बजेट कार्यान्वयनको समग्र प्रगति कमजोर

अर्थतन्त्रसम्बन्धी बजेटका ७४ बुँदामध्ये ३८ को कार्यान्वयन शून्य

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बजेट कार्यान्वयनको समग्र प्रगति निराशाजनक देखिएको छ । बजेटले घोषणा गरेका कार्यक्रम तथा आयोजनाको कार्यान्वयन प्रगति कमजोर देखिएको नेपाल उद्योग परिसंघले गरेको अध्ययनले देखाएको हो । अध्ययनले बजेटमा समेटिएका अर्थतन्त्रसम्बन्धी ७४ बुँदामध्ये ५१ प्रतिशतको कार्यान्वयन शून्य देखाएको छ । जम्मा २.४ प्रतिशत बुँदा मात्रै पूर्ण कार्यान्वयनमा गएको छ । बजेटका अर्थतन्त्रसँग सम्बन्धित ७४ बुँदामध्ये ४६ प्रतिशतमा आंशिक प्रगति मात्रै देखिएको हो । 

परिसंघले मंगलबार ‘बजेट वाच’ प्रतिवेदनमार्फत पहिलो त्रैमासको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो । कुल ७४ बुँदामध्ये ३८ बुँदाको कार्यान्वयन शून्य देखिएको छ । अर्थात्, बजेटमा समेटिएका अर्थतन्त्रसम्बन्धी ३८ वटा बुँदाको काम नै सुरु भएको छैन । अघिल्लो सरकारले ल्याएको बजेट वर्तमान सरकारले अपनत्व नै नलिएको तथा घोषणामा मात्र सीमित देखिएको परिसंघको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, बजेटमा समेटिएका अर्थतन्त्रसँग सम्बन्धित ३४ बुँदामा आंशिक कार्यान्वयन भएको छ । अर्थात्, यी बुँदामा उल्लेख भएका कार्यक्रम तथा आयोजना अघि बढाउन बैठक बसेका, छलफल अघि बढेका तथा कानुन कार्यविधि बनेका छन् । यद्यपि, यी बुँदामा पनि ठोस काम भने भएको देखिँदैन । जम्मा दुईवटा बुँदामा समेटिएका कार्यक्रम तथा आयोजना मात्रै पूर्ण कार्यान्वयनमा गएको परिसंघले जनाएको छ । 

जेन–जी आन्दोलन र नयाँ सरकारको फरक म्यान्डेट र प्राथमिकताको असर बजेट कार्यान्वयनमा परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, तयारीविनाका, खुद्रे र कम प्राथमिकताका आयोजनाहरूको बजेट कटौती र केही कार्यक्रममा अन्योल कायमै रहनुले पनि बजेट कार्यान्वयन प्रभावित भएको परिसंघले औँल्याएको छ । यद्यपि, नीतिगत सुधारको प्रयास हुँदै गएकाले आगामी त्रैमासमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

बजेट वाच सार्वजनिक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटले महŒवपूर्ण लक्ष्य राख्ने, तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव सबैले महसुस गरेको उनले बताए । यसैलाई ध्यानमा राखेर बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा परिसंघले बजेट वाच पहल अगाडि बढाएको उनले बताए । 

‘बजेटको सफल कार्यान्वयनले नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुन्छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महŒवपूर्ण छ,’ उनले भने, ‘बजेटमा निजी क्षेत्रले दिएका नीतिगत सुझाव समावेश हुने गरेको भए पनि बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।’ औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । 

See More On

सुझावित समाचार