कञ्चनपुरको निर्माणाधीन मझगाउँ विमानस्थल निर्माण कार्यमा ढिलाइ भएको छ। ठेक्का भएको ५ वर्ष पुग्दासमेत निर्माण कार्य पूरा भएको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी कान्छाराम केएस उमा एन्ड कम्पनीले सम्झौता भएको पहिलो म्यादभित्रै निर्माण कार्य सम्पन्न गर्न नसकेपछि गत वर्ष एक वर्षका थप गरिएको थियो।
तीन वर्षमा सक्नुपर्ने काम पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन। ९ पुस ०७८मा सम्झौता भई १०माघ ०८१मा सम्पन्न गरिसक्नुपर्ने भए पनि पहिलो म्याद सकिएपछि १ वर्ष थप भएको थियो। १० माघ ०८२भित्रै निर्माण गरिसक्नुपर्ने भए पनि अझै निर्माण कार्य बाँकी नै छ। अब ५०दिन मात्रै बाँकी रहँदा पनि निर्माण कार्य अधुरै रहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागले निर्माण कम्पनीसँग ४५ करोड, ६६ लाख, २४ हजार, ७१४ रुपैयाँमा बोलपत्र स्वीकृत भए पनि ०७८ पुस मसान्तसम्ममा काम सुरु गरेको थिएन।
कान्छाराम केएस उमा एन्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवले धावनमार्ग (रनवे), ड्रेन्च(ढल)निर्माण कार्य जारी रहेको बताए। उनका अनुसार हालसम्म १३ सय मिटर धावनमार्ग निर्माण सम्पन्न भइसकको छ भने सेनाले छाडेको एक सय मिटरमा पनि बेस निर्माण कार्य जारी छ।
कुल १५सय १५मिटरको उत्तर-दक्षिण धावनमार्ग हुनुपर्ने भए पनि जमिन अभावकै कारण ढिलासुस्ती भएको यादवले बताए। ‘सुरुवातमै एयरपोर्टसँग १ किलोमिटर मात्रै रनवे रहेको र त्यसपछि रत्न बाटिकासँग ३ सय मिटर र त्यसभन्दा दक्षिणतर्फ निकुञ्जकै सुरक्षार्थ खटिएको सेनासँग अढाई सय मिटर अधिग्रहण गरेर रनवे १५सय १५मिटर पुर्याएको बताए।
हालसम्म १३ सय मिटर रनवेमा पहिलो लेयरको कालोपत्रे गरिएको छ। केही दिनमै दोस्रो लेयरमा पनि कालोपत्रे गरिने इन्जिनियर यादवले बताए। उनले ७२सिटे एआरटी जहाज सहजै ल्यान्डिङ हुने बताए । सेनाले दिएको डेढ सय मिटरमा सबबेसका कामकाज सुरु भइरहेको छ। ३५सय मिटर ड्रेन(ढल) निर्माणमध्ये हालसम्म २ सय मिटर निर्माण सम्पन्न भएको छ।
चालू आर्थिक वर्ष ०८२/८३को मंसिर तेस्रो सातासम्ममा ८० प्रतिशत भौतिक र ७२ प्रतिशत वित्तीय प्रगति भएको निर्माण कम्पनीको दाबी छ। अझै पनि सेनाले छाडेको अढाई सय मिटरमध्ये १ सय मिटर लिन बाँकी र इआइए गर्न बाँकी रहेको छ।
निर्माण कम्पनीले सुरुवाती चरणमै क्षेत्र क्लियर नभएको रत्न बाटिकादेखि सेनाले जमिन दिन ढिलाइ गरेको, जेन-जी आन्दोलनदेखिका विविध कारणले ढिलाइ भएको, तर अहिले निर्माण कार्य तीव्र रूपमा अघि बढेको दाबी गरेको छ।
२७ पुस ०७८सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको मझगाउँ विमानस्थलको रनवे वृद्धि गर्नुपर्ने बताउँदै रनवे वृद्धि गर्नुपर्ने बताएका थिए। तत्कालीन मन्त्री मगरले भविष्यलाई दुरदृष्ट्रि राख्दै हाल साबिक रहेको १५ सय २५ मिटर वृद्धि गरेर २५ सय मिटर लामो रनवे बनाउनुपर्ने बताएका थिए।
२६ वर्ष नियमित सञ्चालन भई २२ वर्षसम्म बन्द रहेको मझगाउँ विमानस्थल निर्माण कार्य सुरु भएपछि स्थानीय हर्षित भएका थिए। तर, निर्माण कार्यमा ढिलाइ हुन थालेपछि चिन्तित भएका छन्। ०३० सालदेखि ०५६ सालसम्म सञ्चालनमा रहे पनि सरकारले सुरक्षाको कारण देखाएर ०५६ सालदेखि ०८२ हालसम्म बन्द रहेको थियो।
झन्डै ६६ बिघा क्षेत्रफल र १५.२५ मिटर लम्बाइ रहेको विमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ। ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ।
स्थानीय सरकारमध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड ७५ लाख नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिसकेको छ।
मझगाउँ विमानस्थल पुन सञ्चालन समितिका अध्यक्ष रमेशबहादुर चन्दले तीनवटै सरकारको संयुक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो विमानस्थल कञ्चनपुरको मझगाउँ विमानस्थल भएको बताए। अध्यक्ष चन्दले बाल्यकाल स्मरण गराउँदै आफूले मझगाउँ विमानस्थल सुचारु हुँदा कञ्चनपुरबाट सीधै काठमाडाैं गएको बताए।
मझगाउँ विमानस्थल सुचारु नहुँदा यस क्षेत्रका यात्रु मारमा परेका छन्। अतिरिक्त भाडा तिरेर झन्डै ५५६० किलोमिटर धनगढी विमानस्थल जानुपर्ने बाध्यता रहेको छ। विमानस्थल सुचारु नहुँदा यस क्षेत्रका यात्रु कैलालीको धनगढी विमानस्थल भएर यात्रा गर्न बाध्य भएका छन्।
आफ्नै जिल्लामा विमानस्थल सुचारु हुने भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीयले ठेकदारसँग सम्झौताअनुरूप काम सुचारु गर्न सुझाव दिएका छन्।