जापानको उत्तरपूर्वी तट आओमोरीमा ७.५ म्याग्निच्युडको भूकम्प गएपछि त्यहाँका अधिकारीले महाभूकम्पप्रति सचेत हुन सावधानी जारी गरेका छन् । तथापि, सोमबार गएको भूकम्पले भने खासै क्षति पुर्याउन पाएन । भूकम्पबाट ३४ जनालाई हल्का चोटपटक लागेको र केही भागमा सडक तथा भवनमा केही क्षति पुगेको बताइएको छ ।
अधिकारीले मंगलबार जारी सावधानीलाई भविष्यवाणी नभएको बताएको छ । विशेषत: आठ रेक्टर स्केल वा सोभन्दा ठुलो भूकम्प आउने सम्भावना करिब एक प्रतिशत मात्र रहेको तिनले बताएका छन् । तथापि, सन् २०११ को नौ रेक्टर स्केल विनाशकारी भूकम्प पूर्वी तटनजिक इवाते क्षेत्रमा ७.३ रेक्टर स्केल भूकम्प आएको दुई दिनपछि आएको कुरालाई ख्याल गर्न भनिएको छ । त्यस भूकम्प र पछि आएको सुनामीले लगभग २० हजार मानिसको ज्यान लिएपछि जापानले भूकम्पलाई लिएर निकै सतर्कता अपनाउन थालेको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार सोमबारको शक्तिशाली भूकम्पले होक्काइडो र सानरिकु तटनजिक अस्थायी रूपमा जोखिम बढाएको बताएको छ । त्यस भागमुनि प्रशान्त टेक्टोनिक प्लेटमा दुई चिरा परेको छ, जापान चिरा र चिसिमा चिरा । तिनमा आउने हलचलले विगतमा धेरै ठुलो भूकम्प निम्त्याएको छ ।
अधिकारीले पछिल्लो सावधानी सूचनाले महाभूकम्प यही नै समय वा स्थानमा आउने भविष्यवाणी नगरेकामा जोड दिइरहेका छन् । त्यस भेगमा बसोवास गर्ने बासिन्दालाई आफ्नो दैनिक गतिविधि र काम जारी राख्दै सतर्क र तयार रहन मात्र भनिएको अधिकारीले जोड दिएका छन् । अधिकारीले जुत्ता र हेलमेटसहित केही दिनलाई पुग्ने दैनिक आवश्यकता रहने आपत्कालीन झोला भने तयारी अवस्थामा राख्न भनेका छन् ।