सरस्वती डोजोद्वारा खेलाडी सम्मानित

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल बादोरियो कराँते डो संघअन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले विशेष कार्यक्रमबिच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।

श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई डोजोले नगद १०–१० हजार रुपैयाँसहित सम्मान गरेको हो। सरस्वती डोजोका खेलाडीहरू सुस्मिता वाइबा र टीकामाया जिम्मीले नेपालका लागि स्वर्ण पदक जितेका थिए। यसैगरी, एलन श्रेष्ठ र सुस्मिता वाइबाले तीन संस्करणमा लगातार स्वर्ण जित्दै ह्याट्रिक गरेका छन्।

डोजोले १५औँ राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण पदक जित्न सफल टीकामाया जिम्मी, कांस्य पदक विजेता मिलन मगर तथा प्रथम युथ च्याम्पियनसिपका स्वर्ण विजेता नोर्बु तामाङलाई हौसला स्वरूप खेल सामग्री प्रदान गरेको छ।

यससँगै, जोरपाटी ओरालोस्थित फेसन डिजायर पसलले डोजोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूलाई प्रोत्साहनस्वरूप ६ थान ट्र्याक सुट प्रायोजन गरी हस्तान्तरण गरेको डोजोले जनाएको छ।

सुझावित समाचार