नेप्से २६ अंकले घट्यो, कारोबार रकम सात अर्बमाथि

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन सेयर बजारमा करेक्सन देखिएको छ। अघिल्लो साता हरेक दिन बढेको नेप्से परिसूचक आइतबार २६.५१ अंकले घटेर दुई हजार ६४९.५२ विन्दुमा कायम भएको हो।

आज नेप्से घट्दा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार साढे ६ अर्ब रुपैयाँबराबर रहेको कारोबार रकम आज सात अर्बमाथि उक्लिएको हो। आइतबार ३४२ कम्पनीको एक करोड ५७ लाख ३६ हजार कित्ता सेयर सात अर्ब आठ करोड ५४ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ।

नेप्सेका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले वृद्धि हुँदा बाँकी समूह घटेका छन्। वित्त, होटेल तथा पर्यटन, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा कमले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

बजार घटे पनि आज सागर डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सर्वाधिक गुमाउनेमा भने जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ता छन्। आज यी कम्पनीको सेयर मूल्य सातदेखि पाँच प्रतिशतसम्म घटेका हुन्।
 

सुझावित समाचार