दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अब ‘क्लाइमेक्स’तिर अग्रसर भइरहेको छ । ठ्याक्कै एक सातापछिको शनिबार (२७ मंसिर) मा एनपिएलले नयाँ विजेता पाउनेछ । साविक विजेता जनकपुर बोल्ट्सले शीर्ष चारभित्र स्थान रक्षा गर्न नसक्दा एनपिएलले दोस्रो संस्करणमै नयाँ विजेता पाउन लागेको हो । यतिवेला उपाधिको दौडमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्समध्ये एक च्याम्पियन हुनेछन् । विराटनगर, काठमाडौं र लुम्बिनी पहिलोपटक शीर्ष चारभित्र समावेश भएका हुन् । पहिलो संस्करणमा कर्णाली याक्ससँग झिनो रनरेटले पछि पर्दा काठमाडौं पाँचौँ स्थानमा रह्यो । पछिल्लो संस्करणमा पुछारमा रहेको लुम्बिनी यसपटक प्ले अफमा पुगेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार लुम्बिनी र जनकपुरको खेलसँगै एनपिएलका ३२ मध्ये २५ खेल समाप्त भएका छन् । दर्शक फ्लड लाइटमा मजा लिइरहेका छन् । त्रिवि क्रिकेट मैदानमा साँझको समयको मौसम चिसो हुन्छ । तर, आठै फ्रेन्चाइजका दर्शकले आआफ्नो टोलीका खेलाडीको हौसला बढाउन मुटु नै काम्ने चिसोको वास्ता गरेका छैनन् । यो खेलाडीप्रतिको दर्शकको अथाह माया नै हो ।
यद्यपि, कहिलेकाहीँ दर्शकको भावनाअनुसार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा प्यारापिटतर्फको माहोल शान्त हुने गर्छ । विश्व क्रिकेटमा एनपिएलको ‘ब्रान्ड भ्यालु’ बढाउन दर्शककै ठुलो भूमिका रहेको छ । उनीहरूले प्रत्येक रन, विकेट, शतक र अर्धशतकमा भरपूर मनोरञ्जन लिइरहेका छन् । यहाँ दर्शकलाई पहिलो प्राथमिकतामा राख्नुको पछाडि प्रतियोगितामा उनीहरूको भूमिका सर्वाधिक रहने गर्छ । चाहे त्यो राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता किन नहोस्, दर्शकको साथ नपाउँदा जतिसुकै लगानी गरे पनि सफल हुन सक्दैन । चालू एनपिएलमा दर्शकले यसको ब्रान्डभ्यालु बढाउने क्रममा प्रत्येक खेलमा उपस्थिति जनाउँदै समर्थन गरिरहेका छन् । २५ खेलसम्मको तथ्यांक केलाउँदा कोहीभन्दा कोही कम छैनन् । विधागत रूपमा हेर्दा भने ब्याटिङमा विदेशी र बलिङमा भने नेपाली बलर चम्किरहेका छन् । अघिल्लो संस्करणको तुलनामा यसपटक नेपाली बलरले विकेट लिने पक्षमा व्यापक सुधार गरेको देखिन्छ ।
विशेषत: कीर्तिपुरको पिचमा फास्ट बलरभन्दा पनि स्पिनरको दबदबा देखिन्छ । चालू एनपिएलमा घरेलु ब्याट्सम्यानको एकनास प्रदर्शन भएन । एक खेलमा चम्किँदा अर्को खेलमा डक आउट भएका छन् । अघिल्लो खेलमा घातक बलिङ स्पेल फ्याँकेका बलर अर्को खेलमा खर्चिलो हुने गरेका छन् । खेलको रमाइलो पक्ष भनेको यही नै हो ।
सर्वाधिक रन बनाउने पोखराका रोसिंटन
दोस्रो एनपिएलमा विदेशी खेलाडीको ब्याटबाट रन निस्किरहेका छन् । शीर्ष चार स्थानसम्म अनुबन्ध भएका विदेशी खेलाडी नै छन् । पाँचौँ स्थानमा मात्र घरेलु ब्याट्सम्यानको उपस्थिति रहेका छन् । इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान एडम रोसिंटनलाई एनपिएल निकै फापेको छ । २५८ रनका साथ उनी सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन् । विराटनगर किंग्सविरुद्ध १०८ रनको शतकीय इनिङ्स खेलेपछि पोखराका यी ब्याट्सम्यान शीर्ष स्थानमा उक्लेका हुन् । प्रतियोगितामा रोसिंटनल १५५.४२ को स्ट्राइकरेटमा ब्याटिङ गरिरहेका छन् । पोखराका लागि ओपनिङमा आउने रोसिंटन सर्वाधिक चौका प्रहार गर्ने खेलाडीमा पर्छन् । उनले ६ खेलमा २७ चौका प्रहार गरेका छन् । एनपिएलमा समान एक शतक र अर्धशतकीय इनिङ्स खेलेका रोसिंटनले १४ छक्का हिर्काएका छन् ।
कर्णालीका मार्क वाटले रोसिंटनलाई पछ्याइरहेका छन् । वाट २४२ रनका साथ दोस्रो स्थानमा छन् । पहिलो तथा दोस्रो स्थानमा केवल १६ रनको दूरी छ । रोसिंटन र वाटबिच सर्वाधिक रन बनाउने होडबाजी नै चलेको छ । धेरै छक्का लगाउने पक्षमा वाट नै अगाडि छन् । उनले अहिलेसम्म २१ छक्का प्रहार गरेका छन् । चितवन राइनोजबाट लगातार दोस्रोपटक मैदानमा देखिएका बोपाराले लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेल्दै सनसनी मच्चाए । उनले ६ खेलमा २ सय ३६ रन जोडेका छन् । पोखराका कुशल भुर्तेल १८६ रनका साथ पाँचौँ स्थानमा छन् ।
सर्वाधिक विकेट लिने नेपाली
यसपटक अचम्मले एनपिएलमा सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष चारसम्म स्वदेशी नै छन् । उनीहरूले समान १२ विकेट लिएका छन् । विराटनगरका कप्तान सन्दीप लामिछाने, सुदूरपश्चिमका अभिनाश बोहरा, काठमाडौं गोर्खाजका साहब आलम तथा काठमाडाैंका कप्तान करण केसीले १२–१२ खेलाडीलाई आउट पारेका छन् । साहब र करणले आआफ्ना पूरै सात खेल पूरा गरिसकेका छन् । उनीहरूको विकेट संख्या बढ्नेछैन । तर, सन्दीप र बोहराले अन्तिम खेलमा विकेट संख्या बढाउने अपेक्षा गर्न सकिन्छ । नपत्याउँदो रूपमा सुदूरपश्चिमका अमेरिकन स्पिनर हर्मित सिंहले सर्वाधिक विकेट लिनेमा बाजी मार्न सक्छन् । यसका लागि उनले कम्तीमा अन्तिम खेलमा चार विकेट लिनुपर्नेछ । त्यो पनि विराटनगरविरुद्ध हो । काठमाडौंंका साहबले आफ्नो अन्तिम खेलमा पोखराविरुद्ध ६ विकेट लिँदै धेरै विकेट लिने सूचीमा आफूलाई समावेश गरेका हुन् ।
दुई शतक र ३१ अर्धशतक
आयोजक क्यानले एनपिएलका लागि नयाँ पिच निर्माण गरेको हो । लगातार १९ दिनसम्म फरकफरक पिचमा ब्याट्सम्यान र बलरले आफ्नो प्रतिभा तिखार्न अवसर पाएका छन् । बलरका तुलनामा दायाँ तथा बायाँहाते ब्याट्सम्यानले बढी नै आक्रामक देखिएका छन् । गत वर्ष एक शतक तथा २८ अर्धशतक बनेका थिए । यसपटक भने दुई शतक तथा ३१ अर्धशतकीय इनिङ्स दर्शकले हेर्न पाएका छन् । अझ एनपिएल एक सातासम्म चल्नेछ । यसक्रममा यो संख्या बढ्न नसक्ने भने होइन । चालू सिजनमा पहिलो शतक कर्णाली याक्सका ब्याट्सम्यान मार्क वाटले बनाएका थिए । उनले लुम्बिनी लायन्सविरुद्ध ४४ बलमा अविजित एक सय १४ रन बनाएका थिए । पोखराका रोसिंटनले विराटनगरविरुद्ध १०८ रनको शतकीय पारी खेले । अर्धशतक लगाउनेमा पुन: एकपटक पोखराका बोपारा अगाडि छन् । उनले तीन अर्धशतक प्रहार गरेका छन् । पोखराका कप्तान कुशल भुर्तेल र कर्णालीका प्रियांक पाञ्चालले समान दुई अर्धशतक बनाएका छन् ।
पहिलो ह्याट्रिक र १८ बलमा अर्धशतक
चालू एनपिएलमा नेपाली स्पिनर र फास्ट बलर हाबी भइरहेका छन् । २५औँ खेलसम्म पिचमा उनीहरूकै दबदबा देखिएको छ । यसमध्ये काठमाडौं गोर्खाजका साहब आलमले एनपिएलमा एक रेकर्ड राखेका छन् । जुन क्रिकेटको छोटो फर्म्याटमा टी–२० मा दुर्लभ नै मानिन्छ । उनले २४औँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसँगै सर्वाधिक ६ विकेट लिए । यो सफलता हात पार्ने उनी एनपिएलकै एक्ला बलर हुन् । आलमको यसै प्रदर्शनको सहयोगमा काठमाडौंले पहिलोपटक प्ले अफ स्थान सुरक्षित गरेको हो । लक्ष्य पछ्याएको पोखराको अन्तिम ओभरमा आलमले १९.१ देखि १९.३ सम्म ऋषि धवन, विपिन खत्री र आकाश चन्दको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनी यतिकैमा रोकिएनन्, इनिङ्सकै अन्तिम बलमा सागर ढकाललाई समेत आउट गर्दै एकै खेलमा आफ्नो ६ विकेटसमेत पूरा गरे । एकै खेलमा ६ विकेट लिने उनी दोस्रो बलर बनेका छन् । गत संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध २८ रन खर्चेर ६ विकेट हात पारेका थिए ।
काठमाडौंका भीम सार्कीले कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडीको नाम दर्ता गरेका छन् । उनले पोखराविरुद्ध १९ बलमा पाँच चौका र चार छक्कासहित अर्धशतक पूरा गरेका थिए । चालू एनपिएलमै भीमभन्दा अघि सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी हर्मित सिंहले काठमाडौं गोर्खाजविरुद्ध १९ बलमा अर्धशतक बनाएका थिए । भीमले हर्मितसँग कम बलमा अर्धशतकीय इनिङ्स खेल्ने रेकर्ड बराबरीसमेत गरेका छन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सका जिमी निसमले १८ बलमै अर्धशतक बनाएका थिए ।
विश्व क्रिकेटका दिग्गज एनपिएलमा
दोस्रो संस्करणको एनपिएल चलिरहे पनि यसले विश्व क्रिकेटमा कुनै समय आफ्नो प्रभुत्व जमाइसकेका क्रिकेटर आएका छन् । अझ खेलाडी मात्र नभएर प्रशिक्षकमा पनि नाम चलेकै छन् । जनकपुर बोल्ट्सले यस सिजनका लागि वेस्ट इन्डिजका पूर्व बायाँहाते खेलाडी शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरेको थियो । प्रशिक्षणको अनुभव त्यति धेरै नभए पनि उनी कुनै समय वेस्ट इन्डिजकै मुख्य ब्याट्सम्यानमा पर्थे । अहिले ठुला नाम गरेका क्रिकेटरमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस हुन् । विराटनगरले उनलाई अनुबन्ध गरेको हो । दुबईको टी–२० लिगपछि उनी एनपिएलसँग जोडिए । लुम्बिनीविरुद्धको पहिलो खेलमा उनको ब्याटिङ जमेनन् । न्युजिल्यान्डका पूर्वखेलाडी जिमी निसम र मार्टिन गुप्टिलले एनपिएलमा निरन्तरता दिएका छन् । निसिमले लिग चरणका खेल पूरा नगर्दै दुबई हानिए । गुप्टिल विराटनगरमै छन् । यसैगरी, इंग्ल्यान्डका पूर्वओपनर ज्यासन रोय पनि पोखरामा जोडिए । उनले ब्याटिङमा आफ्नो कला देखाइसकेका छन् । अफगानिस्तानका अलराउन्डर गुल्बिदिन नैव पाँच खेल खेलेर फर्किए । श्रीलंकाली विकेटकिपर निरोसन डिक्वेला पनि लुम्बिनीमा छन् । पाकिस्तानका अलराउन्डर माज सदाकत र श्रीलंकाली लाहिरू मिलान्था पनि एनपिएलमै छन् ।
एक इनिङ्समा उच्च योगफल
चालू सिजनको एनपिएलमा फरक–फरक टोलीले समान एकपटक दुई सय रन योगफल बनाए । विपक्षीविरुद्ध ठुलो योगफल बनाउने विराटनगर किंग्स पहिलो टोली हो । विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । यसैगरी, पोखराले कर्णाली याक्ससँगको २१औँ खेलमा २०१ रन जोडेको थियो । यस खेलमा पोखराका रोसिंटनले ५८ बलमा १०८ रन बनाउँदा पोखराले दुई सय रन कटाएको थियो । त्यसपछि सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । एनपिएलमा सबैभन्दा ठुलो रनअन्तरको जित भने विराटनगर किंग्स र काठमाडौं गोर्खाजका नाममा छन् । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । काठमाडाैंले चितवन राइनोजलाई पनि ५३ रनले पराजित गरेको थियो । विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित भने कर्णाली याक्सको नाममा छ । कर्णालीले लुम्बिनी लायन्सलाई ४६ बल बाँकी रहँदै नौ विकेटले हराएको थियो ।
पाँचपटक शतकीय साझेदारी
एनपिएलमा अहिलेसम्म पाँचपटक मात्र शतकीय साझेदारी भएका छन् । रोचक पक्ष के छ भने चारमध्ये तीन साझेदारी दोस्रो विकेटका लागि भएका थिए । पहिलो विकेटका लागि दुईपटक शतकीय साझेदारी भयो । सबैभन्दा ठुलो साझेदारी एक सय ३२ रन हो । विराटनगरका लोकेश बम र मार्टिन गुप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि सो साझेदारी गरेका थिए । यसैगरी, दोस्रो ठुलो साझेदारी पोखराका ज्यासन रोय तथा रोसिंटनले कर्णालीविरुद्ध १२७ रनको दोस्रो विकेटमा रन जोडे । इंग्ल्यान्डका दिग्गज खेलाडी रोयले आफ्नो पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका थिए । तेस्रो ठुलो साझेदारी अविजित एक सय २३ रन हो । कर्णालीका वाट र विल बोसिस्टोले लुम्बिनी लायन्सविरुद्ध दोस्रो विकेटका लागि सो साझेदारी गरेका थिए । यसैगरी, चितवनका अर्जुन साउद र डेभिड मालानले जनकपुरविरुद्ध पहिलो विकेटका लागि ११२ रन जोडेका थिए । सुदूरपश्चिमका जोस ब्राउन र विनोद भण्डारीले पहिलो विकेटका लागि पोखराविरुद्ध १०९ रन बनाएका थिए ।
सबैभन्दा महँगो ओभर
काठमाडौं गोर्खाजविरुद्ध लुम्बिनी लायन्सका मुख्य बलर रुवेन ट्रम्पलम्यानले एउटै ओभरमा ३१ रन खर्चिए । एनपिएलको इतिहासमै यो सबैभन्दा महँगो ओभर सावित भयो । यस ओभरमा काठमाडौंका कप्तान करण केसीले रुवेनविरुद्ध एक्लैले २८ रन बटुलेका थिए । ट्रम्पलम्यानको पहिलो बलमा करणले छक्का, त्यसपछि नो बलमा चौका प्रहार गरे । अर्को बलमा करणले छक्का हिर्काए । त्यसपछिको बलमा पनि करणले छक्का नै प्रहार गरे । चौथो बलमा लेग बाईबाट एक रन आयो । पाँचौँ बलमा आदिल आलमले एक रन लिए । अन्तिम बलमा करणले छक्का हिर्काए । समग्रमा १९औँ ओभरमा काठमाडौंले ३१ रन बटुलेको थियो । यही ओभरकै कारण काठमाडौंले लुम्बिनीलाई हराएको थियो ।