उम्मेदवार सिफारिसमा कांग्रेस रुपन्देहीमा विवाद : ४ र ५ बाट दोहोरो सिफारिस, बालकृष्ण खाण ३ बाट सिफारिस

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

उम्मेदवार सिफारिसको विषयमा रुपन्देहीमा कांग्रेस भित्र विवाद भएको छ। क्षेत्रीय समितिहरुमा विवाद देखिएपछि दोहोरो सिफारिस समेत गरिएको छ । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेकोमा ५ र ४ मा विवाद देखिएको हो। ५ मा सस्थापन पक्षले संस्थापन इतरकालाई खबर नगरी एक पक्षीय रुपमा उम्मेदवार सिफारिस गरेको आरोप इतरपक्षको छ।

यहा संस्थापन पक्षले एकल उम्मेदवार सिफारिस गरेकोमा इतर पक्षले असहमति जनाउदै कांग्रेसका युवा नेता विष्णु पोखरेलसहितको नाम सिफारिस गरेको छ।  शेखर कोइराला निकटका युवा नेता पोखरेल  महासमिति सदस्य हुन्। संस्थापन पक्षले कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाहको मात्रै एकल उम्मेदवार सिफारिस गरेकोमा यस क्षेत्रबाट इतर समूहले पोखरेलसहित तीन जनाको नाम सिफारिस गरेको छ।

इतर समूहले उम्मेदवार सिफारिस गर्न बसेको बैठकमा आफ्नो समूहलाई नबाेलाएको जिकिर गरेको छ। तर, संस्थापन पक्षले त्यस भनाइको खण्डन गरेको छ। क्षेत्रीय सभापति बसिउल्लाह मुसलमानले सबैलाई बैठकमा आमन्त्रण गरेको र उपस्थितमध्येबाट  सर्वसम्मत रुपमा नाम सिफारिस गरेको दाबी गरे । युवा नेता पोखरेल र केन्द्रीय सदस्य शाहबिच पछिल्ला वर्षहरुमा द्धन्द्ध हुदै आएको छ। पोखरेल ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य तर्फ बामगठबन्धनका उम्मेदवारसँग निकटतम प्रतिद्धन्दी रहेका थिए भने ०७९ मा गठबन्धनका कारण उम्मेदवार दर्ता पछि पनि फिर्ता गरेका थिए ।

त्यस्तै रुपन्देहीको क्षेत्र नम्वर ४ बाट पनि दोहोरो सिफारिस भएको छ। संस्थापन पक्षले प्रमोदकुमार यादवसहितको नाम सिफारिस गरेकोमा असन्तुष्ट समुहले छुट्टै सिफारिस गरेको छ। कांग्रेस रुपन्देहीका सचिब हरि काफ्लेले ४ र ५ बाट दोहोरो सिफारिस भएको भन्दै जिल्लाले जिल्लाले सिफारिस गर्दा आधिकारीकाे सिफारिसको सुचीसहित दोहोरो आएकाको फाइलको जानकारी प्रदेश हुँदै केन्द्रलाई पठाइने बताए ।

रुपन्देहीबाट ५० जनाभन्दा पनि बढीको नाम सिफारिस
कांग्रेस रुपन्देहीका क्षेत्रीय समितिहरुले रुपन्देहीका ५ वटा निर्वाचनबाट प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गर्दा ५० जनाभन्दा पनि बढीको नाम सिफारिस गरेको छ । जसमा प्रत्यक्षभन्दा धेरै समानुपातिकतर्फका रहेका छन्। कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेका अनुसार सबैभन्दा धेरै उम्मेदवार सिफारिस २ बाट भएको छ । केही क्षेत्रबाट राष्ट्रिय सभाका लागि समेत उम्मेदवार सिफारिस भएको छ।

कुन क्षेत्रबाट कति ?
कांग्रेस रुन्देहीका सचिव काफ्लेका अनुसार रुपन्देहीको क्षेत्र नम्वर एकबाट प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । यहाँबाट प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको छ। त्यस्तै २ बाट प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ । यस क्षत्रीय समितिले राष्ट्रिय सभाका लागि पनि एक जनाको नाम सिफारिस गरेको छ। ३ बाट प्रत्यक्ष र समानुपातिकतर्फ ६–६ जनाको नाम सिफारिस गरेको छ । यसै क्षेत्रका लागि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको पनि नाम सिफारिस भएको छ।

४ बाट प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ चार जनाको सिफारिस भएको छ र तर यहाबाट संस्थापनइतर समुहले यसबाहेक छुट्टै पनि सिफारिस गरेको छ । ५ बाट प्रत्यक्षमा कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाहाको मात्रै सिफारिस भएको छ। यस क्षेत्रबाट समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । ५ नम्बरबाट संस्थापन इतर समुहले छुट्टै सिफारिस गरेको छ । शेखर समूहले युवा नेता पोखरेललाई एक नम्वरमा राख्दै उनीसँगै महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ । 

सुझावित समाचार