पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारका लागि धमाधम रुख काटिँदै

राजमार्गमा पर्ने शहरी क्षेत्रमा दुई लेनको फुटपाथ र पक्की नालासहित ५० मिटर चौडाइ (६ लेन) र अन्य क्षेत्रमा २६ मिटर चौडाइको चार लेन

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालकै सबैभन्दा लामो राजमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गको अब स्वरुप फेरिने भएको छ । पूर्वमा काँकडभिट्टा(मेची)देखि पश्चिम महाकालीसम्म १०३५ किलोमिटर लामो यो राजमार्ग विस्तारले तिव्रता लिएको छ । 

राजमार्गको कमला–ढल्केवर–पथलैयाअन्तर्गतको कमला–बागमती (पूर्वी खण्ड)को विभिन्न स्थानमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेको र रुख कटान चलिरहेको आयोजनाका इन्जिनियर रमेश पाण्डेयले बताए । उनले सडकको रुख कटान भैरहेको तथा बिजुली पोल तथा खानेपानीका पाइप हटाउने काम समेत प्रक्रियामा रहेको बताए । नेपाल विधुत प्राधिकरणको क्षेत्रीय कार्यालय मुजेलियामा पैसा समेत जम्मा भई अहिले सखुवा, धनुषाधाम, लालबन्दी र महोत्तरीको गौशाला वितरण केन्द्रबाट टेण्डर भई पोल हटाउन सुरु भैसकेको ई. पाण्डेयको भनाइ छ । केही स्थानमा पोल हटाउन सुरु भए पनि निक्कै सुस्त भैरहेकोले योजना समेत प्रभावित भैरहेको बताए । यता, खानेपानीको पाइप निर्माण कम्पनीले नै व्यवस्थापन गर्नेमा समस्या नरहेको तथा दुरसञ्चारको लागि अप्टिकल फाइबर राखिने उनले थपे । 

यस्तो बन्दै छ पूर्व–पश्चिम राजमार्ग
राजमार्गमा पर्ने सहरी क्षेत्रमा दुई लेनको फुटपाथ र पक्की नालासहित ५० मिटर चौडाइ (६ लेन)  र अन्य क्षेत्रमा २६ मिटर चौडाइको चार लेन हुनेछ । राजमार्ग विस्तारपछि जोडिका जिल्लाहरूले काचुली फेर्ने आशा गरिएको छ । देशकै दुई कोणलाई जोड्ने सडक विस्तारले यस क्षेत्रमा पर्यटन, व्यवसायदेखि अन्य विविध क्षेत्रमा प्रभाव पर्ने र देश अझै चलायमान हुने जनअपेक्षा छ । सडकको भौतिक  प्रगति १६ प्रतिशत रहेको छ ।

०२७ सालमा सञ्चालनमा आएको उक्त राजमार्ग विस्तारित हुन थालेपछि आवतजावतमा सुविधासहित व्यापारिक समृद्धताको आश जागेको स्थानीयको भनाइ छ । वल्र्ड बैंकको ८५ प्रतिशत ऋण सहयोग र १५ प्रतिशत नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको उक्त सडकमा पूर्वी खण्डमा पर्ने सर्लाही, धनुषा र महोत्तरीबाट ११ हजार ५७७ रुख कटान हुने छन् । सर्लाही, धनुषा र महोत्तरीमा रुख कटान भइरहेको छ । आयोजनाको यसै खण्डमा सर्लाहीमा तीन हजार ६७४, धनुषामा एक हजार ८७६ र महोत्तरीमा ६ हजार २७ रुख काटिनेछन् । कटानमा पर्ने धेरैजसो रुख सालका छन् ।

तीन प्याकेजमा हुँदै छ सडक निर्माण
पूर्व-पश्चिम महेन्द्र राजमार्गमध्ये कमलादेखि बागमतीसम्म ७७ किलोमिटर सडक निर्माणमा तीन प्याकेजमा ठेक्का लगाइएको छ । पहिलो प्याकेज एकेके इन्फ्रास्ट्रक्चर लिमिटेड कम्पनी (केरला)लाई ५७९ करोडमा जिम्मा दिइएको छ भने दोस्रो प्याकेज स्वेग आरसिसी जेभी काठमाडौंलाई ६४३ करोडमा ठेक्का लगाइएको छ । सोही कम्पनीले तेस्रो ठेक्का समेत ६७२ करोडमा जिम्मा लिएको छ । सडक विस्तार ३१ डिसेम्बर २०२७ सम्म सक्नु पर्ने सम्झौत छ । पूर्व खण्डमा सडकसंगै ३४ वटा पुल सोही रकममा बनाउनु पर्नेछ भने कमला पुल र बागमती पुलको लागि छुट्टै टेण्डर आव्हान गरिएको छ । 

जैविक सम्बन्ध टुटने पर्यावरण अभियानीको चिन्ता
राजमार्ग विस्तारले मानवलाई फाइदा पुग्ने भए पनि पर्यावरणमा भने निकै असर पर्ने र वन तथा जंगलमा  बसोवास गर्ने जनावरको जैविक सम्बन्ध टुट्ने पर्यावरण अभियन्ताहरूको चिन्ता छ ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका संस्थापक देवनारायण मण्डलले पहिले नै सडक बनाउँदा लाखौं रुख कटान भई जंगल दुई भागमा बाँडिएकोमा अब पुनः सडक विस्तारबाट जनावरहरूको आवागमनमा अवरोध हुने बताए । उनले सडकका विभिन्न स्थानमा जनावरको ‘पासिङ’को व्यवस्था हुने भए पनि त्यो ठुला जनावरको लागि मात्र उपयोगी हुने बताए । उनले अजिंगर, राज गोमन, गोहोरो प्रजाती, हुँडार, सिभेट क्याट, स्याल, फ्याउरो, निलगाई, बदेल, बाँदर र लंगुरहरूको जंगलसँग कनेक्सन टुट्नुका साथै उनीहरू सडक पार गर्दा ज्यानै जोखिममा पर्ने बताए ।

सडक विस्तार वर्तमान समयमा आवश्यक भए पनि जंगली जनावरलाई त्यसबाट कम क्षति कसरी हुने भन्ने बारे सरकारले अझै सोच्नुपर्ने उनी थप्छन् । जंगली जनावरहरूको अधिकांश सडक दुर्घटनाबाटै मृत्यु हुने गरेको उल्लेख्य तथ्यांक छ । 
 

सुझावित समाचार