एनपिएल : प्लेअफमा पुग्न विराटनगरलाई एक जित आवश्यक

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

प्लेअफमा पुग्ने र सम्भावना बलियो राख्ने समीकरण बनेको प्रतिस्पर्धामा विराटनगर र लुम्बिनी हार्न चाहँदैनन् 

दोस्रो एनपिएलको प्लेअफ स्थान पक्का गर्न विराटनगर किंग्सलाई एक जित आवश्यक रहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगरले बुधबार लुम्बिनी लायन्सको सामना गर्दै छ । विराटनगर विजयी हुँदा १० अंकका साथ प्लेअफमा पुग्नेछ । विराटनगसँग पराजित हुँदा लुम्बिनी गणितीय आधारमा मात्र प्लेअफमा पुग्ने सम्भावना रहनेछ । तर, विराटनगरलाई हराउँदा लुम्बिनीको शीर्ष चारको सम्भावना बलियो हुनेछ । यस्तो अवस्थामा विराटनगरले अर्को खेलको नतिजा कुर्नुपर्नेछ । 

प्लेअफमा पुग्ने र सम्भावना बलियो राख्ने समीकरण बनेको प्रतिस्पर्धामा विराटनगर र लुम्बिनी हार्न चाहँदैनन् । लगातार तीन खेलमा जित निकालेको विराटनगर उत्कृष्ट लयमा छ । लगातार तीन हारपछि लुम्बिनीले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । यसै जितले लुम्बिनीको पनि शीर्ष चारमा रहने सम्भावना जीवितै बनेको हो । विराटनगरको सबैभन्दा बलियो पक्ष नै ब्याटिङ हो । 

दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय खेलका अनुभवी खेलाडी फाफ डु प्लेसिसको आगमनमा विराटनगर हौसिएको छ । उनी आएसँगै विराटनगरको मध्यक्रम थप बलियो देखिएको छ । विश्व क्रिकेटमै फरक नाम कमाएका डु प्लेसिसले आफ्नो पहिलो एनपिएलमा प्रभाव छाड्ने बताएका छन् । 

लुम्बिनीको ब्याटिङ भने औसत छ । चालू एनपिएलमा उसका कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका छैनन् । ब्याटिङमा कप्तान रोहित पौडेल मात्र चलेका छन् । उनले औसत ३० रनमाथि ब्याटिङ गरिरहेका छन् । लुम्बिनीबाट सर्वाधिक रन बनाउने खेलाडीमा उनी अगाडि छन् । यद्यपि, लुम्बिनीमा सन्दीप जोरा, सेर मल्ल तथा डार्ची सर्टजस्ता आक्रामक ब्याट्सम्यान भए पनि सोचेजस्तो योगदान दिन नसक्दा मध्यक्रम कमजोर देखिएको हो । 

बलिङमा विराटनगरसँग लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन् । उनी एनपिएलकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । डी लागे, प्रतिश जिसी र सुभम राञ्जनेले सुरुदेखि नै विकेट लिने क्षमता राख्दा लुम्बिनीका ब्याट्सम्यान उनीहरूविरुद्ध सजक भएर खेल्नु पर्ने अवस्था छ । पहिलो सिजनमा विराटनगरले कीर्तिमानी लक्ष्य पछ्याउँदा लोकेश बम तथा बसिर अहमादले उत्कृष्ट ब्याटिङ गरेका थिए । 

प्लेयर्स टु वाच

बसिर अहमाद (विराटनगर)
विराटनगर किंग्सले प्लेअफ आशा बलियो बनाउन बसिरले अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । कर्णाली याक्ससँग लगभग गुमाइसकेको खेलमा उनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरी विराटनगरलाई असम्भव जित दिलाएका थिए । उनले कर्णालीविरुद्ध ६२ रनको नटआउट इनिङ्स खेलेका थिए । चालू एनपिएलमा चितवन राइनोजबाहेक अन्य खेलमा उनको ब्याटिङ चलिरहेको छ । उनी चितवनसँग डकआउट भएका थिए । जनकपुरविरुद्ध ३६ रन तथा पोखरा एभेन्जर्ससँग उनले २३ रनको योगदान दिएका थिए । ब्याटिङसँगै स्पिन बलिङ गर्न सक्ने क्षमता भएका बसिरले लुुम्बिनी लायन्सविरुद्ध आफ्नो फर्मलाई निरन्तरता दिनेछन् । 

फाफ डु प्लेसिस (विराटनगर) 
दोस्रो एनपिएलमा विदेशी खेलाडीमध्ये सर्वाधिक चर्चित नाम डु प्लेसिस हो । दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रही सकेका डु प्लेसिस इन्डियन प्रिमियर लिगको विजेतासमेत हुन् । उनको यो पहिलो एनपिएल हो । दुबईमा फ्रेन्चाइज लिगमा सहभागी भएर उनी सीधै एनपिएल खेल्न आएका हुन् । टी–२० फम्र्याटमा उनी आक्रामक रूपमा ब्याटिङ गर्छन् । दक्षिण अफ्रिकाबाट ५० टी–२० आईमा उनले एक शतक तथा १० अर्धशतकीय इनिङ्स खेलेका छन् । उनीसँग टेस्टमा १० तथा एकदिवसीय खेलमा १२ शतकको रेकर्ड छ । नेपाली दर्शकअगाडि एनपिएल खेल्न उनी निकै उत्साहित छन् । 

रोहित पौडेल (लुम्बिनी)
विराटनगरसँगको महत्वपूर्ण खेलमा लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा गरिरहँदा कप्तान रोहितबाट उत्कृष्ट ब्याटिङ अपेक्षा राखेको छ । चालू एनपिएलमा लुम्बिनीबाट व्यक्तिगत सर्वाधिक रन बनाउने सूचीमा उनी अगाडि छन् । रोहितले पाँच खेलमा पाँचै इनिङ्स ब्याटिङ गरी १ सय ७४ रन जोडेका छन् । उनले १ सय ७५ बलमा ११ चौका र चार छक्का प्रहार गरे । उनी एकपटक ४९ रनमा रोकिएका थिए । लुम्बिनीको मध्यक्रम सम्हालिरहेका उनले साझेदारीमा समेत राम्रो योगदान दिइरहेका छन् । विराटनगरको स्पिन बलिङ आक्रमणविरुद्ध रोहितले डटेर सामना गर्नेछन् । 

रुवेन ट्रम्पलम्यान (लुम्बिनी)
लुम्बिनीका फास्ट बलर रुवेन आशा गरेका खेलाडीमा पर्छन् । उत्कृष्ट फर्ममा रहँदा उनको बलमा सहजै विपक्षी ब्याट्सम्यान बिट हुने गर्छन् । चालू एनपिएलमा उनले धारिलो बलिङ गर्न सकिरहेका छैनन् । तर, विराटनगरविरुद्धको खेलमा उनले आफू जिम्मेवारीपूर्वक प्रतिस्पर्धा गर्ने बताएका छन् । चालू एनपिएलमा उनले अहिलेसम्म ६ विकेट लिएका छन् । लुम्बिनी र कर्णालीसँगको खेलमा उनी विकेटविहीन भएका थिए । ब्याटिङमा उनले कर्णालीसँगै खेलमा २९ रन जोडेका थिए । बायाँहाते फास्ट बलरले विराटनगरका दायाँहाते ब्याट्सम्यानलाई समस्यामा राख्न सक्छन् । 

See More On

सुझावित समाचार