विश्वकपअघि राष्ट्रिय खेलाडीको प्रदर्शन चिन्ताजनक

दुई महिनापछि भारत र श्रीलंकामा हुने टी–२० विश्वकपअघि एनपिएलमा नेपाली खेलाडीले विश्वस्तरीय खेलाडीसामु गर्न सकेनन् उत्कृष्ट प्रदर्शन

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपालले आगामी २४ माघबाट भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी–२० विश्वकप खेल्दै छ । तेस्रोपटक विश्वकप खेल्न लागेको नेपालले समूह ‘सी’ मा टेस्ट राष्ट्र तथा दुईपटकको विजेता वेस्ट इन्डिज र इंग्ल्यान्डसहित बंगलादेश तथा इटालीसँग खेल्ने पक्का भइसकेको छ । तर, विश्वकपको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन भने चिन्ताजनक रह्यो । 

लुम्बिनी लायन्सले चामत्कारिक प्रदर्शन गर्दै पहिलोपटक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि उचाल्यो । तर, विश्वकपअघि नेपाली खेलाडीले विश्वस्तरका खेलाडीसामु आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर गुमाएका छन् । विश्वकपका लागि यही प्रतियोगिताबाट खेलाडी छनोट गर्ने तयारीमा नेपाल क्रिकेट संघ (क्यान) थियो । पछिल्लोपटक नेपाललाई विश्वकप छनोट गराएका तथा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक शृंखला जितेका खेलाडीहरू कप्तान रोहित, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, आदिल आलम, गुल्सन झा, आरिफ सेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी, लोकेश बम र साहब आलम हुन् । तर, च्याम्पियन तथा टिमका कप्तान रोहितसँगै बलर सन्दीप र अलराउन्डर दीपेन्द्रबाहेक नेपाली खेलाडीको प्रदर्शन एनपिएलमा औसतभन्दा पनि निकै तल रहेको छ । आशा गरिएका अनिलकुमार शाह, पवन सर्राफजस्ता शीर्षक्रमका खेलाडी पनि लयमा फर्किनै सकेनन् । यद्यपि, युुवा बसिर अहमद र शेर मल्लसँगै अनुभवी खेलाडीहरू विनोद भण्डारी र अभिनाश बोहराजस्ता खेलाडीले आफूलाई प्रमाणित गरे । खेलाडीको निराशाजनक प्रदर्शनपछि टिमलाई लयमा फर्काउनै समस्या हुने पूर्वकप्तान पवन अग्रवालको अनुमान छ ।

कुशल भुर्तेल
राष्ट्रिय टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलको प्रदर्शन औसत रह्यो । पोखरा एभेन्जर्सको कप्तानीसमेत रहेका कुशलले ७ खेलमा २ अर्धशतकसहित १५६ रन बनाए । गत संस्करणको भन्दा राम्रो प्रदर्शन गर्न सफल भए । कुल ५ विकेट पनि लिए । तर, सुरुमा लयमा देखिएका उनी पछिल्ला खेलहरूमा लयबाहिर रहे । सोहीकारण ओपनिङमा भन्दा पनि माथिल्लो नम्बरमा पुगेर ब्याटिङ गरेका थिए । दुई खेलमा डक हुँदा तीन खेलमा दोहोरो अंकमा रन पनि बनाउन सकेनन् । 

आसिफ शेख
२४ वर्षीय ओपनिङ ब्याटर आसिफ शेखको प्रदर्शन एनपिएलमा बिर्सनलायक रह्यो । दायाँहाते ब्याटर तथा विकेटकिपर जनकपुर बोल्टस्का मार्की हुन् । उनीबाट टिमले ठुलो आशा गरेको थियो । तर, टिम र आसिफको लय उस्तै उस्तै रह्यो । पहिलो खेलमै काठमाडौंविरुद्ध अर्धशतक बनाएका उनले ७ खेलमा मात्र १०५ रन बनाए । राम्रो ब्याटिङ गर्नै सकेनन् । तीन खेलमा डकआउट भएका थिए ।

रोहित पौडेल 
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितले यसपटक सबैको मन जिते । त्यसैले उपाधि मात्रै जितेनन्, ६० लाखबराबरको कार जिते । एक थान बाइक पनि पाए । टोलीलाई अफ्ठ्यारो परेको वेला सम्हालिएर ब्याटिङ गरे । त्यसैले लुम्बिनी लायन्स प्रतियोगितामा सानदार पुनरागमन गरेर उपाधि नै जित्न सफल भयो । उनले १० खेलमा २७६ रन बनाएका थिए भने बलिङबाट १० विकेट पनि लिएका छन् । फाइनलमा सुदूरपश्चिमविरुद्ध ह्याट्रिक नै लिए । उनी प्रतियोगितामा धेरै रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् । 

कुशल मल्ल
कम बोल्ने, तर आफ्नो ब्याटिङबाट सबैलाई जवाफ फर्काउने कुशल मल्लका लागि पनि यो एनपिएल फलदायी भएन । अपेक्षाअनुसार उनले आफूलाई प्रस्तुत गर्न सकेनन् चितवन राइनोजका मार्की तथा कप्तान कुशल मल्लले ७ खेलमा १३५ रन बनाएका थिए । जनकपुरविरुद्ध सर्वाधिक रन नै ३० बनाए । मात्र एक विकेट लिए । वेस्ट इन्डिजसँगको शृंखलाबाट कमब्याक गरेका कुशलले पुन: आफूलाई लयमा फर्काउन संघर्ष गर्नुपर्ने देखिन्छ । यसअघि खराब प्रदर्शनपछि पाँच महिना टिमबाहिर रहेका थिए ।

सन्दीप जोरा 
चामत्कारिक प्रदर्शन गर्दै लुम्बिनी लायन्स च्याम्पियन भए पनि सन्दीप जोराको प्रदर्शन अपेक्षाकृत भएन । २४ वर्षीय दायाँहाते ब्याटरले १० खेलमा मात्र ११५ रन बनाएका थिए । फाइनल र दोस्रो क्वालिफायर्समै डकआउट भए । उनको प्रदर्शन एकनासको हुनै सकेन । एनपिएलको पहिलो तीन खेलमा ओपनिङ गरेका उनी पुन: पछिल्ला खेलमा मध्यक्रममा देखिएका थिए । सन्दीप तीन खेलमा डक हुँदा अन्य तीन खेलमा दोहोरो अंकमा रन बनाउनै सकेनन् । 

दीपेन्द्रसिंह ऐरी
सुदूरपश्चिम रोयल्सलाई लगातार फाइनलमा पुर्याएर पनि २५ वर्षीय मार्की दीपेन्द्रसिंह ऐरीले उपाधि जिताउन सकेनन् । विश्वकपअघि दीपेन्द्रको प्रदर्शन अन्य खेलाडीभन्दा राम्रो रह्यो । उनको ब्याटबाट सोचेजस्तो रन त बन्न सकेन । महŒवपूर्ण खेलमा फेरि पनि दीपेन्द्रले रन बनाउन सकेनन् । तर, बलिङ र फिल्डिङ भने सानदार प्रदर्शन गरे । दीपेन्द्रले प्रतियोगितामा ९ खेलमा १६२ रन बनाए । अर्धशतक भने कुनै पनि खेलमा निस्किएन । ९ विकेट हात पारे । ११ क्याच लिए र २ डाइरेक्ट हिट रनआउट पनि गर्न सफल भए ।

आदिल आलम 
अलराउन्डर आदिल आलमलाई प्रशिक्षक मोन्टी देसाईले जस्तो नजिकबाट अरूले कहाँ चिन्न पाएर ? त्यसैले उनको भनाइ नै ठिक, ‘जब आदिलको ब्याटमा बल आउँछ उनलाई रोक्न सबैलाई गाह्रो हुन्छ, तर ब्याटमा बल आएन भने उनको पनि केही लाग्दैन ।’ हुन पनि हो, २२ वर्षीय खेलाडीलाई लिन मिनि अक्सनमा ८ टिमले नै अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए । उनी काठमाडौंको भागमा परे । तर, आदिलले अक्सनको उत्साहअनुसार प्रदर्शन गर्न सकेनन् । एनपिएल उनका लागि बिर्सनलायक रह्यो । ८ खेलमा मात्र ९३ रन बनाए । एक खेलमा डक हुँदा चार खेलमा दोहोरो अंकमा रन नै बनाएनन् । विकेट पनि लिनै सकेनन् ।

गुल्सन झा
१९ वर्षीय अलराउन्डर गुल्सनकुमार झाका लागि एनपिएल औसत रह्यो । बलिङ र ब्याटिङमा मध्यमस्तरको प्रदर्शन गरे पनि उनको टोली कर्णाली याक्स प्लेअफमा पुग्न सकेन । गुल्सनले ७ खेलमा ११० रन बनाएका थिए । ३ विकेट पनि लिए । काठमाडौंविरुद्ध अविजित ४९ रन बनाउनुबाहेक उनको पनि प्रदर्शन सानदार रहन सकेन । निर्णायक खेलहरूमा गुल्सनले सोचेअनुसारको रन निकाल्न र विकेट पनि झार्न सकेनन् ।

आरिफ शेख 
टोलीलाई लगातार फाइनलमा पुर्याउँदा आरिफ शेखले मध्यक्रममा आएर सन्तोषजनक प्रदर्शन गरे । २८ वर्षीय दायाँहाते ब्याटरले ९ खेलमा १८६ रन बनाए । उनी टिमका लागि विनोद भण्डारी (२६४) पछि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । फाइनलमा भने उनी पनि चुके । मात्र ७ रन बनाए । प्रतियोगितामा आरिफले विराटनगरविरुद्ध सर्वाधिक ४५ रन बनाएका हुन् । आरिफले आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए ।

सोमपाल कामी
२९ वर्षका सोमपाल कामीलाई एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपअघि फिट रहेको प्रमाणित गर्ने अवसर थियो । तर, मार्कीसँगै कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्नै सकेन । टोली प्लेअफबाट टाढा रह्यो । सोमपालले पनि आशा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । तीव्रगतिका बलरले ७ खेलमा मात्र ९ विकेट हात पारे । पोखराविरुद्ध जित्नैपर्ने खेलमा १३ रन मात्रै बनाए । विकेट लिनै सकेनन् र ५० रन खर्चिएका थिए । प्रतियोगितामा उनको ब्याटबाट मात्र ५१ रन निस्किएको थियो ।

करण केसी
अर्का तीव्रगतिका बलर करण केसीका लागि एनपिएल ठिकठाक नै रह्यो । विश्वकपअघि ३४ वर्षीय खेलाडीको प्रदर्शन सन्तोषजनक रह्यो भन्दा हुन्छ । मार्की केसीले काठमाडौंलाई पहिलोपटक इलिमिनेटरमा पुर्याए । करणले ८ खेलमा १३ विकेट लिए । समान खेलमा ४९ रन पनि बनाए । करण लिगका काठमाडौंको साहब आलमसँगै १३ विकेट लिने खेलाडी पनि बने ।

सन्दीप लामिछाने
गत सिजनमा कमजोर प्रदर्शन गरेका सन्दीप लामिछाने र उनी मार्की रहेको विराटनगर किंग्सले सानदार प्रदर्शन गर्दै सबैको मन जित्न सफल भए । टोलीले दोस्रो क्वालिफायर्ससम्मको यात्रा तय गर्दा लेगस्पिनर सन्दीपले सर्वाधिक १७ विकेट लिएका छन् । धेरै विकेट लिने खेलाडी बनेको सन्दीपले पल्सर बाइक नै पाए । उनले लुम्बिनीविरुद्ध अविजित ३४ रन बनाएका थिए । लुम्बिनीका कप्तान रोहितपछि सन्दीप प्रतियोगितामा सानदार प्रदर्शन गर्ने खेलाडीमा दोस्रो स्थानमा पर्छन् । 

नन्दन यादव
राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन संघर्ष गरिरहेका तीव्रगतिका बलर नन्दन यादवको पनि एनपिएल सुखद रहेन । ७ खेलमा १० विकेट लिए पनि जित्नैपर्ने खेलमा उनबाट क्षमताअनुसारको प्रदर्शन हुनैसकेन । २५ वर्षीय बलरले काठमाडौंविरुद्ध सर्वाधिक ३ विकेट लिए । चितवनविरुद्ध पहिलो खेलमा ३३ रन खर्चिँदा विकेटविहीन भएका थिए । सुदूरपश्चिमविरुद्ध अन्य खेलमा उनको प्रदर्शन निकै कमजोर रह्यो । 

ललित राजवंशी 
पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पिमयन बन्दा स्पिनर ललित राजवंशी सर्वाेत्कृष्ट बलर बनेका थिए । तर, टोलीको प्रदर्शनजस्तै ललितको पनि यसपटक प्रतियोगिता बिर्सनलायक रह्यो । लगातार खराब प्रदशर्नपछि उनलाई प्रशिक्षकले तीन खेलमा बेन्चमै राखे । ५ खेल खेलेका उनले मात्र ४ विकेट लिएका थिए । युवा स्पिनर शेर मल्लले सानदार प्रदर्शन गरेसँगै २६ वर्षीय ललितको राष्ट्रिय टिमको स्थानलाई लिएर ढुक्क हुने अवस्था छैन । 

लोकेश बम
ओपनर तथा विकेटकिपर लोकेश बमका लागि यो एनपिएल फलदायी रह्यो । समग्रमा २५ वर्षीय खेलाडीको प्रदर्शनमा खुसी हुने स्थान छन् । कुल ९ खेलमा १७० रन बनाए । पहिलो खेलमै पोखराविरुद्ध ७२ रन बनाएका लोकेशले पछिल्ला तीन खेलमा भने दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरलाई दोस्रो क्वालिफायर्ससम्म पुर्याउँदा उनले चर्चित क्रिकेटर मार्टिन गप्टिल, फाफ डुप्लेसीलगायत खेलाडीसँग डे«सिङ रुम सेयर गरेका थिए । 

शाहब आलम 
स्पिनर शाहब आलमका लागि यो एनपिएल अविस्मरणीय रह्यो । काठमाडौं गोर्खाजका यी खेलाडीले पोखराविरुद्ध ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिएका थिए । जुन प्रदर्शनपछि काठमाडौं पहिलोपटक प्लेअफमा स्थान बनाउन सफल भयो । उनी प्रतियोगितामा मार्की करणसँगै १३ विकेट लिन सफल भए । उच्च प्रदर्शपछि वेस्ट इन्डिजविरुद्ध अन्तिम खेल खेलेका शाहबलाई पुन: विश्वकपको टिममा देखिने सम्भावना उच्च छ । राष्ट्रिय टिमका अन्य बलरहरूले कमजोर प्रदर्शन गर्दा त्यसको फाइदा शाहबलाई हुने देखिन्छ ।

See More On

सुझावित समाचार