भृकुटीमण्डप आइपुगे ओली, केन्द्रीय कमिटी बैठक सुरु

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओली बन्दसत्रस्थल भृकटीमण्डप आइपुगेका छन् । ओली आएसँगै केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ । यो बैठक सकिएपछि मात्र बन्दसत्र सुरु हुनेछ । बिहानैबाट सुरु हुने भनिएको बन्दसत्र अब दिउँसोलाई धकेलिएको छ ।

केन्द्रीय सचिवालयले नै अध्यक्षमण्डलको काम गर्ने निर्णय गरेकाले उसैले बन्दसत्र सुरु गर्नेछ । र, केन्द्रीय निर्वाचन आयोगलाई कामको जिम्मा दिनेछ । आइतबारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘दुई हजार २६२ प्रतिनिधिको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, निर्वाचनको कार्यतालिका प्रकाशन गरेर आइतबार बिहानैबाट क्रमश: प्रक्रिया अगाडि बढ्छ,’ गौतमले भने, ‘सम्भवत: सोमबार उम्मेदवारी मनोनयन हुनेछ ।’

तर, निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचित हुने क्लस्टर टुंग्याएर दिएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुने बताए । ‘क्लस्टर टुंगिएर आयो भने आइतबारबाटै पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ सुब्बाले भने । उम्मेदवारी मनोनयनपछि भोटिङ मेसिनमा अल्फाबेटिकल्ली फोटोसहितको नामको सूची राख्न कम्तीमा १५ घण्टा लाग्ने उनको भनाइ छ । नियमित रूपमा काम अगाडि बढ्दा १ पुसमा मतदान सकेर ढिलोमा २ गते बिहानभित्र परिणाम सार्वजनिक गर्न सक्ने योजना रहेको उनले सुनाए । उनका अनुसार ८० वटा भोटिङ मेसिनमा मतदान गराउने र एकजना प्रतिनिधिलाई मत दिन २५ मिनेट लाग्ने अनुमान छ । उनले मतदान सकिएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्न सकिने बताए । 

बन्दसत्र सञ्चालनका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव लेखन र पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाउने सचिवालयले निर्णय गरेको थियो । थप समिति र सदस्यहरू अध्यक्षमण्डलले नै बनाउनेछ भने डा. सुब्बा नेतृत्वको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम गर्नेछ । 

See More On

सुझावित समाचार