मंगलबार : १० बजेसम्मका १० मुख्य खबर

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेबाट
एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान भोलि बिहान ८ बजेबाट सुरु हुने भएको छ । यसअघि पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेका लागि मतदान समय तोकेको थियो । 

पोखरा विमानस्थलका प्रमुखसँग साढे दुई करोड अकुत सम्पत्ति 
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

प्रहरीमा आजदेखि सुरु भयो नयाँ कार्यसम्पादन प्रणालीको कार्यान्वयन 
नेपाल प्रहरीमा आजदेखि नयाँ कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सुरु भएको छ । प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउने उदेश्यले प्रहरी प्रधान कार्यालयले देशैभरीका प्रहरी कार्यालयको नयाँ मूल्याङकन प्रणालीको सुरुवात गरेको हो । 

सशस्त्र प्रहरीका तीन एआइजीको जिम्मेवारी हेरफेर 
सशस्त्र प्रहरी बलका तीनैजना एआइजीको जिम्मेवारी हेरफेर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो ।

बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना, तीनको मृत्यु, १९ जना घाइते
मकवानपुरको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बकैया गाउँपालिका वडा नम्बर ७ अधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन् ।

श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ 
श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो। बिष्फोटक पदार्थसम्बन्धि कसुरमा फरार देखिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पाँचथरमा पठाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

डिपिआर बनेको १० वर्षसम्म अलपत्र छ पोखरा क्रिकेट मैदान
पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमसहित पूर्वाधार बनाउन ०७२ मा डिपिआर बनेको थियो। राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको १० वर्ष पुग्दा पनि कुनै काम भएको छैन । यहाँ २० हजार दर्शक क्षमताको स्टेडियम निर्माणका लागि एक अर्ब ६८ करोडको लागत अनुमान गरिएको थियो । हाल मैदानमा दुईवटा पिच छन् । सामान्य पूर्वाधारको शौचालयसमेत छैन ।

नेप्से १८ अंकले बढ्दा कारोबार रकम सवा तीन अर्बमा सीमित
पुस महिनाको पहिलो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १८.३७ अंक (०.७० प्रतिशत)ले बढेर दुई हजार ६१९.९९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले नै वृद्धि भएको छ ।

फागुन २१ मै निर्वाचन नभए सरकारको औचित्य रहँदैन : पुन
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको भन्दै मिति सार्ने तर्कको औचित्य नभएको बताए ।

कांग्रेस नेता कोइराला र सभापति देउवाबिच भेटघाट
नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ। क्रियाशील सदस्यता वितरण समितिले नम्बरविनाका फारम जिल्ला–जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।
 

सुझावित समाचार