सोमबार : १० बजेसम्मका १० प्रमुख खबर

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलको मनोनयन दर्ता 
एमालेको अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले मनोनयन दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा ओली र पोखरेलले मनोनयन दर्ता गरेका हुन्। दुवैजना प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता र भोलि मंगलबार मतदान हुँदै छ।

काठमाडौं महानगरले मनायो ३१औँ स्थापना दिवस 
आज काठमाडौं महानगरपालिकाले ३१औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो  । काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते  स्थापना दिवस मनाउँदै आएको छ । 

भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ। पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा कांग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

हत्या आरोपित राजगढ गाउँपालिका अध्यक्ष मण्डल फरार, अदालतको आदेशपछि उपाध्यक्ष बनिन् कार्यवाहक
वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी फरार भएका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलको निर्णय उच्च अदालत जनकपुर राजविराज इजलासले खारेज गरेको छ। उपाध्यक्ष रेणु मण्डलले दिएको निवेदनमा आइतबार न्यायाधीश उज्ज्वल शुक्लले सुनवाइ गर्दै अध्यक्षको निर्णय बदर गरेको हो ।

चालू आर्थिक वर्षको चार महिनामा भित्रियो पौने सात खर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोजको तुलनामा कात्तिकमा ६४ अर्बले रेमिट्यान्स घटेको हो । ०८२ कात्तिकमा एक खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा दुई खर्ब एक अर्ब रुपैयाँबराबर भित्रिएको थियो ।

यू–१९ एसिया कप : बंगलादेशसँग नेपाल पराजित
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले नेपाललाई सात विकेटले हराएको हो । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित द सेभेन्स रंगशालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो ।

निवेदन तथा फारममा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था हटाउने निर्णय 
ऐनले नै तोकेको अवस्थामा बाहेक कुनै निवेदन पेश गर्दा तथा फारम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नुपर्ने नियम सरकारले हटाएको छ। यसले सर्वसाधरणलाई सास्ती भएको भन्दै सरकारले यससम्बन्धि प्रावधान संशोधन गरेको हो । ऐनमै तोकिएको व्यवस्थामा भने हुलाक टिकट टाँस्नुपर्ने हुन्छ । 

भारतबाट सात रुपैयाँ घटेर आएको डिजेलको मूल्य नेपालमा चार रुपैयाँ मात्रै घट्यो, पेट्रोल भने जतिको त्यति बढ्यो
नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणालीविपरीत भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ। तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ। 

पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारका लागि धमाधम रुख काटिँदै 
नेपालकै सबैभन्दा लामो राजमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गको अब स्वरुप फेरिने भएको छ । पूर्वमा काँकडभिट्टा(मेची)देखि पश्चिम महाकालीसम्म १०३५ किलोमिटर लामो यो राजमार्ग विस्तारले तिव्रता लिएको छ । राजमार्गको कमला–ढल्केवर–पथलैयाअन्तर्गतको कमला–बागमती (पूर्वी खण्ड)को विभिन्न स्थानमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेको र रुख कटान चलिरहेको आयोजनाका इन्जिनियर रमेश पाण्डेयले बताए । उनले सडकको रुख कटान भैरहेको तथा बिजुली पोल तथा खानेपानीका पाइप हटाउने काम समेत प्रक्रियामा रहेको बताए ।

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउन आदेश
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत प्रतिवादी रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्री प्रकरणमा विशेष अदालतले साक्षी झिकाउन आदेश गरेको छ। अदालतले बकपत्रको लागि वादी र प्रतिवादी दुवै पक्षको साक्षी झिकाउन भनेको हो। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिएको हो।

सुझावित समाचार