पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण
  • सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य ११.५ ओभरमा पूरा गर्दा विराटनगर किंग्स दोस्रो स्थानमा उक्लँदै क्वालिफायर वानमा 

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच आगामी मंगलबार प्रतिस्पर्धा हुँदै छ । शनिबार भएको २६औँ खेलमा विराटनगरले लगातार ६ खेलसम्म अपराजित टोली सुदूरपश्चिममाथि सानदार ६ विकेटको जित निकाली दोस्रो स्थान रक्षा गरेको हो । क्वालिफायर वानमा पुग्न काठमाडौं गोर्खाज र विराटनगरबिच होडबाजी थियो । सुदूरपश्चिमलाई निकै फराकिलोअन्तरले हराउँदा मात्र विराटनगर दोस्रो स्थानमा उक्लने थियो । 

सामान्य जित वा हारले विराटनगर तेस्रोमै रहने थियो । यस्तोमा काठमाडौं र सुदूरपश्चिमबिच पहिलो क्वालिफायर खेल हुने समीकरण बन्थ्यो । क्वालिफायर वानमा अगाडि नै प्रवेश गरेको सुदूरपश्चिमलाई हारले केही फरक पर्ने थिएन । तर, सुदूरपश्चिमको योजना भने लिग चरणमा अपराजित रहँदै क्वालिफायर वानमा काठमाडौं वा विराटनगरसँग प्रतिस्पर्धा गर्ने थियो । सुदूरपश्चिमले भने अन्तिम खेलमा सोचेजस्तो नतिजा निकाल्न नसक्दा जितको निरन्तरता दिन सकेन । 

यसै नतिजाले दोस्रो स्थानमा रहेको काठमाडौं तेस्रोमा झर्दै पहिलो इलिमिनेटरमा लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४७ रनको मध्यम योगफल खडा गर्यो । विराटनगरले क्वालिफायर वानमा प्रवेश गर्न सुदूरपश्चिमले दिएको लक्ष्य १३.४ ओभरमा भेट्टाउनु पर्ने थियो । लक्ष्य निर्धारित ओभरमा पूरा गर्न नसक्दा विराटनगरले जित निकाल्दा पनि रनरेटमा तेस्रो हुने थियो । तर, विराटनगरले आवश्यकता रनरेट मात्र पूरा गरेन, पहिलोपटक विस्फोटक ब्याटिङ गरी बलियो सुदूरपश्चिममाथि ११.५ ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनायो । 

विराटनगरको सात खेलबाट १० अंक 
काठमाडौंको समान अंक भए पनि रनरेटको आधारमा तेस्रो भयो । अब, काठमाडौंले लुम्बिनीविरुद्ध बुधबार इलिमिनेटर खेल खेल्नेछ । यसअघि सुदूरपश्चिम र विराटनगरबिचको विजेता फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायर वानमा पराजित हुने टोलीले बुधबार हुने खेलको विजेताविरुद्ध दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले फाइनल स्थान पक्का गरेको पहिलो क्वालिफायरको विजेताविरुद्ध उपाधिका लागि भिड्नेछ । सुदूरपश्चिम १२ अंकसहित टोली शीर्षस्थानमै रह्यो । लुम्बिनी र चितवनसँग पराजित भएको विराटनगरले पोखरा, काठमाडौं, जनकपुर र कर्णालीलाई हराएको थियो । पोखरा एभेन्जर्स, चितवन राइनोज, कर्णाली याक्स र साबिक विजेता जनकपुर लिग चरणबाटै बाहिरिए । 

डु प्लेसिसले बनाए १९ बलमा ५० रन
विराटनगरको जितमा विदेशी खेलाडीहरूको योगदान विशेष रह्यो । दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गुप्टिल र साम हेजललेटले आक्रामक रूपमा ब्याटिङ गर्दैै विराटनगरलाई सुदूरपश्चिमविरुद्ध १३.५ ओभरभित्र जित दिलाए । विराटनगरले आवश्यकताअनुसार सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । ओपनिङमा डु प्लेसिस र हेजललेट आएका थिए । हेजललेट ओपनिङ आएको पहिलोपटक हो । डु प्लेसिस र हेजललेटले पहिलो पावर प्लेमा चौका र छक्काको वर्षा नै गरेका थिए । उनीहरूले पावर प्लेमा ८७ रन जोडेका थिए । जुन चालू एनपिएलकै पावर प्लेमा बनेको सर्वाधिक रन हो ।

डु प्लेसिसले आफ्नो दोस्रो एनपिएल खेलमै केवल १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दै अभिनाश बोहराको ओभरमा विकेट दिन पुगे । यस सिजनमा काठमाडौंका भीम सार्की र सुदूरपश्चिम हर्मित सिंहले पनि १९ बलमा अर्धशतक बनाएका थिए । एनपिएलको इतिहासमा न्युजिल्यान्डका जिमी निसमले गत वर्ष १८ बलमा अर्धशतकको रेकर्ड राखेका थिए । उनको यो रेकर्ड अहिलेसम्म तोडिएको छैन । सुदूरपश्चिमविरुद्ध डु प्लेसिस र हेजललेटले पहिलो विकेटका लागि ७.१ ओभरमा ९७ रनको सानदार साझेदारी गरेका थिए । एनपिएलमा पहिलो अर्धशतक बनाउने क्रममा हेजलवेटले २७ बलमा सर्वाधिक ५१ रन बनाए । उनले चार छक्का र ३ चौका प्रहार गरेका थिए । उनी हर्मित सिंहको ओभरमा विकेटकिपर विनोद भण्डारीबाट क्याच भए । टोलीमा पुनरागमन गरेका गुप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाशले २ तथा हर्मितले १ विकेट लिए । 

आरिफ र ईशानको मात्रै साझेदारी
लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा १ चौका र ३ छक्का हिर्काएका थिए । ईशान पाण्डेले ३८ रन बनाउन ३५ बलमा समान दुई चौका र छक्का प्रहार गरे । उनी सन्दीप लामिछानेको ओभरमा मार्चन्ड डी लिग्नेबाट क्याचआउट भए । तेस्रो विकेटका लागि ईशानले आरिफ सेखसँग ५० बलमा सर्वाधिक ७२ रनको साझेदारी गरे । ७.६ ओभरमा दोस्रो विकेटका रूपमा जोस ब्राउन आउट हुँदा सुदूरपश्चिमले स्कोर बोर्डमा ४२ रन बनाएको थियो । त्यसपछि आरिफ र ईशानले टोलीलाई सम्मानजनक स्कोरतर्फ लगेका हुन् । 

See More On

सुझावित समाचार