एमालेका विदेश विभाग सदस्य विष्णुहरि पाण्डेले घोषणा गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले) का विदेश विभाग सदस्य विष्णुहरि पाण्डेले भक्तपुरको सल्लाघारीमा शनिबार सुरु भएको  ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा सुरु भइसकेको छ । यही महाधिवेशनले एमालेलाई नयाँ नेतृत्व दिनेछ । महाधिवेनसको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

एमालेका ३३ केन्द्रीय विभागमध्ये विदेश विभागलाई उच्च–प्रोफाइल र रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ, जहाँ विभिन्न क्षेत्रमा प्रभावशाली व्यक्तिहरू समेटिएका छन्।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे एमालेको विदेश विभाग हुँदै अघि बढेका हुन्। उनी अनेरास्ववियुको विदेश विभाग प्रमुखसमेत भइसकेका छन्। उक्त जिम्मेवारीमा रहँदा उनले १८ देशका युवाहरूको सहभागितामा

अन्तर्राष्ट्रिय युथ क्याम्प सञ्चालन गर्दै युवाबीच सहकार्य र नेतृत्व विकासमा भूमिका खेलेका थिए। पाण्डे नेपाल कमर्स क्याम्पस स्ववियूका पूर्वउपसभापति तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्व अध्यक्ष पनि हुन्।

विद्यार्थी कालदेखि नै उद्यम र व्यवसायमा सक्रिय पाण्डे पार्टीले अघि सारेका युवा उद्यमशीलता प्रवर्द्धन अभियानहरूमा निरन्तर संलग्न रहँदै आएका छन्। केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै उनले अन्तर्राष्ट्रिय सहकार्य विस्तार, लगानीका सम्भावना पहिचान तथा प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा युवाको भूमिका थप सुदृढ बनाउने लक्ष्यसहित आफू अघि बढेको बताएका छन्।

विभिन्न संघ–संस्थाको नेतृत्व अनुभव बटुलेका पाण्डेले पार्टीका कार्यकर्तालाई रोजगारीसँग जोड्दै आत्मनिर्भर बनाउने र त्यसमार्फत आम नागरिकको आर्थिक समृद्धिमा योगदान पुर्याउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्। राजनीतिक पृष्ठभूमि र व्यवसायिक छवि भएका व्यक्तिहरूको संयोजन पार्टी नेतृत्वमा आवश्यक रहेको उनको धारणा छ।

सुझावित समाचार