ओलीको गृहनगर दमकमा जेन–जीको जागरणसभा

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण
ओलीको गृहनगर दमकमा जेन–जीको जागरणसभा

जेन–जी फ्रन्टले आयोजना गरेको कार्यक्रम

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा जेन–जी समूहले आइतबार जागरणसभा गरेको छ । काठमाडौंमा एमालेको ११औँ महाधिवेशन चलिरहेका वेला जेन–जीहरूले झापा ५ मा जागरणसभा गरेका हुन् ।नेपाल जेन–जी फ्रन्ट झापाको आयोजना र अग्रगामी झापा ५ को संयोजनमा भएको कार्यक्रममा जेन–जी अगुवा रक्षा बम, यतिश ओझा र उपार्जुन चाम्लिङले सम्बोधन गरेका थिए । दमक चोकबाट उनीहरू सांकेतिक विरोधस्वरूप ताली बजाउँदै कार्यक्रमस्थल गोर्खा डिपार्टमेन्टको प्रांगण पुगेका थिए । 

यद्यपि, एमाले महाधिवेशन र ओलीको निर्वाचन क्षेत्रको यो कार्यक्रम संयोग मात्र भएको नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले बताइन् । ‘हाम्रो यो जागरणसभा र एमालेको महाधिवेशन एकैपटक पर्नु संयोग मात्र हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘तर, पक्कै पनि यो सभाले एमालेको महाधिवेशनमा पनि केही सन्देश दिएको होला ।’ 

जेन–जी विद्रोहका क्रममा प्रधानमन्त्री रहेका ओलीको निर्वाचन क्षेत्रबाट नेपाल जेन–जी फ्रन्टले जागरण अभियानको सुरु गरेको हो । यो अभियान सम्भव भएसम्म देशभर लैजाने योजना रहेको संयोजक बमले बताइन् । ‘यो सुरुवात हो । देशभर कार्यक्रम गर्ने योजना छ । सबैमा चेतना जगाउन पनि जरुरी छ । तर, हामीसँग स्रोतको सीमितता छ,’ उनले भनिन्, ‘जेन–जी आन्दोलनबारे नकारात्मक भ्रम फैलाइएको छ । अहिलेको अवस्था के थियो र आन्दोलनमा उठेका मुख्य विषय के हुन् बुझाउने कोसिस हाम्रो हो । भदौ २३ मा हाम्रा सामान्य दुई माग लिएर विद्रोहमा गएका थियौँ । ती माग पूरा हुन नसक्ने थिएनन् । एउटा भ्रष्टाचार निर्मूल पार्नुपर्छ भन्ने र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मुद्दा थियो । तर, यी माग पूरा गर्न माग राख्दै गर्दा यसको बदलामा गोली पाएको उनले बताइन् । अहिले पनि २३ भदौलाई बिर्सेर जनताले २४ भदौ मात्रै यादमा राखिएको हो कि भन्ने त्रास भएको बमले बताइन् । राज्यको नालायकीपनले २४ भदौ निम्तिएको उनको भनाइ छ ।

‘पहिलो दिन हामीमाथि गोली दागेर दोस्रो दिन राज्यको संरचना जोगाउन नसकी नागरिकलाई राज्यविहीन बनाएर भाग्ने नेतृत्वलाई प्रश्न गर्नुहोला,’ उनले भनिन्, ‘तर, अहिले कसरी समाज र जेन–जी विभाजित छन् भन्नेबारे यहाँहरू जानकार हुनुहुन्छ । यसलाई स्वाभाविक लिनुपर्छ । जेन–जी भनेको पुस्ता हो । सबै जेन–जी मिल्नुपर्छ भन्दै गर्दा हामीभन्दा अघिको पुस्ता पनि अलग–अलग पार्टीमा छ । उनीहरू किन एउटै पार्टीमा छैनन् ? हामी पनि एउटा पुस्ता हो । वैचारिक मतभेत छ । हामी लोकतन्त्रका सुन्दर फूल हौँ । सबैले फरक मत राख्न पाउँछन् ।’ यस्ता कार्यक्रमले अन्य जेन–जी समूहसँग पनि मिलनको अवसर रहने उनले बताइन् । 

उनले ओलीलाई प्रश्न गर्न ओलीको निर्वाचन क्षेत्र झापा ५ को दमकबाट नै अभियान सुरु गरिएको बताइन् । ‘यो तत्कालीन प्रधानमन्त्रीको नगर भएकाले यहाँबाट अभियानको सुरुवात गरेका हौँ । विद्रोहमा हामीले प्रश्नको बदलामा गोली पाएका थियौँ । हामी झापा ५ मा प्रश्न र उत्तर लिएर आएका हौँ,’ उनले भनिन्, ‘आन्दोलनमा नरसंहार भयो । अब पनि यस्तै नेतृत्व चयन गर्ने कि विकल्प दिने भनेर सोध्न आएका हौँ । झकझक्याउन आएका हौँ । हामी हेरिरहेका छौँ र खबरदारी गरिरहेका छौँ । यो हाम्रो खबरदारी हो । हामी सक्षम र जनताको कुरा सुन्ने नेतृत्व चुन्नुहुन्छ भन्ने अपेक्षा लिएर आएका हौँ ।’

जेन–जी अभियन्ता यतिश ओझाले सडक नागरिकको भएको भन्दै सडक नछोड्ने बताए । उनले अन्याय, भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा सधैँ सडकमा लड्ने बताए । उनले देशमा जे–जति नराम्रो काम भए त्यो झापा ५ बाट गएको नेतृत्वले गरेका कारण जागरणसभाका लागि दमक रोजिएको बताए । ‘आदिवासी जनजातिको आस्थामाथि कुठाराघात कसले गर्यो ? ज्ञानको स्रोत किताबमा कर लगाउने काम कसले गर्यो ? हामीले झापा ५ बाट चुनेर पठाएको प्रतिनिधिको सरकारले गर्यो,’ ओझाले भने, ‘आजसम्म जति भ्रष्टाचारका काण्ड र अनियमितताको काण्ड अन्तिममा कहाँ जोडिन्छ ?

यही झापा ५ बाट जिताएर पठाएको सांसदको घरमा जोडिन्छ । जेन–जी विद्रोहको वेला को प्रधानमन्त्री थिए ? जेन–जी विद्रोहका वेला ७६ जनाको हत्यामा को जिम्मेवार रहेका छन् ? त्यसकारण पनि विकृति विसंगति, नरसंहार गैरन्यायिक हत्या र विद्रोह अघिपछि भएका कुकृत्यलाई पनि खबरदारी गर्न हामीले झापा ५ छानेका हौँ ।’ झापामा घरघरमा सडक पुगे पनि नागरिकले दूधको मूल्य, तरकारीको मूल्य खोजेको उनले बताए । ओझाले नागरिकले सरकारी कार्यालयबाट सरल सेवासहितको परिवर्तन खोजेको बताए । यद्यपि, झापा ५ बाट चुनिएका ओलीबाट त्यो परिवर्तन सम्भव नरहेको बताए । ओली फेरि यो निर्वाचन क्षेत्रबाट जितेर जाँदा देश नै दुर्घटना पर्ने भन्दै देशलाई दुर्घटनाबाट जगाउन यहाँका मतदाता र नागरिकमा जागरण आवश्यक रहेकाले जागरणसभा गरिएको बताए । 

जागरणसभामा जेन–जी अगुवा उपार्जुन चाम्लिङले देशभरबाट युवा, नयाँ विचार र परिवर्तनलाई स्वागत हुँदै गएको बताए । उनले जेन–जी विद्रोहबारे अपव्याख्या भइरहेको बताए । उनले भदौ २३ र २४ को आन्दोलनले बेथितिलाई चुपचाप सहेर बस्ने नसक्ने सन्देश दिएको बताए । उनले २१ फागुनमा चुनाव हुनैपर्ने बताए । ‘चुनाव नहुने हो भने यो सरकारसँग दुईवटा विकल्प छ । कि अधिनायकवादतर्फ जाने कि त संसद् पुनस्र्थापना गर्ने । हामीले कुन रोज्ने हो ? अधिनायकवादतर्फ जाने हो भने हिजोकै जस्तो सत्ता आउने हो । संसद् पुनस्र्थापनातर्फ जाने हो भने फेरि पनि गुन्डुका गुन्डाहरूलाई संसद् भवन जिम्मा दिने हो । संसद् पुनस्र्थापनाको माहोल बनाउन ०८४ को चुनाव ०८२ मा भनेर प्रश्न गर्न लगाइएको हो,’ उनले भने, ‘२१ फागुनमा चुनाव नगर्ने हो भने दुई विकल्पभन्दा तेस्रो विकल्प छैन । त्यसकारण दुई विकल्प युवालाई स्वीकार छैन । चुनावमार्फत नयाँ जनादेश ल्याएर मुलुकको संकट मोचन गर्ने सन्देश जेन–जी विद्रोहले दिएको छ ।’

सुझावित समाचार