अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार सातदोबाटोमा बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग आगामी पुस २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ।
झन्डै तीन महिना चल्ने लिगमा कम्तीमा १ सय ५३ खेल समावेश गर्ने लक्ष्य राखिएको एन्फाले जानकारी दिएको छ।
पहिलेदेखि १० क्लब सहभागी हुने व्यवस्था रहे पनि यो पटक सहभागी हुन इच्छुक सबै क्लबलाई अवसर दिनेगरी लिग खुला गरिएको छ। त्यसैले १० क्लब मात्रै भए डबल राउन्ड रोबिन शैलीमा गर्ने र १७ भन्दा धेरै क्लब भए सिंगल राउन्ड रोबिन शैलीमा गर्ने एन्फा सदस्य पुरुषोत्तम थापाले जानकारी दिए। आपतकालिन बैठकबाट यो लिगको बजेटसमेत पास भएको छ। एन्फाले फिफाको सहयोगमा तीन जिल्लामा निर्माण गर्ने भनेको फुटबल मैदानको ठेक्का पनि प्रदान गरेको छ।
लोएस्ट बिडर इडल ग्लासलाई ठेक्का प्रदान गरिएको हो। यसैगरी एन्फाले साफ पुरुष तथा महिला फुटसल प्रतियोगितामा सहभागी बन्ने निर्णय पास गरेको छ भने एन्फा प्रेसिडेन्ट लिगको आयोजना स्वीकृत गरेको छ।
