धनकुटामा प्रथम यःमरी महोत्सव सम्पन्न

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटामा प्रथम यःमरी महोत्सव सम्पन्न भएको छ । धनकुटा नगरपालिका–६ सिरानबजारमा सञ्चालन भएको पाँच दिने यःमरी महोत्सव सम्पन्न भएको हो ।नेपाल भाषा मिसाः खल, नेवा मिसा देय दवू, नेपाल खड्गी समाज, जोशी समाज र शाक्य समाजको सहयोगमा सिरान बजार युवा समुहको संयोजन तथा नेवाः पुच धनकुटामा आयोजनामा प्रथम यःमरी महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा यःमरी र नेवारी खाजाका परिकारहरुको स्टलहरु राखिएको थियो ।

धनकुटा बजारमा नेवारी समुदायको उल्लेख्य बसोबास रहेको छ। नेवारी कला र सस्कृति जोगाउने उद्देश्यले यःमरी महोत्सवको आयोजना गरिएको नेवाः पुच धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले बताए। यःमरी दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा यःमरी, चाँकु, गुँड, खुवा र तिललाई चामलको पीठोभित्र राखेर बनाएको विभिन्न परिकारहरु राखिएको थियो ।

नेवारी भाषामा य भनेको मन पर्ने र मरी भनेको रोटी भन्ने बुझिन्छ । उक्त महोत्सवमा सांस्कृतिको कार्यक्रमहरुको पनि दैनिक आयोजना गरिएको थियो । यस्ता खालका महोत्सवले लोप हुन लागेका विभिन्न जातिसमुदाय तथा धर्मसंस्कृतिको संरक्षण, सम्बर्द्धनमा टेवा पुग्नुको साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने नेवाः पुच धनकुटाका अध्यक्ष शाक्यले बताए । 

सुझावित समाचार