पुजारी हत्या प्रकरणमा अभियुक्त रहेका सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल ‘अदालतमा हाजिर हुन्छु’ भन्दै फरार भएका छन् । ०५५ मा सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या मुद्दामा फरार सातजनामध्येका प्रतिवादी मण्डल ०७९ को निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
पक्राउ पुर्जी जारी भएका मण्डल गाउँपालिका अध्यक्ष रहे पनि प्रहरीले पक्राउ नगरेको भन्दै नयाँ पत्रिकाले १७ मंसिरको अंकमा समाचार प्रकाशन गरेपछि प्रहरी प्रशासनले चासो दिएको थियो । मण्डल शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताए ।
‘उहाँले शुक्रबार अदालतमा हाजिर हुन्छु भन्नुभएको थियो । तर, बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ । प्रहरीले खोज्दै छ,’ उनले भने । मण्डल फरार भएको बताइए पनि प्रहरीको मिलेमतोमा भगाइएको आरोप छ । किनकि उनी समाचार प्रकाशन भएकै दिन १७ मंसिरमा प्रहरीकै सुरक्षामा पालिकाकामा भएको कार्यक्रममा पुगेका थिए । प्रहरीले पक्राउ गरेको थिएन । नयाँ पत्रिकाले शुक्रबारको अंकमा यससम्बन्धी समाचार प्रकाशन गरेपछि भने उनी फरार भएका हुन् ।
एमाले जिल्ला सचिव देवनाथ यादवले भने पालिका अध्यक्ष मण्डल आफ्नो सम्पर्कमै रहेको दाबी गरे । उनी फरार अभियुक्त नरहेको दाबी गर्दै यादवले भने, ‘अदालतमा मुद्दा छ, त्यसमा अदालतले जान्ला मलाई थाहा भएन । तर, उहाँ हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’ गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मण्डलसहित सातजनाविरुद्धको मुद्दा मुल्तबीमा राखेको थियो । तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको देखिन्छ । पुजारी हत्या मुद्दामा मण्डल, उनका बुवा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा मुद्दा चलेको थियो ।
तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो । हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका मण्डलका बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या घटना भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ ।
मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए । तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बचा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा छ । तर, पुजारी बेपत्ता भएकोे १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो । उक्त अस्थिपञ्जर (हड्डी)को राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षण भएको देखिन्छ ।
मण्डल सम्पर्कविहीन भएपछि सम्पत्ति रोक्का
मण्डल सम्पर्कविहीन भएपछि सप्तरी प्रहरीले पुरानै पत्र पठाएर उनको सम्पत्ति रोक्का गराएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट शुक्रबार आएको पत्रअनुसार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष)समेतको सम्पत्ति रोक्का भएको भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख किशोर रामले बताए । ‘प्रहरी कार्यालयबाट पत्र प्राप्त भएको छ, त्यहीअन्तर्गत गाउँपालिका अध्यक्ष मण्डल र उनका बुवाको सम्पत्ति रोक्का भएको हो, अन्य पाँचजनाको पनि सम्पत्ति खोजी हुँदै छ । उनीहरूको पनि सम्पत्ति रोक्का हुन्छ,’ उनले भने ।
उपाध्यक्षलाई बाइपास गरेर वडाध्यक्षलाई कार्यवाहक
अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक अधिकार दिनुपर्ने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै अध्यक्ष ओमप्रकाश मण्डलले वडाध्यक्षलाई कार्यवाहक दिएका छन् । उनले १९ मंसिरबाट लागू हुने गरी ४ नम्बरका वडाध्यक्ष अशोककुमार साहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । अध्यक्ष मण्डल र वडाध्यक्ष साह दुवै एमालेबाट निर्वाचित हुन् । उपाध्यक्ष रेणु मण्डल भने जसपाबाट निर्वाचित हुन् । उपाध्यक्ष रेणुले कानुनविपरीत वडाध्यक्षलाई कार्यवाहक दिइएकाले कानुनअनुसार अगाडि बढ्ने बताइन् । ‘शुक्रबार कार्यालय जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएको कुरा थाहा पाएँ, मलाई थाहा भएअनुसार उपाध्यक्षलाई दिनुपर्ने हो, कानुनमा थप के–कसो रहेछ बुझ्दै छु । त्यसैअनुसार गर्नेछु ।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने प्रावधान छ । यसअघि पनि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा यस्तै निर्णय गरिएकोमा अदालतले रोक लगाएको थियो ।