नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
  • सन् २०२० मा थाइल्यान्डलाई टी–२० विश्वकपमा छनोट गराएका जयन्त पाठकले अब महिला टोली हेर्नेछन्

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलोपटक विदेशी मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार भारतीय मूलका जयन्त पाठकलाई मुख्य टोलीका रूपमा नियुक्त गरेको हो । क्यानका अनुसार पाठक अनुभवी प्रशिक्षक हुन् । उनले थाइल्यान्डलार्ई पहिलोपटक आइसिसी टी–२० विश्वकपमा छनोट गराएका थिए । यसअघि क्यानले पहिलोपटक महिला टोलीको मुख्य प्रशिक्षक बन्न कम्तीमा इसिबी वा सिए लेभल ३ वा सोसरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको आवेदन खुला गरेको थियो । 

मुख्य प्रशिक्षक बन्न ७० जनाले आवेदन दिएको क्यान प्रवक्ता छुम्बी लामाले बताएका छन् । क्यानमा आएका निवेदनमध्ये पाठक सबैभन्दा अनुभवी पाठकलाई महिला टोलीका मुख्य प्रशिक्षकमा चयन गरिएको उनले बताएका छन् । पाठकले सात वर्ष निरन्तर थाइल्यान्डको मुख्य प्रशिक्षकका रूपमा गरेका थिए । पाठकले सन् २०१८ मा थाइल्यान्डका प्रशिक्षक नियुक्त भएका थिए । सात वर्षको अवधिमा उनले थाइल्यान्डलाई एसियन र ग्लोबल छनोट पार गराउँदै सन् २०२० को आइसिसी महिला टी–२० विश्वकपमा पहिलोपटक स्थान सुरक्षित गराएका थिए । यसै सिजनमा उनले थाइल्यान्डको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका हुन् । 

खेलाडीभन्दा प्रशिक्षणमा अब्बल
नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका पाठकले खेलाडी करिअरमा खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन् । जुनियर लेभलको एक प्रतियोगिता दौरान उनको आँखामा चोट लागेको थियो । त्यसपछि पाठकले प्रशिक्षण सुरु गरेका हुन् । पुनेबाट व्यावसायिक क्रिकेट खेलेका उनले सोही टोलीलाई प्रशिक्षण दिए । पुनेको काडेन्स क्रिकेट एकेडेमीका सहायक प्रशिक्षकका रूपमा काम गरेका पाठकले बिसिसिआई लेभल २ पास गरेका थिए । सन् २०१४ मा उनकै सहायक प्रशिक्षणमा महाराष्ट्रको सिनियर पुरुष टोलीले भारतको चर्चित घरेलु लिग रणजी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो । सोही वर्ष महाराष्ट्र रणजी ट्रफीको फाइनलमा पुग्यो । 

सन् २०१५–१७ सम्म उनले भारतीय महिला क्रिकेटर हर्मनप्रित कौरका निजी ब्याटिङ प्रशिक्षकमा रूपमा काम गरेका थिए । सन् २०१८ मा उनले पहिलोपटक थाइल्यान्डको राष्ट्रिय महिला टोलीको मुख्य जिम्मेवारी सम्हाल्ने अवसर पाए । 

पहिलोपटक विदेशी प्रशिक्षक 
घरेलु प्रशिक्षकहरूमा जगत टमाटा, सामसंगजङ थापा र विनोद दासले नेपाली महिला टोलीका मु्ख्यप्रशिक्षकका रूपमा काम गरिसकेका छन् । क्यानले कन्स्ल्ट्यान्ट प्रशिक्षकसँगै ब्याटिङ प्रशिक्षकका रूपमा भारतीय प्रशिक्षकलाई जिम्मेवारी दिँदै आएको छ । तर, क्यानले पहिलोपटक टोलीलाई प्रशिक्षण दिलाउन विदेशी प्रशिक्षक नियुक्त गरेको हो । क्यानले आइसिसी र एसिसीको मापदण्डअनुसारै आवेदन खुलाएको प्रवक्ता छुम्बीले बताएका छन् । ‘हामीले आधिकारिक रूपमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गर्ने भनेर आवेदन खुलाएका हौँ,’ लामाले भने, ‘पाठक अनुभवी प्रशिक्षक हुन् । उनको आगमनले महिला क्रिकेट राम्रो हुने विश्वास छ ।’ 

आगामी १२ जनवरीदेखि ग्लोबल छनोट
नेपालले आगामी वर्षको १२ जनवरी देखि १ फेब्रुअरीसम्म आइसिसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्दै छ । क्यानले ग्लोबल छनोटका लागि प्रारम्भिक रूपमा २६ सदस्यीय महिला टोली घोषणा गरिसकेको छ । विश्व छनोटमा १० राष्ट्रले भाग लिनेछन् । 

जसमध्ये शीर्ष चार राष्ट्रले सन् २०२६ को जुनमा इंग्ल्यान्डमा हुने विश्वकप खेल्नेछन् । नेपाल ग्लोबल छनोटको समूह ‘बी’मा छ । यस समूहमा बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स र पपुवा न्युगिनी छन् । समूह ‘ए’मा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाबे छन्  । 

See More On

सुझावित समाचार