मंसिर १ देखि सुरु भएको दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार उपाधि भिडन्त हुँदै छ । लगातार दोस्रोपटक सुदूरपश्चिम रोयल्सले फाइनल खेल्दै छ । उसको प्रतिद्वन्द्वी लुम्बिनी लायन्स पहिलोपटक अन्तिम दुईमा पुगेको हो । गत सिजनमा पुछारमा रहेको लुम्बिनीले चालू संस्करणमा लगातार पाँच खेलमा जित निकाल्दै उपाधिको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेको हो । सुदूरपश्चिमले लिग चरणमा विराटनगर किंग्सबाहेक अन्य सबै खेलमा अपराजित रहँदै ब्याक टु ब्याक फाइनल स्थान सुरक्षित गर्यो । २७ दिनसम्म निरन्तर चलेको एनपिएलमा स्वदेशी तथा विदेशी खेलाडीले आआफ्नो प्रतिभा देखाउने अवसर पाए । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक प्रतिस्पर्धालाई रोमाञ्चक बनाउन विदेशी कोटामा थोरैमा चार र धेरैमा ६ खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान बनाएको थियो । आठ फ्रेन्चाइज टोलीले आफ्नो बजेटअनुसार स्वदेशीलाई अक्सनबाट भित्र्याए भने नाम चलेका विदेशी खेलाडी पनि ल्याए ।
क्यानले पहिलोपटक फ्लड लाइटमा एनपिएल आयोजना गर्दा कतिपय स्वदेशी खेलाडीलाई नौलो अनुभव भएको छ । राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई फ्लड लाइटको अनुभव रहँदा नयाँ खेलाडीको नजरमा बिल्कुल फरक देखिएको थियो । रोमाञ्चकताले भरिएको एनपिएलमा केही अप्रत्याशित नतिजा पनि आएका छन् । ब्याट्सम्यान हाबी भएको खेलमा बलर फितला देखिए । बलर उत्कृष्ट फर्ममा रहँदा नाम चलेका ब्याट्सम्यान पनि शून्य रनमै आउट हुन पुगे । यही रोमाञ्चकता र प्रतिस्पर्धाले भरिपूर्ण एनपिएलमा फाइनलअघि दुई खेलाडीले मात्र शतकीय इनिङ्स खेलेका छन् । २९ खेलाडीले दोस्रो संस्करणमा फाइनल खेलअघि अर्धशतकीय इनिङ्स खेलेका छन् । तथ्यांकअनुसार यसपटक घरेलु नौ ब्याट्सम्यानले विभिन्न खेलमा अर्धशतक लगाए । यसमा पोखराका कुशल भुर्तेल र सुदूरपश्चिमका विनोद भण्डारीले समान दुई अर्धशतक ठोकेका छन् । काठमाडौं गोर्खाजका भीम सार्कीले केवल १९ बलमा ५० रन जोडे । नेपाली खेलाडीमध्ये कम बलमा अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान बनेका छन् । विदेशी खेलाडीमा चितवन राइनोजका इंग्ल्यान्डका पूर्वखेलाडी रवि बोपाराले सर्वाधिक तीन अर्धशतक प्रहार गरे । यी हुन् फाइनल खेलअघि अर्धशतक बनाउने नेपाली खेलाडी :
लोकेश बम (विराटनगर किंग्स)
विराटागरका ओपनर लोकेश आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । विराटनगरले पहिलोपटक एनपिएलको प्ले अफमा स्थान बनाउँदा लोकेशले ब्याटिङमा राम्रो योगदान दिएका थिए । तर, टोलीमा विश्वप्रसिद्ध ब्याट्सम्यानको उपस्थितका कारण उनले आफ्नो प्रतिभा पछिका खेलमा खासै देखाउन पाएनन् ।
न्युजिल्यान्डका मार्टिन गुप्तिल, दक्षिण अफ्रिका फाफ डु प्लेसिस तथा अस्ट्रेलियाका साम हेजलेटजस्ता खेलाडी हुँदा उनी पछिल्ला तीन खेलमा ओपनिङमा आउन पाएनन् । लोकेशले एक खेलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
यस खेलमा उनले सर्वाधिक ७२ रन बनाउँदा ४८ बलमा सर्वाधिक सात छक्का र एक चौका ठोके । प्रतिस्पर्धामा विराटनगरले पोखरालाई ५३ रनले हराएको थियो । उनकै विस्फोटक ब्याटिङका कारण विराटनगरले एनपिएलकै इतिहासमा सर्वाधिक दुई सय २० रनको योगफल खडा गरेको थियो । लोकेशले नौ खेलमा एक सय ७० रन बनाएका छन् । उनले १३ छक्का र ६ चौका प्रहार गरे ।
विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स)
चालू एनपिएलमा स्वदेशी खेलाडीमध्ये ब्याटिङमा चम्किरहेका विनोद अगाडि पर्छन् । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुग्दा यी ओपनर तथा विकेटकिपरले महत्वपूर्ण योगदान दिएका छन् ।
चालू एनपिएलमा विनोदले दुई अर्धशतक इनिङ्स खेलेका छन् । २६४ रनका साथ उनी सर्वाधिक रन बटुल्ने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । उनले लुम्बिनी लायन्स र विराटनगर किंग्सविरुद्ध अर्धशतकीय योगदान दिएका थिए । यसमा सबैभन्दा महत्वपूर्ण विराटनगरसँगको क्वालिफायर वान थियो । सो खेलमा उनले ५२ बलमा ६३ रनको म्याच विनिङ प्रदर्शन गरेका थिए ।
विराटनगर बलिङमा हाबी हुँदा विनोदले साझेदारीमा विश्वास गरी टोलीको स्कोरबोर्डलाई बलियो बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का ठोके । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच पनि भए । यस खेलमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले हराउँदै ब्याक टु ब्याक फाइनल स्थान पक्का गरेको थियो ।
विनोदले लिग चरणमा लुम्बिनीविरुद्ध ६९ रनको अर्धशतीय इनिङ्स खेलेका थिए । लुम्बिनीमाथि सात विकेटको जित निकाल्दा उनले ४९ बलमा ६९ रन जोडेका थिए । यस क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरे । विनोदले अर्धशतक बनाएको खेलमा उनी म्याच अफ दी म्याच भएका छन् ।
कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
पोखरा एभेन्जर्स दोस्रो एनपिएलमा पाँचौँ स्थानमा रह्यो । तर, पोखराका लागि कप्तान कुशलले भने ब्याटिङमा आफ्नो क्षमताअनुसार योगदान दिएका छन् । नेपाली खेलाडीमध्ये दुई अर्धशतक खेल्ने उनी विनोदभन्दा अगाडि थिए । लगातार दुई खेलमा ५० रन जोड्दै सुरुवातमा उनले सनसनी मच्चाए ।
तर, त्यसपछिका खेलमा उनको ब्याटिङ खासै जम्न सकेन । उनले बलियो प्रतिद्वन्द्वी विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । विराटनगरसँगको खेलमा कुशलले पहिलो अर्धशतक लगाएका थिए । यस खेलमा उनले आक्रामक रूपमा ३१ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए ।
कुशलले पाँच चौका र चार छक्काको सहयोगमा ५३ रन जोडे । प्रतिस्पर्धामा पोखरा विराटनगरसँग ५९ रनले पराजित भयो । यसैगरी, कुशलको दोस्रो अर्धशतक सुदूरपश्चिमविरुद्ध निस्कियो । यस खेलमा उनले ३२ बलमा समान चार छक्का र चौकाको सहयोगमा ५३ रन बनाए ।
हाइस्कोरिङ खेलमा सुदूरपश्चिमले पोखरामाथि १८ रनको जित निकाल्यो । समग्रमा कुशलले सात खेलमा एक सय ५६ रन बनाए । उनले १२ चौका र ११ छक्का दोस्रो एनपिएलमा लगाए ।
अनिल साह (जनकपुर बोल्ट्स)
दोस्रो एनपिएलमा उत्कृष्ट नतिजा निकाल्न नसक्दा जनकपुर लिग चरणबाटै बाहिरियो । लिगमा जनकपुरले एक मात्र जित हात पारेको थियो । जनकपुरका लागि ओपनर अनिलले पोखरा एभेन्जर्सविरुद्धको खेलमा अर्धशतकीय इनिङ खेलेका थिए ।
पोखराविरुद्ध उनले ३६ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६१ रन जोडेका थिए । संयोग कस्तो रह्यो भने जनकपुरले जित निकालेको एक मात्र खेल पोखराविरुद्ध नै रह्यो ।
यसै खेलमा अनिलले अर्धशतकीय इनिङ्स खेलेका थिए । खेलमा उनी म्यान अफ दी म्याच भए । लगातार हारपछि कप्तान पद गुमाएका अनिलले समग्रमा ६ खेलमा ६ इनिङ्स ब्याटिङ गरी ७३ रन जोडे । उनले लिग चरणमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए ।
बसिर अहमद (विराटनगर किंग्स)
विराटनगर किंग्सका अलराउन्डर बसिर समग्रमा एक खेलमा चम्किएका थिए । कर्णाली याक्सविरुद्धको खेलमा उनको अर्धशतकीय इनिङ्स महत्वपूर्ण रह्यो । यस खेलमा उनकै अर्धशतकीय इनिङ्सका कारण विराटनगरले कर्णाली याक्समाथि एनपिएलकै सनसनी जित निकाल्योे ।
बसिरले कर्णालीविरुद्ध ४३ बलमा समान तीन छक्का र चौकाको सहयोगमा ६२ रन जोडे । हारको एकदम नजिक पुगेको विराटनगरले अन्तत: कर्णालीमाथि तीन विकेटको जित निकाली प्ले अफ यात्रा सहज बनाएको थियो ।
बसिरले नौ इनिङ्समा १९१ रन बनाएका छन् । उनले समान नौ चौका र छक्का प्रहार गरेका छन् । उनको ब्याटिङ स्ट्राइक ११७ रह्यो ।
भीम सार्की (काठमाडौं गोर्खाज)
चालू एनपिएलमा नेपाली खेलाडीमध्ये सबैभन्दा कम बलमा अर्धशतकीय इनिङ खेल्ने काठमाडौंका भीम हुन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा भीमले केवल १९ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए ।
समग्रमा उनले पोखराविरुद्ध २३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५५ रन जोडेका थिए । उनको विस्फोटक ब्याटिङको सहयोगमा काठमाडौंले पोखरामाथि १३ रनको रोमाञ्चक जित निकाल्यो ।
उनी खेलकै म्यान अफ दी म्याचसमेत भए । भीमले एनपिएलमा पाँच खेलमा ९० रन जोडेका छन् । उनले १५५ स्ट्राइकमा ब्याटिङ गरी पाँच चौका र सात छक्का प्रहार गरेका थिए ।
अर्जुन साउद (चितवन राइनोज)
नेपाली युवा खेलाडीमा अर्जुन प्रतिभाशाली ब्याट्सम्यानका रूपमा चिनिन्छन् । तर, उनले एनपिएलमा आफ्नो पोसेसनअनुसार ब्याटिङ गर्ने अवसर खासै पाएनन् । ओपनिङमा आउँदा अर्जुन आक्रामक रूपमा प्रस्तुत हुन्छन् ।
चितवनमा विदेशी खेलाडी रहँदा उनले अवसर नपाएका हुन् । तर, मौका पाउँदा उनले जनकपुरविरुद्धको खेलमा अर्धशतकीय इनिङ्स खेले । उनले प्रतिस्पर्धामा ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बटुलेका थिए ।
उनले सात खेलमा ६ इनिङ्स ब्याटिङ गरी ८७ रन जोडेका थिए । उनले दोस्रो एनपिएलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।
ईशान पाण्डे (सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिमको फाइनल यात्रामा प्रत्येक खेलमा ब्याट्सम्यान वा बलरले योगदान दिएकै थिए । जनकपुर बोल्ट्सँगको प्रतिस्पर्धामा सुदूरपश्चिमका लागि एमबिबिएस डाक्टर ईशानले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
उनले जनकपुरविरुद्धको खेलमा केवल ३५ बलमा ५६ रन जोडे । खेलमा उनले आठ चौका र एक छक्का प्रहार गरेका थिए । प्रतिस्पर्धामा सुदूरपश्चिमले जनकपुरमाथि ६ विकेटको सानदार जित निकाल्दा ईशान खेलका म्यान अफ दी म्याच भए ।
ईशानले सात इनिङ्समा १२७ रन बनाएका छन् । उनले १२ चौका र चार छक्का प्रहार गरे ।
आसिफ शेख (जनकपुर बोल्ट्स)
दोस्रो एनपिएलको उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबिच थियो । प्रतियोगिताकै पहिलो खेलमा जनकपुरका आसिफले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
उनले ४१ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५४ रनको योगदान दिए । प्रतिस्पर्धामा उनको अर्धशतकीय योगदान त्यति प्रभावशाली भएन । खेलमा काठमाडौंले पाँच विकेटले बाजी मार्यो ।
आसिफले सात खेलमा १०५ रन बनाएका छन् । उनले प्रतियोगितामा १३ चौका र चार छक्का प्रहार गरे ।
दुई विदेशी खेलाडीको शतक, २० को अर्धशतक
चालू एनपिएलमा फाइनलअघिसम्म २० जना विदेशी खेलाडीले अर्धशतक बनाएका छन् । पोखराका एडम रोसिङटन, जनकपुरका सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियांक पञ्चलको नाममा दुई अर्धशतक छ । पोखरा एभेन्जर्सका एडम रोसिङटन र कर्णाली याक्सका मार्क वाटले शतक बनाए । एडमले कर्णालीविरुद्ध ५८ बलमा १०८ रन जाडे । उनले ११ चौका र सात छक्का प्रहार गरेका थिए । चालू एनपिएलमा पहिलो शतक कर्णालीका मार्कले बनाएका थिए । उनले लुम्बिनीविरुद्ध ४४ बलमा ६ चौका र १२ छक्काको मद्दतमा ११४ रन जोडेका थिए ।