कांग्रेसले जिल्ला सभापतिहरूलाई नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न निर्देशन दिएको छ । जिल्ला सभापतिहरूसँग बुधबार भएको अर्चुअल छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आग्रह/पूर्वाग्रहविना सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न निर्देशन दिएका हुन् ।
‘सहज ढंगले सदस्यता पाउनुपर्छ । नवीकरण र नयाँ सदस्यता सहज र व्यापक रूपमा पाउने वातावरण बनाउनुपर्छ । त्यो क्रममा कुनै आग्रह/पूर्वाग्रह नदेखियोस् । तल त्यो समस्या देखियो भने पनि केन्द्रले आवश्यक कागजात हेरेर सदस्यता दिन्छ,’ खड्काको भनाइ उद्धृत गर्दै भर्चुअल छलफलमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने ।
भर्चुअल छलफलमा कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश स्नेही पनि सहभागी थिए । ७७ वटै जिल्लाका सभापतिलाई भर्चुअल छलफलका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइए पनि करिब ५० जिल्लाका सभापति सहभागी भएका थिए ।
एक नेताका अनुसार विवाद भएका जिल्लाका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको थियो । विवाद नभएका जिल्लाका सभापतिहरूलाई भने अनिवार्य गरिएको थिएन । ‘युजरनेम र आइडी सबै जिल्ला सभापतिलाई पठाएका हौँ । समस्या भएका जिल्लालाई अनिवार्य गरिएको थियो । ५० भन्दा बढी जिल्लाका सभापति सहभागी हुनुभयो,’ ती सदस्यले भने ।
अनुशासन समितिले कारबाही गरेकाबाहेक अन्यको हकमा उजुरी परेकै आधारमा सदस्यताबाट वञ्चित नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ । ‘कारबाहीको सन्दर्भमा २१ हजार उजुरी छन् । उजुरी परेकै आधारमा सदस्यता नवीकरण नगर्ने भन्ने हुँदैन । केन्द्रीय अनुशासन समितिले कारबाही गरेकाको नवीकरण हुँदैन । अन्यको हकमा उजुरी परेकै आधारमा सदस्यता रोक्नु हुँदैन,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले भने, ‘केन्द्रलाई बुझाउने अन्तिम मितिसम्म नवीकरण र नयाँ सदस्यता दुवैतर्फ फाइनल गर्नुपर्छ । कार्यवाहक सभापतिलाई बुझाउने वेलासम्म हामी सबै काम सक्छौँ ।’
महामन्त्री थापाको सातबुँदे परिपत्र
कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले परिपत्र गर्दै नयाँ क्रियाशील सदस्यता सहज ढंगले दिन निर्देशन दिएका छन् । सातै प्रदेश, १६५ प्रतिनिधिसभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका र गाउँपालिका र सबै वडा कार्यसमितिलाई परिपत्र जारी गर्दै थापाले ११ पुसभित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।
सदस्यता छानबिन समितिको संयोजकमा यादव
कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादव मनोनीत भएका छन् । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार यादवलाई क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनीत गरेका हुन् । समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक छन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम कार्यवाहक सभापति खड्काले सदस्यता छानबिन समितिमा संयोजक र सदस्य मनोनीत गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।