एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले नेपाललाई सात विकेटले हराएको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित द सेभेन्स रंगशालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो ।
१३१ रनको विजयी लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका लागि जावाद अब्रारले ६८ बलमा सात चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । यस्तै, कलाम सिद्दिकीले ६६ बलमा ३४ रन बनाए ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा यही मंसिर २७ गते टेस्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।