राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका रूपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले पदभार ग्रहण गरेका छन्।
गत सातादेखि रिक्त रहेको सदस्यसचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव मेहतालाई जिम्मेवारी दिएको हो।
खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा १२ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयको मंसिर १६ गतेको निर्णयअनुसार जिम्मेवारी दिइएको छ। यही मंसिर १२ गते टंकलाल घिसिङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरी बिदा लिएपछि सदस्यसचिवको पद रिक्त थियो।
परिषदमा पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरूलाई सदस्यसचिव मेहताले सुशासन र पारदर्शी रूपमा कानुनसम्मत कार्य सम्पादन गर्न निर्देशन दिए। आफू सदस्यसचिवको पदमा रहुन्जेल परिषदमा नमुनायोग्य काम गर्ने पनि उल्लेख गरे।
परिषद्का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा संगठन संरचना तथा व्यवस्थापन सर्भेलगायतका काम प्रमुख दायित्व भएको उल्लेख गरे।
मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरू कमल भट्टराई, भानबहादुर चन्द, बोर्ड सदस्यहरू, परिषदका विभाग र शाखा प्रमुख तथा कर्मचारीहरूले स्वागत गरे।