठाइएको थियो । फाराम सिधै क्षेत्रीय कार्यसमितिमा पठाइएका थिए । केन्द्रले ६ लाख फाराम पठाइएकोमा चार लाख फाराममा क्रमसंख्या थिएन । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या नराखी जिल्ला–जिल्लामा पठाइएका फाराम रद्द गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए । क्रियाशील सदस्यता फाराममा क्रमसंख्या नभएको भन्दै विरोध भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार समितिको बैठक बसेर नयाँ फाराम पठाउने निर्णय गरेको हो ।
क्रमसंख्या नभएका पुराना फाइल रद्द गरेर नयाँ फाराम छपाइका लागि प्रेसमा पठाइसकिएको छ । अब २४ घण्टाभित्र क्रमसंख्या भएका फाराम जिल्ला–जिल्लामा पठाइने स्नेहीले बताए । ‘जेन–जी आन्दोलनभन्दा पहिला २५ प्रतिशत फाराम पठाएका थियौँ । त्यसको काम गर्दै गर्ने, केन्द्रबाट पछिल्लो समय पठाइएका सबै फाइल रद्द हुने भए । २४ घण्टाभित्र जिल्ला–जिल्लामा फाराम उपलब्ध गराउने निर्णय भएको छ । फाराम प्रेसमा पठाइसकेका छौँ,’ उनले भने ।
महामन्त्री गगन थापा नेतृत्वको व्यवस्थापन समितिमा क्रमसंख्या नभएका क्रियाशील सदस्यताका फाराम फिर्ता लिने कि त्यसैलाई कायम गर्ने भन्ने विषयमा विवाद भएको थियो । महामन्त्री थापा र सदस्य स्नेही त्यही फाराम भर्न लगाउने पक्षमा थिए । तर, समितिका सदस्यहरू संस्थापन पक्षका योगेन्द्र चौधरी र सीता गुरुङले ती फाइल फिर्ता गरेर क्रमसंख्यासहितको नयाँ फाराम पठाउनुपर्ने अडान लिएका थिए । थापाले भेरिफाई गर्ने क्रममा क्रमसंख्या मिल्ने भन्दै त्यसैलाई मान्यता दिएर जान आग्रह गरेका थिए । ‘भेरिफाई गर्ने वेला क्रमसंख्या भइहाल्छ । अहिले त्यसैमा जाऔँ,’ थापाको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । तर, चौधरी र गुरुङले अडान नछाडेपछि क्रमसंख्या नभएका फाराम रद्द गर्न थापा लचिलो बनेका हुन् । संयोजक थापाले सोमबारको बैठकमा शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार टुंग्याउने बताएका थिए ।
नवीकरण अपडेट गर्ने समय थप
क्रियाशील सदस्यता नवीकरणको विवरण अपडेट गर्ने समय थप भएको छ । व्यवस्थापन समितिले अपडेटको क्रममा रहेका जिल्लालाई पूरै विवरण अपडेट गर्न समय दिने निर्णय गरेको हो । ‘नवीकरणको विवरण अपडेट हुँदै छ । पैसा बुझाइसके, संगठनको खातामा आइसक्यो, त्यस्ताको अपडेट गर्न समय दिइएको छ,’ स्नेहीले भने । व्यवस्थापन समितिले अस्ट्रेलिया, क्यानडा र बेलायतमा क्रियाशील सदस्यता सहज ढंगले वितरण नभएको निष्कर्ष निकाल्दै ५ पुससम्म सदस्यता खुला राख्न निर्देशन दिएको छ । ती देशमा अनलाइन फाराम सबैका लागि खुला गर्ने निर्णय समितिले गरेको छ । समितिले खम्मबहादुर खाती नेतृत्वको निर्वाचन समितिसँग पनि छलफल मंगलबार नै छलफल गरेको छ । ‘निर्वाचन समितिका गाह्रा–अप्ठेरा, समयको पदचाप, निर्वाचन प्रतिनिधि खटाउनुपर्ने विषय, कार्यालय व्यवस्थापन, निर्देशिकालगायत विषयमा छलफल भयो,’ स्नेहीले भने । कांग्रेसको महाधिवेशन आगामी २६ देखि २८ पुसमा काठमाडौंमा हुँदै छ । त्यसअघि क्रियाशील सदस्यता टुंग्याएर १६ पुसमा वडा अधिवेशन गर्ने कार्यतालिका छ ।
राष्ट्रपतिका राजनीतिक विज्ञ थापाले दिए राजीनामा
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापा पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा फर्केका छन् । कांग्रेसका पूर्वसहमहामन्त्री थापा गत निर्वाचनमा धनकुटाबाट पराजित भएपछि १४ चैत ०७९ मा राष्ट्रपतिको राजनीतिक विज्ञ नियुक्त भएका थिए । ‘मैले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । म पार्टीको सक्रिय राजनीतिमा फर्केको छु,’ थापाले नयाँ पत्रिकासँग भने । उनले पदबाट राजीनामा दिएको मंगलबारै सार्वजनिक गरेका थिए । उनी राष्ट्रपति कार्यालयबाट बिदावारीसमेत भइसकेका छन् ।
थापा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । उनले राजीनामापत्रमा हालको राजनीतिक परिस्थितिमा आउँदै गरेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन तथा कांग्रेसको महाधिवेशनलाई समेत ध्यानमा राखेर पद छाडेको उल्लेख गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा राष्ट्रपति पौडेलले थापालाई राजनीतिक विज्ञ नियुक्त गरेका थिए ।
क्रियाशील सदस्यता वितरणमा देउवासँग शेखरको आपत्ति
क्रमसंख्याविनाका क्रियाशील सदस्यता फारामले समस्या निम्त्याउने भन्दै नेता शेखर कोइरालाले मंगलबार नै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । नेता मीनेन्द्र रिजालसहित देउवानिवास महाराजगन्ज पुगेर कोइरालाले क्रमसंख्याविनाका फाराम फिर्ता लिन र नयाँ फारम पठाउन माग गरेका थिए । क्रमसंख्याविनाका फारामले जटिल समस्या निम्त्याउने कोइरालाको चेतावनी थियो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले क्रमसंख्याविनाका फाराम फिर्ता गरी नयाँ पठाउन सभापतिलाई आग्रह गरिएको बताए । क्रमसंख्याविनाका फारामका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने कोइरालाको चेतावनी थियो । देउवाले समस्या नआउने गरी अघि बढ्नुपर्ने बताएका थिए । ‘साथीहरूसँग कुरा गरेर मिलाउनुपर्छ । भोलि समस्या नआओस्, म कुरा गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।