दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ। विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको विराटनगरले १४.१ ओभरमा अलआउट हुँदा ७८ रन मात्र जोड्न सक्यो।
खराब सुरुवात गरेको विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमायो। साम हिजलेट पहिलो बलमै आउट हुँदा छैटौँ बलमा मार्टिन गप्टिल रन आउट भए। उनले दुई बलमा दुई रन मात्र बनाउन सके। लगत्तै अर्को बलमा नरेन भट्ट शून्य रनमै आउट भए। विराटनगरका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रनको योगदान गरे। मर्चेन्ट डि लाङ १५ र बसिर अहमद १२ रन जोडेर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका स्कट कुगेलेइन, हर्मित सिंह र अविनाश बोहोराले समान दुई विकेट लिँदा हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले अर्धशतक बनाए। ५२ बल खेलेका उनले तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन जोडेका हुन्। आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन जोड्दा हर्मित सिंह १४, इशान पाण्डे १३ र मुख्तर अहमद १० रन जोडेर आउट भएका थिए।
विराटनगरका प्रतिश जिशी र मर्चेन्ट डि लाङले समान दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट निकाले।