रास्वपाले प्रत्यक्ष चुनाव लड्न इच्छुकसँग पनि माग्यो आवेदन

आवेदन शुल्क २५ हजार, समानुपातिकतर्फ शुल्क ५० हजार

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहनेलाई आवेदन पेस गर्न आह्वान गरेको छ । उम्मेदवार छनोट समिति संयोजक विपिन आचार्यले आइतबार सूचना जारी गर्दै प्रत्यक्षतर्फ पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरूलाई उम्मेदवार छनोटको रूपरेखाबमोजिम उम्मेदवारी आवेदन खुला गरिएको जानकारी दिएका हुन् । 

आचार्यका अनुसार इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् । आवेदन शुल्क २५ हजार तोकिएको छ । विपन्न आवेदनकर्ताका लागि भने कागजात हेरेर शुल्क मिनाहा गर्ने भनिएको छ । रास्वपाले यसअघि १८ मंसिरमै समानुपातिकतर्फ उम्मेदवारी आह्वान गरेको थियो । उम्मेदवारीका लागि आवदेन दिने समय २५ मंसिरसम्म छ । रास्वपाले आन्तरिक रूपमा ‘प्राइमेरी इलेक्सन’ गरेर उम्मेदवार छनोट गर्दै आएको छ ।  

रविलाई भेटेपछि हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले भने– कांग्रेस–एमालेले प्रतिशोध साधे, निष्पक्ष छानबिन हुनुपर्छ
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले रास्वपा सभापति रवि लामिछानेमाथि कांग्रेस–एमालेले प्रतिशोध साधेर अन्याय गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । आइतबार लामिछानेलाई नक्खु कारागारमा भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले कांग्रेस एमालेले नियोजित रूपमा फसाएको टिप्पणी गरे । 

‘त्यही आगोले रवि लामिछानेलाई पोल्ने, त्यही आगोले कांग्रेस एमालेका सहकारी ठगहरूलाई पोल्ने कि नपोल्ने ? त्यही पानीले रवि लामिछानेलाई डुबाउने, त्यही पानीले कांग्रेस एमालेका ठगहरूलाई डुबाउने कि नडुबाउने ?’ उनले प्रश्न गरे, ‘अदालत जनताको हुनुपर्छ । निष्पक्ष छानबिन गरिनुपर्छ ।’ 

सुनारले आफू रविको सट्टामा जेल बस्न तयार रहेको पनि बताए । ‘देशले संकट व्यहोरिरहेको वेला रवि लामिछानेजस्तो होनहार नेतृत्व चाहिने र मिल्छ भने मलाई भित्र राखेर लामिछानेलाई छोडिदिन मिल्छ भने छोडिदिनुस्,’ उनले भने, ‘सबै जनता प्रतिशोधविरुद्ध नक्खु कारागारअगाडि उभिनुपर्छ ।’

सुनारले नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूबिच एकता हुने पनि बताए । ‘जति नयाँ पार्टी बनेका छन्, सबैलाई एकढिक्कामा उभ्याउने सन्दर्भमा उहाँको बुझाइ, भनाइ के छ भनेर बुझ्न आएको हुँ । आसन्न निर्वाचनमा नयाँ दलहरू एकताबद्ध भएर जानुपर्छ । उहाँहरू बागमतीबाट आउनुभएको छ, हामी कर्णालीबाट आएका छौँ । एउटा बिन्दुमा भेट हुन्छ, स्वाभाविक रूपमा मिलेर जान्छौँ,’ उनले भने ।  

See More On

सुझावित समाचार