दुमी किराँत राई फन्सिकिमको केन्द्रीय अध्यक्षमा ऋखिश्वर सरचु दुमी राई चयन

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

दुमी किराँत राई फन्सिकिमको केन्द्रीय अध्यक्षमा ऋखिश्वर सरचु दुमी राई चयन भएका छन् । दुमी किराँत राईहरूको उदगमस्थल मानिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीस्थित रुधालुङमा गएराति सम्पन्न फन्सिकिमको आठौँ राष्ट्रिय महाधिवेशनले ऋखिश्वरलाई अध्यक्षमा चयन गरेको हो । सर्वसम्मत चयन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मुरह दुमी राई, दुई उपाध्यक्षहरूमा तेजमाया मुरह दुमी राई र शिवकुमार दिम्माचु दुमी राई तथा महासचिवमा प्रकाश दिम्माचु दुमी राई रहेका छन् । २१ सदस्य केन्द्रीय समितिको दुई सचिवमा हर्कजङ तुराचु दुमी राई र लवकुमार लुप्पो दुमी राई तथा कोषाध्यक्षमा मातेराज सत्म दुमी राई चयन भएको नवनिर्वाचित महासचिवले जानकारी दिए । 

समितिको सदस्यहरू सन्तोष सत्म दुमी राई, धनचन्द्र दिम्माचु दुमी राई, कृष्ण हदी दुमी राई, वसन्त लुप्पो दुमी राई, कृष्ण सत्म दुमी राईलगायत रहेका छन्। समितिको सल्लाहकारमा पूर्वसांसद टंक कम्रचु दुमी राई, पूर्वगाविस अध्यक्ष बलराम सरचु दुमी राई, क्याप्टेन नैनबहादुर सत्म दुमी राई, गणभक्त सत्म दुमी राई, हीरामणि सत्म दुमी राई र रामबहादुर खबचु दुमी राई रहेका छन्।  

नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई फन्सिकिमका संस्थापक अध्यक्ष एवं संस्कृतिविद् चतुरभक्त सत्म दुमी राईले तीन चुल्हा साक्षी राखेर पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। ‘पुर्ख्यौली  ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महाधिवेशनको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गरेका थिए ।  

महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखानलगायतका कार्यक्रम प्रदर्शन गरिएको थियो । किराँत राई संस्कार तथा संस्कृति झल्कने स्टलहरू राखिएको महाधिवेशनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष इखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किराँत पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातंकुलगायतको उपस्थिति थियो। 

माझ किराँत भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्रांगणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन उद्घाटन कार्यक्रममा दुमी किराँत राईहरूको वंशावलीसमेत विमोचन गरिएको छ। कीर्तिपुर क्याम्पसका पूर्वसहप्राध्यापक एवं संस्कृतिविद् चतुरभक्त राईले संकलन, लेखन तथा सम्पादन गरेको ९५० पृष्ठको वंशावलीमा दुमी किराँत राईहरूको २२ पाछा तथा ११ सामायी समेटिएको छ । 

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किराँत राईहरूको वंशावली संकलन, लेखन तथा सम्पादन गर्ने संस्कृतिविद् राईलाई फन्सिकिमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । किराँत यले संवत् (यल थो ५०८५)को अवसर पारेर आयोजना गरिएको महाधिवेशनमा शुभकामना आदान–प्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदान–प्रदान गरिने फन्सिकिमका निवर्तमान अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिए ।

दुमी किराँत राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरूको उदगम थलो मान्ने गरेका छन् । आफ्नो थातथलोमा जम्मा भएर राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको दुमी किराँत राईहरूले उँधौलीको अवसर पारेर आज (बिहीबार) किराँत ऐतिहासिकस्थल रूपाकोटगढीमा भूमे पूजा तथा साकेला सिली प्रदर्शन कार्यक्रम आयोजना गरेको छ । 

सुझावित समाचार