सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा
सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । गत वर्षको फाइनलिस्ट सुदूरपश्चिमले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर वानमा विराटनगर किंग्सविरुद्ध ७७ रनको सानदार जित निकाली लगातार दोस्रोपटक फाइनल पुग्ने पहिलो फ्रेन्चाइज टोली बनेको छ । क्वालिफायर वानमा एकपक्षीय जित हात निकाल्ने क्रममा सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिएका थिए ।
विनोदले एनपिएलमा दोस्रो अर्धशतक बनाएका हुन् । एनपिएलको सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा उनी उक्लिएका छन् । उनले आठ खेलमा २६४ रन जोडेका छन् । पोखराका एडम रोसिंटन ३२३ रनका साथ शीर्ष स्थानमा छन् । चालू एनपिएलमा ७७ रनको ठुलो अन्तरमा पराजित हुुने टोली विराटनगर बनेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको नमिठो हारको बदलासमेत लिएको छ । सुदूरपश्चिमले अब शनिबार क्वालिफायर दुईको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
क्वालिफायर वानमा पराजित विराटनगरसमक्ष फाइनल पुग्न एउटा अवसर पाउनेछ । काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबिचको एलिमिनेटर खेलको विजेतासँग विराटनगरले बिहीबार क्वालिफायर २ मा खेल्नेछ । यस खेलको विजेताले उपाधि भिडन्तमा सुदूरपश्चिमको सामना गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोलीको दोस्रो एनपिएलको यात्रा समाप्त हुनेछ ।
क्वालिफायर वानमा सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर १ सय ५५ रनको मध्यम योगफल खडा गरेको थियो । १ सय ५६ रनको लक्ष्य रक्षा गर्ने क्रममा सुदूरपश्चिमले निकै धारिलो बलिङ प्रदर्शन गरेको थियो । सुदूरपश्चिमका फास्टबलर र स्पिनरका उत्कृष्ट प्रदर्शनअगाडि सहभागी टोलीमध्ये बलियो ब्याटिङ लाइनअप भएको विराटनगर पहिलोपटक कमजोर देखियो । सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिँदा सुदूरपश्चिम ब्याक टु ब्याक फाइनलमा पुग्यो ।
सात बलमा तीन विकेट
विराटनगरले लक्ष्य पछ्याएको इनिङ्समा साम हिजलेट, मार्टिन गुप्तिल, फाफ डु प्लेसिस, लोकेश बम र बसिर अहमादले सहजै जित दिलाउने अपेक्षा राखेको थियो । बलिङमैत्री पिचमा सुदूरपश्चिमका बलरले विराटनगरका यी ब्याट्सम्यानहरूलाई धरापमा राख्दै लक्ष्यभन्दा धेरै अगाडि रोक्न सफल भए । विराटनगरले इनिङ्सको सुरुवात नै खराब गर्यो । इनिङ्सको पहिलो बलमै सामलाई क्याच आउटका रूपमा विराटनगरले विकेट गुमाएको थियो । सामले खराब सट खेल्दा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट हुन पुगे ।
त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटकै सर्वाधिक अनुभवी ब्याट्सम्यानद्वय डु प्लेसिस र गुप्तिल थिए । यी दुई ब्याट्सम्यान सेट हुँदा सुदूरपश्चिमलाई गाह्रो हुने थियो । तर, इनिङ्सको ०.६ ओभरमा डु प्लेसिसले ‘कल’ नगरेको अवस्थामा गुप्तिल रन क्रिज छाडेर दौडिए । डु प्लेसिसले उनलाई फर्काए । बल कहाँ गएको भनी हेर्दै नहेरी क्रिजमा दौडिएका गुप्तिललाई ईशान पाण्डेले रनआउट गरे ।
पहिलो ओभरको समाप्तिमा विराटनगर २–३ को नाजुक अवस्थामा रह्यो । १.१ ओभरमा नरेन भट्टलाई हर्मित सिंहले कुलेजिनबाट क्याच समाप्त लगाए । विराटनगर ३–३ को दयनीय अवस्थामा पुगेको थियो । पहिलो सात बलको अन्तरमा तीन विकेट गुमाएकै कारण विराटनगर खेलमा फर्कन सकेन । सुदूरपश्चिमविरुद्धको पछिल्लो खेलमा विराटनगरले विदेशी खेलाडीकै आक्रामक ब्याटिङका कारण रोमाञ्चक जित निकालेको थियो । तर, क्वालिफायर वानमा उनीहरू सस्तै रनमा आउट हुँदा विराटनगरले खेलको कुनै पनि समयमा सुदूरपश्चिमलाई दबाब राख्न सकेन ।
डु प्लेसिसको एकल प्रयास
सुदूरपश्चिमका बलरले प्रत्येक ओभरमा कसिलो बलिङ गरिरहँदा विराटनगरमा अनुबन्ध दक्षिण अफ्रिकाका पूर्वकप्तान डु प्लेसिसले आफ्नो विकेट बचाइरहेका थिए ।
विकेटको अर्कोछेउमा भने ब्याट्सम्यानले खराब सट खेलिरहँदा पेभेलियन फर्किरहेका थिए । डु प्लेसिसले बसिर अहमदसँग चौथो विकेटका लागि सर्वाधिक ३९ रनको साझेदारी गरेका थिए । विराटनगरको ब्याटिङमा यही साझेदारी सर्वाधिक रह्यो । बसिरले १८ बलमा १२ रन जोडे । उनी इनिङ्सको ६.५ ओभरमा दीपेन्द्रसिंहबाट कट एन्ड बोल्ड भए । उनी आउट हुँदा विराटनगर ४४–४ को अवस्थामा थियो ।
विराटनगरले अन्तिम ६ विकेट केवल ३६ रनको अन्तरमा गुमाएको थियो । इनिङ्सको १०.५ ओभरमा डु प्लेसिसलाई हेमन्त धामीले ज्याक्सनबाट क्याच आउट गराए । लिग चरणमा पनि हेमन्तले नै उनलाई आउट गरेका थिए । डु प्लेसिस आउट भएसँगै सुदूरपश्चिमले सहजै खेल जित्यो । दक्षिण अफ्रिकी खेलाडीले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान दिएका थिए ।
लिग चरणमा उनले १९ बलमा सुदूरपश्चिमविरुद्ध ५० रन जोडेका थिए । विराटनगरको ब्याटिङमा आठ खेलाडीले दोहोरो रन बनाएनन् । बलिङमा स्कट कुलेजिनले तीन ओभरमा नौ रन खर्चेर दुई विकेट हात पारे । हर्मित र अभिनाश बोहराले समान दुई विकेट लिए । हेमन्त र दीपेन्द्रसिंहको नाममा एक–एक विकेट रह्यो ।
खेलपछिका भनाइ
उपाधि उचाल्न एक खेल बाँकी छ : दीपेन्द्रसिंह ऐरी, कप्तान, सुदूरपश्चिम
यो पिचमा सुदूरपश्चिमले जोडेको स्कोर अलि कम थियो । यद्यपि, योगफल रक्षा गर्ने विश्वास सबैसँग थियो । तर, विराटनगरको बलियो ब्याटिङका कारण अलिकति डर भने थियो । लक्ष्य रक्षा गरेको इनिङ्समा सबैले टिमवर्कको भावनामा प्रतिस्पर्धा गरेका थिए । अघिल्लो खेलमा विराटनगरलाई केही गुमाउनु थिएन । उनीहरूलाई दोस्रो स्थानमा पुग्ने मात्र दबाब थियो । विराटनगरले योजनाबद्ध खेल्यो । पहिलो क्वालिफायर भने फरक थियो ।
विराटनगरविरुद्ध अनुभवले काम गर्यो : विनोद भण्डारी, ओपनर, सुदूरपश्चिम
हामीले विराटनगरविरुद्ध पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरिरहँदा गल्तीरहित खेल्ने योजना बनाएका थियौँ । यो जितमा हामी सबैका मिहिनेत छ । कहिलेकाहीँ खेलमा अनुभव आवश्यक पर्छ । विकेट गुमाउँदा दबाबमा थियो । त्यहाँ मैले आफ्नो अनुभव प्रयोग गर्दै खेले । कुन वेलामा कस्तो रणनीति बनाएर खेल्ने भन्ने छलफल भएको थियो । अब फाइनलमा योभन्दा राम्रो हुनेछ । गत वर्ष पनि हामीले फाइनलमा सामान्य गल्तीका कारण हार्यौँ । यसपटक यस्तो हुँदैन ।