आफै स्कुटर चलाएर उपचारका लागि वयोधा अस्पताल पुगेका खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका प्रभिसन राईको मृत्यु प्रकरणमा आफन्त र अस्पतालबिच सहमति भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि २२ मंसिर राति काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल पुगेका २६ वर्षीय प्रभिसनको सोही राति मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका थिए ।
घाँटी दुख्ने र केही अड्के जस्तो भएर स्वास–प्रश्वासमा समस्या आएपछि राति १२ः५५ बजे अस्पताल पुगेका प्रभिसनको सोही रातको करिब ३ः५२ बजे मृत्यु भएको थियो । यसपछि आफन्तहरूले स्वास्थ्यकर्मीको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका थिए । प्रभिसनको मृत्यु भएलगत्तैदेखि अस्पताल प्रशासनविरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबिच आज (बिहीबार) भएको वार्ता सफल भएपछि आन्दोलन रोकिएको छ ।
प्रभिसनको शव अस्पतालमै छाडेर आन्दोलनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबिच दुई बुँदे सहमति भएको स्थानीय सविन थुलुङले जानकारी दिएका छन् । आन्दोलनमा सहभागी थुलुङका अनुसार अस्पतालले मृतक प्रभिसनका परिवारको आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने, प्रभिसनको शव काठमाडौँदेखि खोटाङसम्म हेलिकोप्टरमार्फत लैजाने व्यवस्था गर्ने र क्षतिपूर्तिबापत नगद २० लाख उपलब्ध गराएपछि सहमति भएको हो ।
अफन्तले दिएको जानकारीअनुसार रातको समयमा बिरामी परेका प्रभिसनलाई अस्पतालले इमरजेन्सी वार्डमा भर्ना गरेको थियो । ‘अस्पतालको सल्लाहअनुसार एक्स–रे गरियो तर केही समस्या देखिएन । सामान्य अवस्था छ भन्दै नर्मल वार्डमा सारियो,’ प्रभिसनका एक आफन्तले भने, ‘नर्मल वार्डमा सारिएको केही समयपछि प्रभिसनको स्वास्थ्य अवस्था गम्भीर बन्यो । राति ‘केही गर्न सकिन्न’ भन्दै बेवास्ता गरेपछि प्रभिसनलाई अकालमै गुमाउनु पर्याे ।'
स्वास्थ्यकर्मीको लापरबाहीका कारण प्रभिसनको मृत्यु भएको दाबी गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए । उपचारमा लागेको खर्चदेखि काजकिरिया खर्च दिनुपर्ने, क्षतिपूर्तिस्वरुप दश करोड दिनुपर्ने, मृतक परिवारका लागि आजीवन स्वास्थ्य र शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका नौँ बुँदे मागसहित मृतकका परिवारले २३ मंसिरमा अस्पताललाई मागपत्र बुझाएको थियो ।