च्याम्पियन बन्न सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिम रोयल्स साबिक उपविजेता हो भने लुम्बिनी लायन्स पहिलोपटक फाइनल खेल्दै

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)कोे शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलले नयाँ विजेता पाउने पक्का छ । एनपिएलको साबिक विजेता जनकपुर बोल्ट्स यस सिजन पुछारमा रह्यो । जनकपुरको बहिर्गमनसँगै दोस्रो एनपिएलमा कुनै एक टोलीले ट्रफी चुम्ने पक्कापक्की भइसकेको थियो । केवल उपाधि भिडन्तमा को–को टोली पुग्ने भन्ने मात्र प्रतीक्षारत थियो । 

एनपिएलको लगभग क्लाइमेन्टतर्फ मोडिएको अवस्थामा सुदूरपश्चिम र लुम्बिनी उपाधिका साथ यात्रा टुंग्याउने योजनामा छन् । अझ सुदूरपश्चिम ब्याक टु ब्याक र लुम्बिनी भने पहिलोपटक फाइनलमा पुगेको फ्रेन्चाइज टोली हो । लुम्बिनीले पहिलोपटक उपाधि भिडन्त एकदम नजिक पुग्दा लगातार पाँच खेलमा जित निकाल्यो । सुदूरपश्चिमको भने एक किसिमले आरामदायी यात्रा भयो । लिग चरणमा लगातार ६ खेल जितेको सुदूरपश्चिम अन्तिम खेलमा मात्र विराटनगर किंग्ससँग ६ विकेटले परास्त भयो ।

क्वालिफायरमा पुन: विराटनगरमाथि सानदार ७० रनको जित निकाली आफूलाई एनपिएलकै प्रमुख दाबेदारी टोली बनायो । सुदूरपश्चिमले गत सिजन पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित हुँदा उसले दोस्रो स्थान हात पार्‍यो । अब सुदूरपश्चिमको लक्ष्य दोस्रो प्रयासमा उपाधि जित्ने हो । 

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढावको नतिजा सामना गरी फाइनलसम्मको यात्रा तय गरेको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले त्यसपछिका पाँच खेलमा सानदार जित निकाली फाइनल स्थान सुरक्षित गरेको हो । पछिल्ला खेलहरूमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ । यही लयलाई फाइनलसम्म निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

ब्याटिङ र बलिङमा एकनास प्रदर्शन 
उपाधि भिडन्तमा उभिएको सुदूरपश्चिमले चालू एनपिएलमा ब्याटिङ र बलिङमा एकनास प्रदर्शन गरेको छ । कुनै खेलमा ब्याटिङ नचलेको अवस्थामा बलिङका भरमा खेल जितेको उदाहरण छ । लुम्बिनीले पहिले ब्याटिङ गर्दा कुनै पनि खेल जितेको थिएन । पछिल्लो समयमा लुम्बिनीको बलियो पक्ष नै बलिङ देखिएको छ । शेर मल्लको जादुमयी प्रदर्शन र रुबेन ट्रम्पलम्यानको बायाँहाते पेस बलिङले विपक्षी ब्याट्सम्यानलाई कमजोर बनाएका छन् । 

उनीहरूको प्रमुख काम नै अहिले विपक्षीको टप अर्डर ध्वस्त बनाउनु हो । त्यसमा पछिल्लो खेलमा लेगस्पिनर तिलकराज भण्डारी र अभिशेष गौतम पनि उत्कृष्ट फर्ममा देखिए । विराटनगरसँगको दोस्रो क्वालिफायरमा म्यान अफ दी म्याच बनेका तिलकराजको बलिङ दोस्रो इनिङ्समा प्रभावशाली देखिएको छ । सुदूरपश्चिमले लिग चरणमा सातमध्ये पाँच खेलमा पहिलो ब्याटिङ गर्दै लक्ष्य रक्षा गरेको थियो । उसको जितमा फराकिलो रह्यो ।

बलिङमा दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह तथा अभिनाश बोहराले कमान्ड सम्हालिरहेका छन् । अभिनाश सर्वाधिक विकेट लिनेको दोस्रो सूचीमा छन् । विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा छन् ।

रोहितविरुद्ध दीपेन्द्र
१ मंसिरदेखि सुरु भएको दोस्रो संस्करणको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । २७ मंसिरसम्म आइसक्दा केवल दुई टोली मात्र अन्तिम स्पर्धामा उभिएका छन् । सुदूरपश्चिम र लुम्बिनीबिचको उपाधि भिडन्त रोमाञ्चकताले भरिनेछ । अर्केतिर मैदानभित्र व्यक्तिगत रूपमा थाहा नपाउने गरी दुई खेलाडीबिच पनि प्रतिस्पर्धा हुनेछ । 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह र लुम्बिनीका कप्तान रोहितबिच एनपिएलमा ‘को उत्कृष्ट कप्तान वा रणनीतिकार’ हुने भन्ने पनि होडबाजी चल्न सक्छ । व्यक्तिगत रूपमा यस्तो नहुन सक्छ । तर, हरेक राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि विजेता टोलीका कप्तानको चर्चा भइरहने गर्छ । 

दोस्रो संस्करणको उपाधि जसले उचाल्नेछ, तेस्रो संस्करण चलिरहँदा उसको कप्तानीमा विजेता बन्ने भनी चर्चा पाइरहनेछ । यस कारण पनि को उत्कृष्ट कप्तान भन्नुको अर्थ राख्छ । अर्को रमाइलो पक्ष के छ भने यी दुवै टोली राष्ट्रिय टोलीका सिनियर खेलाडीमा पर्छन् । रोहित राष्ट्रिय टोलीका कप्तान र दीपेन्द्रसिंह उपकप्तान हुन् । एकदिवसीयदेखि टी–२० आईसम्म लगातार यी दुवै खेलाडीले नेपालको जितमा योगदान दिइरहेका छन् । 

एनपिएलको उपाधि भिडन्तमा उनीहरूले एक–अर्काको कमिकमजोरीदेखि बलियो पक्षसँग परिचित छन् । सम्भवत: अहिलेसम्म देखिएको रणनीतिभन्दा फाइनलमा बिलकुल योजनाका साथ मैदानमा रोहित र दीपेन्द्रसिंह प्रस्तुत हुन सक्छन् । चालू एनपिएलमा व्यक्तिगत प्रदर्शनमा दुवै उस्तै–उस्ता छन् । दुवैले आ–आफ्नो टोलीलाई फाइनल पुर्‍याउन ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट योगदान दिएका छन् । 

भनाइ
लुम्बिनीविरुद्ध खेल्न तयार छौँ : जगत टमाटा, प्रशिक्षक, सुदूरपश्चिम

सुदूरपश्चिमले सुरुदेखि प्लेअफसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो । सबै खेलाडी फिट छन् । कोही पनि घाइते छैन । एनपिएलमा लुम्बिनीले पछिल्लो समयमा राम्रो क्रिकेट खेलेको छ । विराटनगर वा लुम्बिनीमध्ये जो आए पनि फाइनलमा खेल्न हामी तयार थियौँ । लुम्बिनीको कन्फिडेन्स लेबल उच्च छ । उनीहरूले लगातार पाँच खेल जितेर फाइनल यात्रा गरेका छन् । लुम्बिनीको बलिङ पक्ष निकै बलियो पाएँ । क्रिकेट हो, जसले राम्रो खेल्छ, जित उसैको हुन्छ । हेरौँ, फाइनलमा कसको दिन राम्रो हुनेछ ? मलाई थाहा छैन । 

सुदूरपश्चिम एनपिएलकै राम्रो टोली हो : रोहित पौडेल, कप्तान, लुम्बिनी
हामी खराब अवस्थाबाट गुजिँदै फाइनलमा पुगेका हौँ । लिग चरणमा लगातार तीन खेल हार्नु र त्यसपछि तीनवटै खेल जित्दै प्लेअफ स्थान सुरक्षित भयो । टिमवर्कको भावनामा सबै खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । हामीभन्दा अगाडि नै फाइनल पुगेको सुदूरपश्चिम निकै राम्रो टोली हो । उसले सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । उपाधि भिडन्तमा सुदूरपश्चिमलाई चुनौती दिन्छौँ । उनीहरूको पनि स्पिन बलिङ राम्रो छ । हामीले ब्याटिङमा सुधार गर्नुपर्छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्ने प्रयास हुनेछ ।

प्लेयर्स टु वाच
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह विपक्षी टोलीका लागि टाउको दुखाइ खेलाडी बनिरहेका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ क्रममा उनले खेलमा नयाँ मोड दिने प्रयास गर्छन् । ब्याटिङमा आक्रामक, बलिङ कसिलो र फिल्डिङमा डाइरेक्ट रनआउट गर्दै प्रतिद्वन्द्वीलाई ब्याक फुटमा पार्ने गर्छन् । यस्तै कारणले सुदूरपश्चिमका खेलाडीहरू फाइनललाई लिएर आत्मविश्वासी बनेका छन् । दीपेन्द्रसिंहले बलिङमा आठ विकेट र ब्याटिङमा एक सय ४९ रन जोडेका छन् । लगातार पाँच खेलमा जित निकाली फाइनल स्थान सुरक्षित गरेको लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमबाट दीपेन्द्रसिंह प्रभाव पार्न सक्ने खेलाडीका रूपमा रहेका छन् । जसले लुम्बिनीले विपक्षी कप्तानका हरेक मुभमेन्टअनुसार रणनीति बनाउन बाध्य बन्न सक्छ ।

स्कट कुग्गेलिजिन (सुदूरपश्चिम)
गत वर्षको सिजनमा न्युजिल्यान्डका फास्ट बलर स्कट प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका थिए । उनले सर्वाधिक १७ विकेट हात पारेका थिए । सुदूरपश्चिमले फास्ट बलरमा सर्वाधिक विश्वास गरेका स्कट आफ्नो क्षमताअनुसारै बलिङ गरिरहेका छन् । लिग चरणमा चितवन राइनोजबाहेक अन्य सबै खेलमा उनी विकेटविहीन भएनन् । समग्रमा उनले सुदूरपश्चिमका लागि आठ खेलमा १० विकेट लिएका छन् । क्वालिफायर वानमा उनले विराटनगरका धुरन्धर ब्याट्सम्यानलाई सहजै पेभेलियन पठाएका थिए । सो खेलमा नौ रन खर्चेर उनले दुई विकेट हात पारे । उपाधि भिडन्तमा सुदूरपश्चिमका लागि उनी पुन: एकपटक स्ट्राइक बलर बन्न सक्छन् । 

रोहित पौडेल (लुम्बिनी)
लुम्बिनीको फाइनल यात्रामा कप्तान रोहितको भूमिका सर्वाधिक देखिन्छ । लुम्बिनीले अन्तिम दुई स्थान रक्षा गर्दा रोहितले टिमवर्क भावनामा पुगेको बताउँदै आएका छन् । तर, तथ्यांक हेर्ने हो भने उनले नपत्याउँदो रूपमा लुम्बिनीको प्रत्येक खेलमा योगदान दिएकै छन् । चाहे बलिङ वा ब्याटिङ किन नहोस् रोहित अगाडि छन् । ब्याटिङमा अहिलेसम्म अर्धशतक नजोडे पनि रोहित सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा पुगिसकेका छन् । उनले नौ खेलबाट दुई सय ६० रन जोडेका छन् । बलिङका क्रममा उनले आठ विकेट हात पारेका छन् । चालू एनपिएलमा उनी एक अलराउन्डर खेलाडीका रूपमा देखिएका छन् । शनिबार निर्णायक खेलमा रोहितले आफ्नो यही फर्मलाई निरन्तरता दिँदा सुदूरपश्चिम दबाबमा पर्न सक्छ ।

रुबेन ट्रम्पेलम्यान (लुम्बिनी)
नामिबियाका रुबेन लुम्बिनीको बलिङ एट्याक्टका प्रमुख अस्त्र हुन् । विराटनगर किंग्ससँगको क्वालिफायर २ मा उनले पहिलो ओभरमै सनसनी बलिङ गरेका थिए । न्युजिल्यान्डका मार्टिन गुप्तिल तथा लोकेश बमजस्ता आक्रमक ब्याट्सम्यानलाई रुबेले पहिलो ओभरमै सिकार गरे । यही उनको पहिलो ओभरको उत्कृष्ट स्पेलका कारण नै लुम्बिनीले विराटनगरमाथि खेलको अन्तिमसम्मै दबाबमा राख्यो । पावर प्ले तथा डेथ ओभरमा कसिलो बलिङ गर्दै विकेट लिन सक्ने रुबेनले शनिबार यस्तै प्रदर्शन गर्ने अपेक्षा राखेको छ । चालू एनपिएलमा उनले नौ खेलमा १२ विकेट लिएका छन् । बलिङ मात्र नभएर ब्याटिङमा समेत उनी राम्रा छन् । यसको फाइदा लुम्बिनीले प्रत्येक खेलमा लिइरहेको छ ।

झिनो रनको जितअन्तर

कर्णाली याक्स १२९/९ विरुद्ध जनकपुर बोल्ट्स १२६/७, कर्णाली ३ रनले विजयी
चालू एनपिएलको २८औँ खेलमा कर्णाली र जनकपुरबिच खेल भएको थियो । कर्णालीले जनकपुरमाथि रोमाञ्चक तीन रनको जित निकालेको थियो । चालू एनपिएलमा यो नतिजा नै अहिलेसम्म सबैभन्दा कम जितको अन्तरका रूपमा रह्यो । पहिलो ब्याटिङ गरेको कर्णालीले नौ विकेट गुमाएर एक सय २९ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा जनकपुरले २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रन जोड्दा कर्णाली तीन रनले विजयी भयो । प्रतिस्पर्धामा कर्णालीका विलियम वोसिस्टोले ब्याटिङमा १५ रन जोडेका थिए । बलिङमा उनले १८ रन खर्चेर दुई विकेट हात पारे । उनी खेलका म्यान अफ दी म्याच भए ।

विराटनगर किंग्स १३५/७ विरुद्ध जनकपुर बोल्ट्स १२६/९, विराटनगर ९ रनले विजयी
विराटनगरले एनपिएलको नवौँ खेलमा जनकपुरविरुद्ध खेलेको थियो । एनपिएलमा यो खेल रोमाञ्चक रूपमा रह्यो । विराटनगरले साबिक विजेता जनकपुरमाथि नौ रनको जित हात पारेको थियो । पहिलो ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । प्रत्युत्तरमा जनकपुरले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २६ रन जोडेको थियो । यस खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ स्पेल गरेका थिए । उनले ११ रन मात्र खर्चेर जनकपुरका चार खेलाडीलाई आउट पारेका थिए । उनी खेलका म्यान अफ दी म्याच भए । उनले इनिङ्सको १७औँ ओभरमा महत्वपूर्ण दुई विकेट लिँनै खेल विराटनगरतर्फ ल्याएका थिए ।

काठमाडौं गोर्खाज १६५/८ विरुद्ध पोखरा एभेन्जर्स १५२/१०, काठमाडौं १३ रनले विजयी
एनपिएलको २३औँ खेल काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबिच थियो । यी दुवै टोलीलाई प्ले अफ स्थानको आशा जीवितै बनाउन जित निकाल्नुपर्ने थियो । यस किसिमको समीकरणमा काठमाडौंले पोखरामाथि बाजी मार्‍यो । त्यो पनि केवल १३ रनको अन्तरले काठमाडौं विजयी भयो । पहिलो ब्याटिङ गरेको काठमाडौंले आठ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । प्रत्युत्तरमा पोखराले २० ओभरमा सबै विकेट गुमाएर एक सय ५२ रन जोडेको थियो । यस खेलमा भीम सार्कीले काठमाडौंका लागि विस्फोटक ब्याटिङ गरी २३ बलमा ५५ रनको योगदान दिएका थिए ।

सुदूरपश्चिम रोयल्स १९३/७ विरुद्ध पोखरा एभेन्जर्स १७५/८, सुदूरपश्चिम १८ रनले विजयी
एनपिएलको छैटौँ खेल सर्वाधिक रोमाञ्चकताले भरिएको थियो । सुदूरपश्चिम र पोखराबिचको खेलमा दर्शकले छक्का र चौकाको वर्षा हेर्न पाए । सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । पोखराले अन्तिमसम्म जितको आशा कायमै राखी ब्याटिङ गर्‍यो । तर, पोखराले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७५ रन बनाउँदै १८ रनको नमिठो हार सामना गर्‍यो । सुदूरपश्चिमका अस्ट्रेलियन जोस ब्राउनले ३५ बलमा ६८ रनको योगदान दिएका थिए । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ५० रन, जिमी निसमले २५ बलमा ४७ रन तथा डानले १६ बलमा ३७ रन जोड्दा पनि जित निकाल्न सकेनन् ।

काठमाडौं गोर्खाज १५७/८ विरुद्ध लुम्बिनी लायन्स १३५/१०, काठमाडौं २२ रनले विजयी
लिग चरणको ११औँ खेलमा काठमाडौंले लुम्बिनीमाथि २२ रनको जित निकालेको थियो । चालू एनपिएलको यो पाँचौँ कम जितअन्तर थियो । पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनायो । प्रत्युत्तरमा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३५ रन बनाउँदा काठमाडौं २२ रनले विजयी भयो । यो प्रतिस्पर्धामा एक मात्र खेलाडीले खेलको नतिजा नै फरक पारे । काठमाडौंका कप्तान करण केसीले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले ब्याटिङका क्रममा ११ बलमा ३४ रन जोडे भने बलिङमा एक विकेट हात पारे ।

See More On

सुझावित समाचार