भारतमाथि अझै म्याकालेको छाया

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण
  • स्वतन्त्रताको ७८ वर्षपछि १५० वर्षभन्दा अघि मरेको विदेशीलाई भारतको समस्याका लागि दोष दिइरहनु लज्जास्पद कुरा हो ।

भारतमा ‘म्याकाले’ शब्द प्राय: अपमानजनक शब्दको रूपमा प्रयोग गरिन्छ । तर, सो नामलाई गालीका रूपमा प्रयोग गर्नेहरूले ब्रिटिस इतिहासकार म्याकालेका लेखको एक पृष्ठ पनि पढ्ने चेष्टा गर्दैनन् । म्याकालेमाथि आक्रमण गर्ने मानिसमा त्यस्ता वर्ग धेरै छन्, जो कमजोर लक्ष्यमाथि आक्रमण गर्न खुसी हुन्छन् । अर्थात्, यस्तो लक्ष्यमाथि आक्रमण गर्ने कि जसबाट जवाफ आउने डर हुँदैन । भारत स्वतन्त्र भएको ७८ वर्षपछि १५० वर्षभन्दा पहिले मरेको एकजना विदेशीलाई हाम्रा समस्याका लागि दोष दिनु लज्जास्पद कुरा हो ।

डा. भीम राव अम्बेडकरले नोभेम्बर २५, १९४९ मा संविधानसभामा आफ्नो अन्तिम भाषणमा यसै कुरामा जोड दिँदै भनेका थिए– ‘स्वतन्त्रतापछि, अब हामीसँग कुनै पनि गलत कुराका लागि ब्रिटिसलाई दोष दिने बहाना बाँकी रहनेछैन । यदि त्यसपछि केही गलत काम भयो भने त्यसका लागि हामी आफैँ जिम्मेवार हुनेछौँ ।’ यस्तो चेतावनीका बाबजुद हाम्रा नेता र तथाकथित बुद्धिजीवीले स्वतन्त्रताको ७६ वर्षपछि पनि म्याकालेलाई आक्रमण गरिरहनु लाजमर्दो कुरा होइन र ?

म्याकालेविरुद्धका झुटहरू
थोमस बेबिंगटन म्याकाले (१८००–१८५९) एक ब्रिटिस राजनीतिज्ञ, कवि र इतिहासकार थिए । उनी संसद् सदस्य थिए, तर परिवारको आर्थिक अवस्था बिग्रिँदै गएपछि उनले सो पदबाट राजीनामा दिए र इस्ट–इन्डिया कम्पनीका लागि काम गर्ने निर्णय गरे । सोही कम्पनीसँग आबद्ध भएपछि सन् १८३४ मा उनी भारत आएका थिए, गभर्नर–जनरल विलियम बेन्टिकको सहायक नियुक्त भए । त्यसपछि उनी पाँच वर्षसम्म भारतमै रहे । भारतमा रहँदा उनले गभर्नर–जनरललाई शिक्षा नीति र भारतीय दण्ड संहिता निर्माणमा महŒवपूर्ण सहयोग दिएका थिए ।

उनले तत्कालीन कम्पनी सरकारलाई भारतीयमाझ अंग्रेजी शिक्षालाई प्रवद्र्धन गर्न सल्लाह दिए । तर, त्यसको पछाडि उनको ‘दुष्ट मनसाय’ रहेको आरोप लगाइन्छ । यस आरोपलाई पुष्टि गर्ने गरी दशकौँदेखि एउटा अनुच्छेद खुब प्रयोग हँुदै आएको छ । फेब्रुअरी २, १८३५ मा ब्रिटिस संसद्मा म्याकालेको गरेको भनिएको भाषण यसरी सुरु हुन्छ, ‘मैले भारतको लम्बाइ र चौडाइमा यात्रा गरेको छु । यस क्रममा मैले एकजना पनि भिखारी वा चोर देखिनँ । यति समृद्धि, नैतिक मूल्य–मान्यता र प्रतिभावान देशमा हामीले यस राष्ट्रको मेरुदण्ड नतोडेसम्म यसलाई कहिल्यै जित्न सक्दैनौँ । यसका लागि हामीले यस देशको मेरुदण्ड आध्यात्मिक र संस्कृति कमजोर बनाउन यहाँको पुरानो शैक्षिक प्रणाली बदलौँ...।’ तर यो सम्पूर्ण पाठ नै बनावटी झुट हो । किनकि, त्यस दिन म्याकलेले ब्रिटिस संसद्मा भाषण नै दिएका थिएनन् । उनी त भारतमा थिए । म्याकालेले भारतका तत्कालीन औपनिवेशिक शक्तिलाई परम्परागत संस्कृत र अरबी शिक्षालाई सरकारी सहयोग बन्द गर्न सिफारिस गरेका थिए । त्यसको ठाउँमा उनले भारतीयमाझ युरोपेली साहित्य र ज्ञानमा प्रचारको वकालत वकालत गरे । तर, उनीपछाडिको कारण व्यापक प्रचारिक झुटा आरोपभन्दा पूर्ण रूपमा विपरीत थियो । म्याकाले खासमा कुनै ‘षड्यन्त्र’को कारणले भन्दा भारतीयलाई रोजगार बजारमा युरोपेलीको हाराहारीमा ल्याउँदै अवसर विस्तार गर्न अंग्रेजी भाषा विस्तार गर्न चाहन्थे ।

म्याकालेको ‘मिनिट अन इन्डियन एजुकेसन’ केवल दश पृष्ठको छ । यसमा, म्याकालेले ३६ बुँदामा आफ्ना विचार प्रस्तुत गरेका थिए, जसलाई गभर्नर–जनरल बेन्टिंकले स्वीकार गरे । यद्यपि, त्यो बँुदा पनि भारतीयमाथि लादिएको थिएन । सरकारले आफ्नो सहायता नीति मात्र परिवर्तन गरेको थियो– अरबी र संस्कृतको सट्टा अंग्रेजी प्रकाशनलाई प्रवद्र्धन गर्ने निर्णयमार्फत । त्यसपछि भारतीय आफ्नै भाषामा आफ्नो शिक्षा लिन सक्थे । खासमा शिक्षालाई कुनै पनि भाषामा कहिल्यै अनिवार्य बनाइएन । 

म्याकालेको तर्क खासमा ब्रिटिस शासकले परम्परागत भाषामार्फत पुरानो शिक्षा दिएर भारतीयलाई घाटा पुर्याइरहेको भन्ने थियो । संस्कृत कलेजमा वर्षौंसम्म पढेर प्रमाणपत्र प्राप्त गरेपछि पनि विद्यार्थीले काम पाउन नसकेको उनले उदाहरणको रूपमा पेस गरेका थिए । त्यसकारण, रोजगार दिलाउन नसक्ने संस्कृत र अरबी भाषाको शिक्षण बेकार रहेको उनको मुख्य भनाइ थियो । यस तर्कमा न त द्वेष थियो, न त षड्यन्त्र । चाखलाग्दो कुरा के छ भने म्याकालेले यस सन्दर्भमा युरोपेली इतिहासको उदाहरणसमेत उद्धृत गरेका थिए । ‘यदि हाम्रा (ब्रिटिस) पुर्खाले थुसिडाइड्स र प्लेटोको भाषा वा सिसेरो र ट्यासिटसको भाषालाई बेवास्ता गरेको भए के इंग्ल्यान्ड आजकोजस्तो हुने थियो ? जसरी ग्रिक र ल्याटिन भाषाले युरोपेलीलाई मद्दत पुर्यायो, त्यसरी नै हाम्रो भाषा (अंग्रेजी) भाषाले पनि भारतीयलाई उस्तै सहयोग गर्न सक्छ,’ म्याकालेले भनेका थिए । उनले यो भनाइ भारतीयसँग होइन, ब्रिटिस अधिकारीलाई भनेको कुराले पनि उनको स्वच्छ मनसाय देखिन्छ । 

भारतीय नीति निर्माताले स्वतन्त्रतापछिका आठ दशकमा म्याकालेको कुनै पनि नीति परिवर्तन गर्न असमर्थ भए । यसले म्याकाले अझै पनि उनीहरूमाथि प्रभाव राख्छन् भन्ने देखाउँछ । सायद उनले केही सत्य बताएकै कारण त उनलाई अस्वीकार गर्न असम्भव भएको हो कि ?

राजनीतिशस्त्रका प्राध्यापक शरण हिन्दी भाषामा स्तम्भ लेख्छन् । 
द प्रिन्टबाट

सुझावित समाचार