१८औँ संस्करणको हिसान कास्की स्पोर्टस् मिटको सम्पूर्ण तयारी पूरा भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा बिहीबारदेखि सुरु हुने मिटको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका हुन् ।
शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप खेलकुदमार्फत अघि बढाउने उदेश्यअनुरूप आयोजना गरिएको मिटमा ४० शिक्षण संस्थाका चार हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने आयोजक हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले जानकारी दिए । पोखरा रंगशालामा ७ पुससम्म सञ्चालन हुने प्रतियोगितामा ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यालय, कलेज र विश्वविद्यालयतर्फका विद्यार्थीले बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिस गरि चार खेलमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत भलिबलतर्फ छात्र ३८ र छात्रा २४, बास्केटबलतर्फ छात्र ४६ र छात्रा २० टिम भिड्ने छन् । टेबुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी दुई सय ५०, व्याडमिन्टनतर्फ छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी दुई सय ५८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
हिसान कास्कीका सचिव किरण सापकोटाका अनुसार हरेक खेलको टिम विजेताले सात, दोस्रोले पाँच, तेस्रोले तीन र चौथो १ अंक प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल विद्यालय च्याम्पियन बन्नेछ । मिटको उद्घाटन समारोहमा पावर लिफ्टिबकी अन्तराष्टिय खेलाडी शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने उनले जानकारी दिए ।