- सुदूरपश्चिमसहित काठमाडौं, विराटनगर र लुम्बिनी पहिलोपटक शीर्ष चारमा । पोखरा, चितवन र जनकपुर प्लेअफबाट बाहिरिए ।
लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार साबिक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराएको छ । लुम्बिनीको एक जितेले प्लेअफ दौडमा रहेका जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज लिग चरणबाटै बाहिरिएका छन् । चालू एनपिएलमा लुम्बिनी प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स शीर्ष तीनभित्र रहँदै प्लेअफमा पुगेका थिए । हारसँगै जनकपुरले उपाधि रक्षा गर्न सकेन ।
लुम्बिनीमाथि जित निकाल्दा जनकपुरसँगै चितवन र पोखराका पनि आशा कायमै हुन्थे । तर, लुम्बिनीको जितले तीन टोलीका शीर्ष चारमा छनोट हुने आशा समाप्त भएका छन् । दोस्रो एनपिएलमा सुदूरपश्चिम मात्र अहिलेसम्म ६ वटै खेलमा अपराजित रहने टोली हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनी र जनकपुरबिच महत्वपूर्ण खेल भएको थियो । यसै खेलको नतिजाले प्लेअफमा पुग्ने चौथो र बाहिरिने टोलीहरूको समीकरण तयार भएको थियो ।
जनकपुरले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३२ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लुम्बिनीले १९ ओभरमा ६ विकेट गुमाएर चौथो जित निकाल्दै प्लेअफ स्थान सुनिश्चित गर्यो । इनिङ्सको पहिलो बलमै सुमित महर्जनको विकेट गुमाएको लुम्बिनीका लागि डार्सी सर्ट र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । डार्सीले २४ बलमा ३० रन र रोहितले ३२ बलमा ३४ रनको योगदान दिए । जेजे स्मिटले १० बलमा २१ रन तथा दिलीप नाथले १५ रन बटुल्दा जनकपुर पराजित भयो ।
खेल नगुमाएको सुदूरपश्चिम
चालू एनपिएल सुदूरपश्चिमले आक्रामक प्रदर्शन गरिरहेको छ । ६ वटै खेलमा ब्याटिङ–बलिङमा सुदूरपश्चिमले विपक्षीविरुद्ध दबाब राख्यो । सुदूरपश्चिमको प्रदर्शनमा विदेशी तथा स्वदेशी खेलाडीले योगदान दिएका छन् । अहिलेसम्म पाँच खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका छन् । प्लेअफ स्थान पक्का गर्न सुदूरपश्चिमले काठमाडौंलाई २९ रन, पोखरालाई १८ रन, कर्णालीलाई ४५ रन, लुम्बिनीलाई सात विकेट, जनकपुरलाई ६ तथा चितवनलाई ४९ रनले पराजित गरेको थियो । बलर अभिनाश बोहराले सर्वाधिक १२ विकेट लिएका छन् । ब्याटिङतर्फ ओपनर विनोद भण्डारीले एक अर्धशतकसहित एक सय ८६ रन बनाएका छन् । साथै अमेरिकाका हर्मित सिंह र कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका छन् ।
मोन्टीको साथ पाएको काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई गत वर्ष आइसिसी टी–२० विश्वकप, एसिया–कप तथा एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गराएका जादुमयी प्रशिक्षक मोन्टी देसाईको साथमा काठमाडौं पहिलोपटक प्लेअफमा पुगेको हो । काठमाडौंले लगातार चार खेलमा जित निकाली शीर्ष चारभित्र आफूलाई समावेश गरेको छ । काठमाडौंले सातमध्ये पाँच खेल जितेको छ । प्रतियोगिताकै उद्घाटन खेलमा काठमाडौंले अप्रत्याशित रूपमा साबिक विजेता जनकपुरलाई पाँच विकेटले हराएको थियो । त्यसपछि काठमाडौं सुदूरपश्चिमसँग २९ र विराटनगरसँग २२ रनले पराजित हुँदा दबाबमा आयो । ब्रेकपछि रणनीति परिवर्तन गरेको काठमाडौंले लुम्बिनीविरुद्ध २२ रन, चितवनविरुद्ध ५३, कर्णालीविरुद्ध पाँच विकेट तथा पोखराविरुद्ध १३ रनको जित निकाल्दै प्लेअफ पक्का गरेको हो । काठमाडौंका शाहवले पोखराविरुद्ध एकै खेलमा ह्याट्रिकसँगै ६ विकेट लिएका थिए । उनी र करण केसीले पनि १२ विकेट लिएका छन् । मिलिन्द कुमारले पनि १० विकेट हात पारेका छन् । ब्याटिङमा काठमाडौंका बेन चार्लस्वर्थ एक सय ९७ रनको पाँचौँ स्थानमा छन् ।
स्टार खेलाडीले भरिएको विराटनगर
गत सिजनमा विराटनगरको प्रदर्शन गतिलो भएन । यसपटक विराटनगरले विदेशी तथा घरेलु खेलाडी अनुबन्ध गर्न राम्रो खर्च गरेको छ । यसैको प्रतिफल विराटनगर पहिलोपटक प्लेअफमा पुगेको छ । नेपाली खेलाडीको औसत प्रदर्शन गरिरहँदा विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । ६ खेलमा चार जित निकाल्दै विराटनगर आठ अंक जोडेर तेस्रो स्थानमा छ । पछिल्लो खेलमा चितवन राइनोज पराजित हुँदा विराटनगर एक खेलअगाडि नै प्लेअफमा पुगेको हो । विराटनगरले पहिलो खेलमै पोखरालाई ५३ रन, काठमाडौंलाई पाँच विकेट तथा तेस्रो खेलमा जनकपुरलाई नौ रनले हरायो । त्यसपछि चौथो खेलमा कमजोर देखिएको चितवनसँग ४८ रनले पराजित भयो । पाँचौँ खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको विराटनगर छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो । विराटनगरले न्युजिल्यान्डका मार्टिन गुप्टिलसँगै दक्षिण अफ्रिकाका फाफ डुप्लेसिसलाई अनुबन्ध गरेको छ । सन्दीप लामिछाने १२ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।
उत्कृष्ट पुनरागमन गरेको लुम्बिनी
एनपिएलको मध्यतिर लुम्बिनीको प्लेअफ दौड कमजोर बनेको थियो । तर, लगातार तीन खेलमा जित निकाली लुम्बिनी पहिलोपटक प्लेअफमा पुग्यो । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चौथो स्थान रक्षा गर्न चितवनलाई ६ विकेट, पोखरालाई तीन विकेट, विराटनगरमाथि पाँच विकेट तथा जनकपुरलाई चार विकेटले हराएको थियो । लुम्बिनी लगातार तीन खेलमा पराजित भएको थियो । काठमाडौंसँग २२ रन, सुदूरपश्चिमबाट सात विकेट तथा कर्णालीबाट नौ विकेटको हार लुम्बिनीले व्यहोरेको थियो । लुम्बिनीका शेर मल्लले १० विकेट तथा कप्तान रोहितले दुई सय आठ रन बनाएका छन् ।
क्वालिफायर एकमा सुदूरपश्चिम
लगातार ६ खेलमा जित निकालेको सुदूरपश्चिमको शीर्ष स्थान सुरक्षित छ । दोस्रो स्थानमा रहेको काठमाडौंले सात खेलबाट १० अंक जोडेको छ । तेस्रो विराटनगरको आठ अंक छ । सुदूरपश्चिमलाई शनिबार हराउँदा पनि विराटनगर शीर्ष स्थानमा पुग्न सक्दैन । क्वालिफायर एकमा अब सुदूरपश्चिमले काठमाडौं र विराटनगरमध्ये एक टोलीलाई प्रतिद्वन्दीका रूपमा पाउनेछ । सुदूरपश्चिमसँग पराजित हुँदा विराटनगर तेस्रो स्थानमै रहनेछ । यो नतिजा निस्किँदा क्वालिफायर एकमा सुदूरपश्चिम र काठमाडौंबिच फाइनल प्रवेश खेल हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । उसले दुई खेलको नतिजापछि आफ्नो प्रतिद्वन्द्वी पाउनेछ । क्वालिफायर एकमा पराजित टोलीले तेस्रो र चौथो स्थानमा रहेका टोलीबिचको विजेताविरुद्ध खेल्नेछ । त्यसपछि मात्र फाइनल पुग्ने दोस्रो टोलीको छिनोफानो हुनेछ । दोस्रो स्थानमा रहेको काठमाडाैंभन्दा विराटनगर दुई अकंले पछि छ । विराटनगरले ठुलो अन्तरले जित निकाले सुदूरपश्चिमविरुद्ध खेल्नेछ ।