नवलपुरको कावासोती र चोरमारा गरी दुई स्थानमा दुईजनाको शव फेला परेको छ।
कावासोती– १० मगरकोट वडा कार्यालय अगाडि खेतमा एक पुरुषको शव विभत्स अवस्थामा फेला परेको हो। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका– ९ निवासी ४२ वर्षीय रामहरि बिकको शव विभत्स अवस्थामा फेला परेको नवलपुर प्रहरीले जनाएको छ।
कावासोती– ९ को नेपाल इँट्टा भट्टामा केही दिनदेखि काम गर्दै आएका उनीको गएराति साथीहरुसँग रक्सी खाएर झगडा भएको खुलेको ेप्रहरीले जनाएको छ। प्रहरीका अनुसार मानसिक सन्तुलन ठिक नभएका उनले विहानपख आफ्नै साथीहरुसँग झगडा गरेर आफैँले आफैँलाई ढुंगाले टाउकोमा प्रहार गरेका थिए।
त्यसपछि घाइते भएका उनलाई उपचारको लागि मगरकोटको स्थानीय एटुजेड मेडिकलमा उपचारका लागि लगिएको थियो। सोही क्रममा उनी पुन त्यहाँबाट भागेको स्थानीयले जनाएका छन्। बिहीबार दिउँसो पौने ४ बजेतिर स्थानीयले मगरकोटको खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको छ।
यसैगरी, विवाहमा जान्छु भनी घरबाट हिँडेका नवलपुर कावासोतीका एक पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार कावासोती– ५ घर भई कावासोती–३ थारु टोल बस्दै आएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला परेका हुन्।
अत्यधिक जाडोका कारण कठ्यांग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। शरिरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।