न्युजिल्यान्डका अलराउन्डर जिमी निसम चालू नेपाल प्रिमियर लिग (एनपिएल)को चार खेल खेलेर फर्किएका छन् । लुम्बिनी लायन्सविरुद्धको खेलपछि उनी घर फर्किएका हुन् ।
निसमले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको एनपिएल खेलेका हुन् । उनले चार खेलमा ९९ रन बनाए । लुम्बिनीविरुद्धको खेलपछि उनले सामाजिक सञ्जालबाट नेपाली समर्थकलाई धन्यवाद दिएका छन् । ‘अर्काे वर्ष फेरि नेपाल आउनेछु । एनपिएल छोटो भए पनि मिठो रह्यो,’ उनले भने, ‘धन्यवाद नेपाल ।’ लुम्बिनीविरुद्धको आफ्नो अन्तिम खेलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि उनले टोलीलाई जित दिलाउन सकेनन् ।
पोखराले उनलाई यस सिजन चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । प्रतियोगिताअन्तर्गत निसमले सुदूरपश्चिम रोयल्सविरुद्ध ४७ र जनकपुर बोल्ट्सविरुद्ध १ रन बनाएका थिए । उनले विराटनगर किंग्सविरुद्ध रन बनाउन सकेनन् ।