लुम्बिनी एकीकृत विकास संस्था (लिडो) द्वारा सञ्चालित उत्थानशीलता अभिवृद्धि परियोजनाबाट कपिलवस्तु र रुपन्देहीका १६ वडाका १५ सयभन्दा बढी अति विपन्न परिवार प्रत्यक्ष लाभान्वित भएका छन्। कपिलवस्तुको सुद्धोधन–१ बगदीका ५५ वर्षीय खिमलाल पाण्डेयको सानो चिया–किराना पसललाई लिडोले करिब ४५ हजार रुपैयाँ बराबरका सामग्री सहयोग गरपछि उनका आठ जनाको परिवारको मुख्य आयस्रोत मजबुत बनेको छ । ‘लिडोले सामाग्री दिएपछि पसल चल्न थाल्यो, व्यापार गर्न सजिलो भयो,’ पाण्डेयले बताए । सोही आम्दानीले उनले एक छोरालाई विदेश पठाउन समेत सफल भएको उल्लेख गरे।
यस्तै, शुद्धोधन–२ हरनामपुरकी अयोधी थारुले लिडोबाट पाएको बिउ, तालिम र प्राविधिक सहयोगपछि भान्टा, गोभी, खुर्सानीलगायत तरकारी खेतीबाट वार्षिक एक लाखदेखि डेढ लाखसम्म कमाइ गरिरहेको बताइन्। ‘१० हजार लगानीमा ८० हजार भन्दा बढी आम्दानी भयो, अब व्यवसायिक रूपमा नै अगाडि बढेकी छु,’ उनले भनिन् । शुद्धोधन–१ प्रगतिनगरकी तीन अपांग सन्तानसहित बस्दै आएकी लक्ष्मी परियारलाई भने लिडोले अपांगमैत्री पक्की शौचालय निर्माण गरी ठूलो सहजता प्रदान गरेको छ ।
कार्यक्रम संयोजक सुशील चौधरीका अनुसार कपिलवस्तुका मायादेवी, शुद्धोधन, लुम्बिनी सांस्कृतिक नगरपालिका र समरीमाई नगरपालिकाका १६ वडामा परियोजना सञ्चालन हुँदै आएको छ । ६० समूहमार्फत १५ सय व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन्। लघु उद्यम तथा व्यावसायिक सहयोग, बाख्रा–कुखुरा पालन, बीउ–बिजन तथा कृषि सामग्री वितरणजस्ता कार्यक्रम प्रभावकारी रूपमा पुगेको बताईएको छ ।
६ सय जनालाई लघु उद्यम, तथा साना ब्यवसायीलाई सहयोग, ६ सय बाख्रा र कुखुरापालनमा सहयोग गरिएको सामग्री सहयोग गरिएको उनको भनाई छ । कृषक समुहलाई ४० देखि ४३ हजारको बीउ र कृषक सामग्री सहयोग गरिएको लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताइन् ।लिडो नेपालका अध्यक्ष अतहर कमालले परियोजनाले विपन्न समुदायमा आत्मनिर्भरता र दिगोपनाको आधार निर्माण गरिरहेको बताएको छन् ।
‘हामीले सहयोग मात्र हैन, परिवारलाई दीर्घकालीन रूपमा उभिन सक्ने सीप र अवसर प्रदान गर्ने लक्ष्य राखेका छौँ,’ कमालको भनाइ छ ।