बंगलादेशको निर्वाचन आयोगले १२ फेब्रुअरीलाई आमनिर्वाचनको मिति घोषणा गरेको छ । मिति घोषणा भइसक्दा पनि चुनाव हुनेमा धेरै बंगलादेशीमा आशंका कायमै देखिन्छ । निर्वाचन मिति घोषणा भइसक्दासमेत देशको सबैभन्दा ठुलो विपक्षी दल ‘बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी)’का नेता विदेशमै रहेकाले यस आशंकालाई बल प्रदान गरेको छ ।
अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्धित गरिएको अवस्थामा बिएनपी नै ठुलो दल हुने प्रक्षेपण छ । यसअघि चुनावको मिति घोषणामा भएको ढिलाइलाई लिएर पार्टीले अन्तरिम सरकारसँग पटक–पटक असन्तुष्टि जनाएको थियो ।
तर, चुनाव अहिले घोषणा हुँदासमेत बिएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान कहिले देश फर्किने हुन्, टुंगो छैन ।
६० वर्षीय रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । जिया २३ नोभेम्बरदेखि गम्भीर बिरामी भएकीले अस्पतालमा भर्ना भएकी छिन् । आखिर रहमानलाई बिरामी आमा भेट्न आउनसमेत केले रोकिरहेको छ ? सन् २००८ मा अवामी लिग सत्तामा आएपछि उनी लन्डनमा स्वैच्छिक निर्वासनमा गएका थिए । १७ वर्षदेखि उनी देश फर्किएका छैनन् । प्रमुख दलका नेता रहमानको देश फिर्ती र बंगलादेशको आगामी आमनिर्वाचनको सुनिश्चिता बलियोसँग गाँसिएको छ ।
केसँग डराइरहेका छन् रहमान ?
रहमानको निरन्तर अनुपस्थितिले बंगलादेशको राजनीतिमाथि नजर राख्ने पर्यवेक्षकमाझ विभिन्न शंका उपशंका फैलिने गरेको छ । ढाका फर्किए भने जीवन खतरामा पर्न सक्छ भनेर उनी लन्डनमै रोकिएको अनुमानले बढी बल पाएको छ ।
६ अक्टोबरमा लगभग २० वर्षपछिको पहिलो प्रत्यक्ष अन्तर्वार्तामा रहमानले बिबिसी बंगलालाई आफू नोभेम्बरभित्रै देश फर्किन सक्ने बताएका थिए । तर, २९ नोभेम्बरमा उनले आफ्नो देश फिर्तीको पूर्वघोषणा बदल्दै भने, ‘यस संवेदनशील विषयको सबै पक्ष सार्वजनिक गरिरहनु आवश्यक छैन । हरेक कुराका सीमा हुन्छन् । तर, राजनीतिक परिस्थितिअनुकूल हुनेबित्तिकै मेरो मातृभूमि फर्कने लामो प्रतीक्षा अन्ततः समाप्त हुनेछ भन्नेमा हाम्रो परिवार आशावादी छ ।’
आखिर तारिकलाई देश फर्किन केले रोकिरहेको छ ? जब कि वर्तमान अन्तरिम सरकार बनेपछि रहमानविरुद्ध दायर गरिएका प्रायः सबै मुद्दामा उनी निर्दोष साबित भइसकेका छन् । यसमा सबैभन्दा कठोर मानिने अगस्ट २१, २००४ को ग्रेनेड आक्रमण मुद्दासमेत समावेश छ, जसमा रहमान र अन्य १८ जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।
रहमानकी राजनीतिक प्रतिद्वन्द्वी शेख हसिना हाल भारतमा छिन् । उनलाई ‘इन्टरनेसनल क्राइम्स ट्रिब्युनल’ले मृत्युदण्डको सजाय सुनाएको छ । अहिले उनको पार्टीका सबै गतिविधिमाथि प्रतिबन्ध लागेको छ । बंगलादेशभित्र रहमानलाई यति धेरै डर केको छ जसले उनलाई महत्वपूर्ण चुनाव र आफ्नी बिरामी आमालाई भेट्न वा आफ्नो पार्टीको जिम्मेवारी लिन असमर्थ बनाएको छ ? अब यसको जवाफ उनैले नदिएसम्म सबै कुरा अनुमान मात्रै हुनेछ ।
अतिवादी दल जमातको उदय
अवामी लिगमाथि प्रतिबन्ध लगेपछि अहिले बिएनपी, जमात–ए–इस्लामी–बंगलादेश, विद्यार्थीले खोलेको नयाँ दल ‘नेसनल सिटिजन पार्टी’ र अन्य दर्ता भएका दलले ३०० संसदीय सिटका लागि उम्मेदवार अन्तिम रूप दिइरहेका छन् । चुनाव तालिका छिट्टै घोषणा हुने बताइएको छ ।
यति धेरै तयार भइसके पनि बंगलादेशी लोकतन्त्रका पक्षधरलाई एउटा कुराले चिन्तित बनाइरहेको छ । विशेषतः बंगलादेशी संस्थानमा इस्लामिक दल ‘जमात–ए–इस्लामी’को बढ्दो पकडबाट उनीहरू सशंकित छन् । शेख हसिनाको शासनमा यस दलमाथि प्रतिबन्ध लागेको थियो । तर, हसिनाको बहिर्गमनपछि जुन १, २०२५ मा, बंगलादेशको सर्वोच्च अदालतले निर्वाचन आयोगलाई यसको दर्ता पुनस्र्थापित गर्न आदेश दियो । शेख हसिना सरकारको पतनपछि जमातले नसोचेको शक्ति बढाउँदै लगेको छ ।
तथापि, जमातको शक्ति बढेको भए पनि योसँग चुनाव जित्न आवश्यक लोकप्रिय समर्थनको अझै पनि अभाव रहेको राजनीतिक विश्लेषकहरू विश्वास गर्छन् । अर्थात्, नयाँ परिस्थितिमा जमातले बढ्दो रूपमा संस्थानको नियन्त्रण लिए पनि, यसलाई सार्वजनिक समर्थनको अभाव छ । त्यसैले यो दल न त चुनाव चाहन्छ न त रहमानको देश फिर्ती नै । रहमान फर्किएमा बिएनपी कार्यकर्ता चुनावका लागि उत्साहित भएर सक्रिय होलान् भन्ने उसको डर छ । तथापि बंगलादेशभित्रका केही अन्य राजनीतिक खेलाडीहरू पनि यस समयमा चुनाव चाहँदैनन् ।
यस्तै समूहले केही अघि ढाका–८ संसदीय क्षेत्रका सम्भावित स्वतन्त्र उम्मेदवार सरिफ ओस्मान हादीलाई अज्ञात समूहले गोली हान्यो । हादीलाई गम्भीर घाइते बनाएको यस घटनाले धेरै बंगलादेशीलाई स्तब्ध बनायो । यस्तो छिटपुट हिंसाले पनि फेब्रुअरी १२ मा चुनाव हुने सम्भावनाप्रति शंका–उपशंका उत्पन्न गरेको छ ।
बिएनपीले फेरिक तारिक रहमान डिसेम्बर २५ मा घर फर्कने घोषणा गरेको छ । तथापि, फेरि पनि सम्भावना बलियो छैन, विशेषतः हादीमाथिको आक्रमणले गर्दा परिस्थिति अस्थिर बनेझैँ देखिन्छ । बंगलादेशको राजनीति अहिले पनि अस्थिर नै छ । यस्तोमा परिस्थिति जबसम्म सुरक्षित हुनेछैन न त रहमानको फिर्तीको सम्भावना छ न त चुनाव चाँडै हुने सम्भावना नै छ ।
(हल्दर भारतीय लेखक तथा पत्रकार हुन्) द प्रिन्टबाट