नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लागि सिरहामा चन्दा संकलन सुरु गरिएको छ । नेकपा एमाले सिरहा नगर समितिको नेतृत्वमा सदरमुकामस्थित विभिन्न सरकारी कार्यालयदेखि नीजि संघसंस्थावाट रकम असुल्न रसिद काटेको खुलासा भएको छ ।
नगर अध्यक्ष दिपक कुमार यादवको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम सिरहास्थित विभिन्न सरकारी कार्यालयहरुलाई आफू अनुकुल रकम लेखेर चन्दा रसिद थमाउने गरेको छ । भूमी सुधार तथा मालपोत कार्यालय सिरहाका कार्यालय प्रमुखलाई ५१ हजारको चन्दा रसिद थमाएको थियो । चन्दा रसिदमा ५१ हजार रकम उल्लेख भएपछि कार्यालय प्रमुख अरविन्द कुमार चौधरीले चन्दा संकलन गर्न आएका एमाले नेताहरुलाई असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
कार्यालयमा चन्दा सहयोग उपलब्ध गराउन बजेटको व्यवस्था नभएको भन्दै कार्यालय प्रमुख चौधरीले कर्मचारीहरुवाट रकम संकलन गरी क्षमताले भ्याएजति सहयोग गर्ने बताएका छन् ।
देशको प्रमुख पार्टी भएकोले सिंधै नाई भन्न पनि नसकिने अवस्था रहेको भन्दै उनले कार्यालयको समस्या पनि बुझ्नुपर्ने बताएका छन् । नेकपा एमालेका नगर अध्यक्ष दिपक यादवले राष्ट्रिय महाधिवेशनमा डेढ सय जति नेता कार्यकर्ता सहभागी हुने र त्यसका निम्ति खर्चको बन्दोबस्ती गर्न सहयोग मागिएको बताएका छन् । ‘कुनै करकाप नगरी स्वेच्छाले सहयोग गर्न सकिन्छ,’ अध्यक्ष यादवले भने,‘अरुपार्टीहरुलाई पनि सहयोग गरेको छ ।
हामीलाई पनि गर्नुपर्यो ।’ अधिवेशनमा पुग्न र त्यहाँ हुने खर्चको व्यवस्थापन गर्न पालिका स्तरीय एमालेको समितिले विभिन्न संघसंस्था, व्यवसायीहरुसँग आर्थिक सहयोग माग गरिएको छ । एमालेको चन्दा संकलन विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सुरेन्द्र पौडेलले जबर्जस्ती चन्दा माग गरिएको विषय आफ्नो जानकारीमा नआएको भन्दै बचाउ गरेको छ । यता एमाले जिल्ला अध्यक्ष अशोक यादवले पार्टीको नाउँमा चन्दा उठाउने काम गरेको विषयमा जानकारी प्राप्त भएको र आवश्यक सोधखोज भैरहेको बताएका छन् ।