अछाममा अन्तरपालिका महिला भलिबल प्रतियोगिता सुरु

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

अछाममा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। ढकारी गाउँपालिकाको आयोजनामा ढकारीको बुडासैन खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले उद्घाटन गरेका छन्। 

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा जिल्लाको मंगलसेन, साँफेबगर, पञ्चदेवल विनायक र कमलबजार नगरपालिका तथा ढकारी, मेल्लेख, चौरपाटी र तुर्माखाँद गाउँपालिकाका नौवटा महिला खेलाडी समूहको सहभागिता रहेको छ। 

यही मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अन्य सात स्थानीय तहका एक-एक समूहले प्रतिस्पर्धामा भाग लिनेछन् भने आयोजक ढकारीका दुई टिमले भाग लिएका छन्।

जिल्लाको रामारोशन र बान्नीगढी जयगढ गाउँपालिकाले भने यो प्रतियोगितामा भाग लिएका छैनन्। यो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः एक लाख ११ हजार १११, ८१ हजार पाँच सय, ५१ हजार, १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा ढकारीलाई हराउँदै मेल्लेख विजयी भएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो प्रतियोगिता आगामी वर्ष जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा हुनेछ। 

दक्ष खेलाडी उत्पादनमा जनप्रतिनिधिद्वारा प्रतिबद्धता

बुडासैन खेल मैदानमा भएको उद्घाटन समारोहमा जिल्लाका अधिकांश जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले खेल क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादनमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रमुख अतिथिका रूपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कुँवरले खेलकुदको विकासका लागि भौतिक संरचनासँगै खेलाडीको क्षमता विकासका कार्यक्रम तय गर्न स्थानीय तहहरूलाई सुझाव दिए। उनले घर दैलोमै राज्य आइपुग्दा पनि अझै खेलाडीका आवश्यकता पहिचान नहुनु चिन्ताको विषय भएको उल्लेख गरे। पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले छोरीहरू घर छाडेर खेल मैदानमा उत्रिनु पनि एक प्रकारको शक्ति प्रदर्शन भएकाले यसले हिंसा अन्त्यमा मद्दत पुग्ने बताइन्। 

विशेष गरी महिला खेलाडीलाई हौसला प्रदान गरी उनीहरूलाई थप दक्ष बनाइने उनको प्रतिबद्धता छ। जिल्लाको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले अछामले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरिसकेकाले अब अन्तर्राष्ट्रियस्तरमा पनि पहुँच विस्तार गर्न खेलाडीहरूसँग आग्रह गरे। त्यसका लागि जिल्लाका सबै स्थानीय तहहरू लगानी गर्न तयार रहेको उनले बताए।

आयोजक पालिका ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफूले खेल क्षेत्रको विकासका लागि सुरुदेखि नै पहल गर्दै आएको भन्दै खेलमा समृद्धि ल्याउने गरी थप पहल गर्ने बताए। उनले पालिकाका प्रत्येक वडामा खेलसम्बन्धी गतिविधिलाई निरन्तरता दिइनेसमेत उल्लेख गरे। 

जिल्लाको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, मंगलसेनका उपप्रमुख संगीता रावल, कमलबजारका उपप्रमुख शारदा विष्ट, पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले पनि खेलकुदको विकासका लागि लगानी लगाउन तयार रहेको उल्लेख गरे। 

राजनीतिक दलका तर्फबाट कांग्रेसका सुरतबहादुर विष्ट, नेपाली कम्युनिस्ट पार्टीका तुलाराम उपाध्याय, नेकपा माओवादीका लोकेन्द्र शाही र सम विकासका कार्यकारी निर्देशक पशुपति कुँवरलगायतले पनि खेल क्षेत्रको विकासमा बाधक नबन्ने प्रतिबद्धता जनाएका छन्।     
 

सुझावित समाचार