- विद्यार्थी राजनीति विचार र असहमतिको त्यस्तो विश्वविद्यालय हो, जहाँ असहमति अपराध होइन, सुधारको पहिलो चरण बन्नुपर्छ
अनेरास्ववियू केवल विद्यार्थीको संगठन होइन, यो इतिहासको एउटा जीवित अध्याय हो, जहाँ विचार, त्याग र संघर्षको माटो मिसिएको छ । यो संगठनले राजा फ्याँकेको छ, तानाशाहीसँग जुधेको छ र नयाँ पुस्ताको चेतनामा पहिलो दीप बालेको छ । त्यसैले, यसको नामसँग जोडिएको अनुशासन, संयमता, सांगठनिक निष्ठा र नैतिक मूल्य केवल शब्द होइनन्, ती त हजारौँ विद्यार्थीका गहना हुन् । अनेरास्ववियू नेपालको सबैभन्दा पुरानो र इतिहास बोकेको विद्यार्थी संगठन हो । यसले केवल आन्दोलन होइन, अनेक पुस्ताको राजनीतिक चेतनाको जन्म दिएको छ । त्यसैले यसको अनुशासन, संगठनात्मक अखण्डता र निष्ठा जोगाउनु स्वाभाविक जिम्मेवारी हो ।
संगठनलाई चलाउन अनुशासन आवश्यक हुन्छ, तर जब अनुशासन संवादभन्दा ठुलो हुन्छ, त्यो निष्ठा होइन, नियन्त्रण बन्छ । विद्यार्थी राजनीति कुनै सैनिक बटालियन होइन, यो विचार र असहमतिको विश्वविद्यालय हो । त्यहाँ असहमति अपराध होइन, सुधारको पहिलो चरण पनि हो । ‘जेन–जी आन्दोलन’पछि देशमा जुन राजनीतिक आत्ममन्थन सुरु भएको छ, त्यो विद्यार्थी राजनीतिभित्र पनि छिर्नु स्वाभाविक हो । युवाले अब पार्टीगत अनुशासनभन्दा बढी विचारगत इमान खोजिरहेका छन् । त्यसैले, जब संगठनभित्रको असन्तुलन देखिन्छ, त्यसप्रति आवाज उठाउनु राजनीतिक नैतिकताकै हिस्सा हो ।
आज नेपालको राजनीति एउटा गम्भीर संक्रमणबाट गुज्रिरहेको सत्य हाम्रो अगाडि छ । पुराना पुस्ताका दलहरू विचारभन्दा बढी ‘व्यक्तित्व’ केन्द्रित भएका छन् । त्यसको प्रभाव विद्यार्थी राजनीतिमा पनि परेको छ, जहाँ नेताको आलोचनालाई संगठनको आलोचना ठानिन्छ र संगठनको निष्ठा विचारको गहिराइमा होइन, ‘कसको पक्षमा बोल्छ’ भन्ने आधारमा नापिन्छ । यो प्रवृत्तिले संगठनलाई बलियो होइन, भावनात्मक बन्दी बनाउँछ । विद्यार्थी आन्दोलनको आत्मा सधैँ विचारमा बाँच्ने हो, न कि नेताको भाषणमा । नेपालको राजनीतिक संस्कृतिमा संगठनहरू ‘सत्ता’सँग जति नजिकिन्छन्, उति नै ‘आत्मसमीक्षा’बाट टाढा जान्छन् । विद्यार्थी राजनीति पनि यसबाट अछुतो छैन । आज संगठनहरू विचारका प्रयोगशालाभन्दा पनि निष्ठाका परीक्षण केन्द्र बनेका छन् । नेतृत्वप्रतिको निष्ठा ‘विचारप्रतिको प्रतिबद्धता’भन्दा माथि राख्ने संस्कृतिले अन्तत: संगठनलाई निर्जीव बनाउँछ । अब युवाहरू प्रतीक होइन, सिद्धान्त खोज्दै छन् । उनीहरू अनुशासनमा होइन, न्यायमा विश्वास गर्छन् । यो चेतनालाई संगठनले अस्वीकार गर्छ भने भोलि संगठन पुस्ताविहीन बन्छ । अनेरास्ववियूजस्तो ऐतिहासिक संगठन त्यस दिशातर्फ नजाओस् भनेर आजै संवादको ढोका खोल्नु जरुरी छ । असहमति र सुधारबिचको सम्बन्ध कुनै पनि संस्थाको परिपक्वता यसको असहमतिको सहिष्णुताबाट मापन हुन्छ । जहाँ असहमति सुन्न सक्ने कान छैन, त्यहाँ सुधारको सम्भावना पनि मर्छ । अनेरास्ववियूजस्तो ऐतिहासिक संगठनले युवा पुस्ताको असहमतिको स्वरलाई ‘अराजकता’ होइन, ‘संवादको आमन्त्रण’का रूपमा लिन सक्नुपर्छ ।
संगठनको आत्मा केवल पद र नाममा होइन, त्यो हरेक युवाको हृदयमा हुन्छ, जसले समानताको सपना देख्छ र अन्यायसँग जुध्छ । त्यसैले, कुनै व्यक्तिको असहमति वा राजनीतिक निर्णयले तपाईंको विश्वास डगमगिनुहुँदैन । विश्वास संगठनमा होस्, तर आँखामा आलोचनाको ज्योति पनि बाँचोस् । राजनीति केवल पार्टीको कुरा होइन, यो दैनिक जीवनको हिस्सा पनि हो । कलेजमा पाउने छात्रवृत्ति र बुझाउने फी, रोजगारको अवसर, राष्ट्रिय नीति यी सबै राजनीतिक निर्णयका परिणाम हुन् । त्यसैले, राजनीति बुझ्नु र प्रश्न सोध्नु अपराध होइन, यो सचेत नागरिकको जिम्मेवारी हो ।
आजको बेरोजगारी, निराशा, अवसरको अभावजस्ता कुराले युवालाई पक्कै पनि निरुत्साहित बनाएको छ । तर, यो निराशा पनि राजनीति र प्रणालीकै परिणाम हो । आवाज नउठाउने युवापुस्ता, सबैभन्दा ठुलो पराजित पुस्ता हुन्छ । तसर्थ, युवाले बोल्नुपर्छ । विरोध गर्नुपर्छ तर विवेक र विचारसहित । क्रान्ति अब सडकमा होइन, विवेकको पुनर्जागरणमा हुनुपर्छ ।
विदेशमा अध्ययनरत युवा नेपालको भविष्यका साक्षी हुन् । विदेशमा पुगेको चेतना र सीपलाई मातृभूमिविरुद्धको घृणामा होइन, मातृभूमि पुनर्निर्माणमा प्रयोग गरौँ । संगठनले उनीहरूलाई शत्रु होइन, सम्भावनाको प्रतीकका रूपमा हेर्नुपर्छ । उनीहरूलाई नेपाल फर्केर होइन, नेपाललाई बाहिरबाटै भए पनि सुधार्न योगदान दिनुपर्छ ।
दलभित्रका कार्यकर्ताले अनुशासनसँगै आत्मसमीक्षा पनि बोकेर हिँड्नुपर्छ, र दलबाहिरका विद्यार्थीले ‘संगठन विरोध’ होइन, ‘संगठन सुधारका एजेन्डा उठाउनुपर्छ । हामी सबै एउटै उद्देश्यका हिस्सा हौँ, एक सचेत, न्यायपूर्ण र अवसरसमान नेपाल ।
अनेरास्ववियूको गौरवशाली इतिहासलाई पानामा सुरक्षित राख्नु मात्र पर्याप्त छैन, त्यो विचारको नवीकरण पनि आवश्यक छ । राजनीति तब जीवित रहन्छ, जब प्रश्नहरू बाँचिरहन्छन् । अनेरास्ववियू पनि तब बलियो हुन्छ, जब यसले असहमतिका आवाज सुन्छ, त्यो आवाज दबाउँदैन । आज संगठन, विद्यार्थी र नेतृत्व तीनै मोर्चामा पुनर्विचारको क्षणमा उभिएका छन् । संगठनले विचार र अनुशासन दुवै जोगाओस्, तर विवेकलाई कहिल्यै नदफनाओस् । किनभने, संगठनहरू भवनले होइन, भित्रको चेतना र विचारले टिक्छन् । राजनीतिक इतिहासले प्रमाणित गरेको छ, संगठनहरूको दीर्घायु नेतृत्वमा होइन, संवाद र आत्मसमीक्षामा निर्भर हुन्छ । कुनै व्यक्ति संगठनभन्दा ठुलो हुन सक्दैन, तर संगठन पनि सत्य र विवेकभन्दा ठुलो हुन सक्दैन ।