मीना र रश्मि चम्किएपछि एपिएफको सानदार सुरुवात

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

स्ट्राइकरद्वय मीना देउवा र रश्मिकुमारी घिसिङ चम्किएपछि नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नासरिन स्पोर्टस क्लबलाई ४–० ले हराउँदै सानदार सुरुवात गरेको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफलाई जित दिलाउन मीना र रश्मिले समान दुई गोल गरे । नेपाल पुलिस क्लबकी मीना यही प्रतियोगिताका लागि एपिएफमा आबद्ध भएकी हुन् । पहिलो हाफमा एक गोल गरेको एपिएफले दोस्रो हाफमा तीन गोल गरेको थियो । 

एपिएफलाई रश्मिले खेलको ३७औँ मिनेटमा अग्रता दिलाइन् । उनले मीनाकै पास सदुपयोग गरेकी थिइन् । मीनाले ७०औँ मिनेटमा अग्रतालाई दोब्बर बनाइन् । १० मिनेटपछि नै रश्मिले अग्रता ३–० को अग्रता बनाइन् । मीनाले इन्जुरी समयमा चौथो गोल गरेकी हुन् । 

आज नै भएको पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सफोर्ट युनाइटेड एफसीले गोलरहित बराबरी खेले । प्रतियोगितामा यी चार टोलीसहित भारतको इस्ट बंगाल सहभागी भएको छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यस क्षेत्रका महिला फुटबल खेलाडीको स्तरवृद्धि गर्न पहिलोपटक यो प्रतियोगिता आयोजना गरेको हो ।

सुझावित समाचार