नेप्से १८ अंकले बढ्दा कारोबार रकम सवा तीन अर्बमा सीमित

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

पुस महिनाको पहिलो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १८.३७ अंक (०.७० प्रतिशत)ले बढेर दुई हजार ६१९.९९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले नै वृद्धि भएको छ।

आज ३२५ कम्पनीका ७८ लाख चार हजार कित्ता सेयर कारोबार हुँदा तीन अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार तीन अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

व्यापर समूहबाहेक नेप्सेका सबै समूहको सूचक उकालो लागेका छन्। व्यापार ०.०१ प्रतिशतले घट्दा विकास बैंक, होटेल तथा पर्यटन र अन्य समूहको सूचक एक प्रतिशतभन्दा धेरैले बढेका छन्। बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

बजार बढ्दा आज स्वस्तिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी विकास बैंक र एसवाई प्यानलका लगानीकर्ताले नाै प्रतिशतभन्दा धेरै आर्जन गर्दा बाराही हाइड्रो सात प्रतिशतले उकालो लागेको छ।

बजार बढे पनि आज श्वेतगंगा हाइड्रो, बोटलर्स नेपाल (बालाजु) सर्वाधिक गुमाउनेमा परेका छन्। यी कम्पनीको सेयर मूल्यमा क्रमशः ४ र २ प्रतिशतभन्दा धेरैले गिरावट आएकाे छ।

सुझावित समाचार