कांग्रेस ओखलढुंगाले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न २० जनाको नाम सिफारिस गरेको छ । २३ र २४ मंसिर बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गरेको ह।
प्रत्यक्षतर्फ निवर्तमान सांसदसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासहित ६ जनालाई सिफारिस गरिएको छ। प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका लागि खतिवडासहित बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुईटेल र रुद्र अधिकारीको नाम सिफारिस भएको कांग्रेस ओखलढुंगाका सह–सचिव भोजकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनजना महिला नेतृको नाम सिफारिस गरेको छ । बाला अधिकारी, सबिता राई र संगीता तामाङको नाम जिल्लाबाट सिफारिस भएको हो ।
राष्ट्रियसभामा पुरुषतर्फ जयबहादुर श्रेष्ठ, सीताराम श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र टीकाराम कार्कीको नाम सिफारिस गरिएको छ भने महिलातर्फ हेमालक्ष्मी राई, मैया राई र निर्मलादेवी रैकालाई सिफारिस गरिएको छ।
राष्ट्रिय सभामा दलिततर्फ मीनबहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्रबहादुर नेपालीको नाम सिफारिस गरिएको छ।
उम्मेदवारको रुपमा आकांक्षा राख्ने सबैको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको कांग्रेस ओखलढुंगाले जनाएको छ।
बैठकले क्रियाशील सदस्यता नवीकरण सम्पन्न गरेर मंसिर मसान्तभित्र केन्द्रीय समितिमा सिफारिस गर्ने र नयाँ क्रियाशील सदस्यता वितरण सम्पन्न गरी आगामी ७ पुसभित्र केन्द्रीय समितिमा विवरण पठाउनेलगायतको निर्णय गरेको छ।