नेपाली बक्सरलाई ऐतिहासिक पदक

शुक्रबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण
नेपाली बक्सरलाई ऐतिहासिक पदक

कांस्य पदक जितेपछि नेपालका बक्सर चन्द्रबहादुर थापामगर र उनका मुख्य प्रशिक्षक दीपक महर्जन

  • विश्व बक्सिङ च्याम्पियनसिप, २०२५ मा नेपाली बक्सर चन्द्रबहादुर थापामगरले कांस्य पदक जितेर इतिहास रचेका छन्, यससँगै उनले ७५ हजार अमेरिकी डलर पनि हात पारे

नेपाली बक्सर चन्द्रबहादुर थापामगरले अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेका छन् । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप, २०२५ मा उनले कांस्य पदक जितेका हुन् । यससँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कार पनि हात छन् । नेपाली बक्सरले विश्व च्याम्पियनसिपमा पदक जितेको यो पहिलोपटक हो । 

दुबईमा जारी प्रतियोगिताको सेमिफाइनलमा बिहीबार थापाले ५४ केजी तौल समूहमा काजकस्तानका खेलाडी बिबोसिनोसँग प्रतिस्पर्धा गरेका थिए, जसमा उनी ५–० को स्कोरमा पराजित भए । बिबोसिनो विश्व च्याम्पियनसिप र ओलम्पिकका पदक विजेता हुन् । अन्तर्राष्ट्रिय बक्सिङ महासंघले विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा पुग्ने खेलाडीलाई कम्तीमा कांस्य पदक प्रदान गर्ने प्रावधान बनाएको छ । सेमिफाइनल चरणभन्दा अगाडि बढ्न नसक्ने दुई बक्सरलाई सेमिफाइनललिस्टकै रूपमा कांस्य पदक प्रदान गरिन्छ ।

यसअघि बुधबार थापाले क्वार्टरफाइनलमा इरानी खेलाडी महेदी काजमीमाथि ५–० को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै उनले क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।

नेपाली खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत एकल स्पर्धामा ७५ हजार अमेरिकन डलर हात पार्ने थापा पहिलो खेलाडी बनेका छन् । कांस्य जितेपछि उनले फोनमा नयाँ पत्रिकासँग भने, ‘पदक जित्छु भन्ने विश्वास थियो, ‘देशका लागि विश्व च्याम्पियनसिपमा पदक दिलाउन पाउँदा निक्कै खुसी लागेको छ ।’ 

थापा आगामी वर्ष जापानमा हुने एसियन खेलकुद प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले सुरु गरेको ‘मिसन २०२६’ को क्याम्पमा प्रशिक्षण गरिरहेका छन् ।  रोल्पा घर भएका उनले दाङको अल्फा बक्सिङ क्लबबाट ०७४ सालमा बक्सिङ करिअर सुरु गरेका थिए । पछि नेपाल प्रहरीमा प्रवेश गर्दै राष्ट्रियस्तरमा सहभागिता जनाउँदै आएका छन् । थापाले सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा कांस्य हात पारेका थिए । ०७९  मा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा उनले  स्वर्ण जितेका थिए ।

एसियन र ओलम्पिकमा पदक जित्ने लक्ष्य 
ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरले अबको लक्ष्य एसियन खेलकुद तथा ओलम्पिकमा पदक जित्ने रहेको जनाए । ‘सेमिफाइनलमा राम्रा खेलाडीबाट पराजित भए पनि नेपाललाई ऐतिहासिक कांस्य दिलाउन सके,’ उनले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु मेरो एउटा सपना थियो, त्यो पूरा भएको छ । अब एसियन र ओलम्पिकमा पदक जित्ने लक्ष्य छ ।’ 

गुरु महर्जनको सपना चेलाले गरे पूरा
नेपाली टोलीका मुख्य प्रशिक्षक दीपक महर्जनले विश्व च्याम्पियनसिपमा आफ्ना खेलाडीले ऐतिहासिक प्रदर्शन गरेको बताए । ‘अहिलेसम्म नेपाली बक्सिङ इतिहासमा कुनै पनि खेलाडीले विश्व च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिएनन्, आज चन्द्रले कांस्य हात पारेका छन्,’ उनले भने, ‘यो ऐतिहासिक क्षण हो ।’ 

खेलाडीका रूपमा महर्जनले पनि विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । तर, उनको पदक जित्ने धोको अपूरै रह्यो । आफूले प्रशिक्षित गरेका खेलाडीले सपना पूरा गरेको उनले बताए । ‘कुनै समयमा मैले पनि विश्व च्याम्पियनसिपमा पदक जित्ने सपना देखेको थिएँ । त्यो सपना पूरा गर्न सकिनँ । तर, मेरो प्रशिक्षणका खेलाडीले कांस्य जित्दा त्योभन्दा ठुलो खुसीको क्षण अरू के हुन्छ ?’ उनले भने, ‘एक किसिमले गुरुको सपना चेलाले पूरा गरेका छन् ।’ महर्जनले सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियन खेलकुद प्रतियोगितामा कांस्य पदक हात पारेका थिए । 

क्वार्टरफाइनलमा रोकिए लालबहादुर
प्रतियोगितामा चन्द्रबहादुरसँगै अन्य नेपाली खेलाडीले समेत प्रतिस्पर्धा गरेका थिए । ४८ केजी तौलका लालबहादुर उप्रेती क्वार्टरफाइनलबाट बाहिरिएका छन् । उनी काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५–० ले पराजित भए । लालबहादुरले अन्तिम आठको स्थान सुरक्षित गर्न इथियोपिया र माल्दोभाका बक्सरलाई हराएका थिए । क्वार्टरफाइनलमा पुगेका उनले १० हजार डलर पुरस्कार पाएका छन् । प्रतियोगितामा नेपालका पाँच बक्सरले भाग लिएका थिए ।

चन्द्रबहादुरले राज्यबाट ६५ लाख पाउने
दुबईमा नेपाललाई बक्सिङको विश्व च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक दिलाएका चन्द्रबहादुर देशमा ६५ लाख नगदसहित पुरस्कृत हुनेछन् । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ को उपनियम (३), (६) र (७) अनुसार अन्तर्राष्ट्रिय महासंघ (आइएफ) विश्व च्याम्पियनसिपमा स्वर्णदेखि कांस्य जित्ने खेलाडी पुरस्कृत हुने व्यवस्था छ । जसमा स्वर्णलाई एक करोड ३० लाख, रजतलाई ९७ लाख र कांस्य पदक विजेतालाई ६५ लाख रुपैयाँ दिने व्यवस्था छ । त्यस्तै, प्रशिक्षकले सात लाख ८५ हजार र सम्बन्धित संघले १५ लाख रुपैयाँ पाउने नियमावलीमा व्यवस्था छ । जसअनुसार प्रशिक्षक दीपक महर्जन र नेपाल बक्सिङ संघ पनि पुरस्कृत हुनेछन् । 
 

See More On

सुझावित समाचार